June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

रूपन्देहीमा खुलेका पाँचतारे होटलका विशेषता कस्ता छन् ?

Advertisement

भैरहवा– रुपन्देहीका सहर, बजार र ग्रामीण क्षेत्रमा अहिले स्तरीय होटल सञ्चालनको लहर नै छ । आधुनिक सुविधासहित होटल सञ्चालन भइरहेका छन् । यसैक्रममा रुपन्देहीमा चारवटा पाँचतारे होटल सञ्चालनमा आएका छन् । ती होटल फरक लगानीकर्ता र विशेषतासहित खुलेका हुन् । तिनका आफ्नै वास्तुकला छन् । सबै होटलले पर्यटक आकर्षित गर्न फरक कार्यक्रम र विशेषतालाई जोड दिएका छन् । यहाँ पब्लिक कुराले यी पाँचतारे होटलमा भएको लगानी, सुविधा, आकर्षण र विशेषतालाई समेट्ने कोशिष गरेको छ ।

Advertisement

ह्यात प्लेस बुटवल
रुपन्देहीमा पछिल्लोपटक सञ्चालनमा आएको होटल मध्येको हो । पुरानो सहर बुटवलमा ह्यात प्लेस पहिलो पाँचतारे होटल हो । बुटवल–८, कुसुम पथमा १० तले स्तरीय होटल सञ्चालनमा आएको हो । बुटवलको राजमार्ग चौराहा नजिकैं रहेको होटलमा ६ श्रेणीका २ सय ५० जना अट्ने क्षमताका १ सय ९ कोठा छन् । यो होटलको निर्माणसँगैं रुपन्देहीको व्यवासायिक घराना यशोदा ग्रुप हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेको छ ।

होटल २५ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । त्यहाँ पाहुनाका लागि काम, विश्राम र मनोरञ्जनका लागि छुट्टाछुट्टै स्थानको व्यवस्था गरिएको छ । साथै होटलको वास्तुकलामा शान्ति, आधुनिकता र परम्पराको संयोजन गरिएको संचालक चुन्नप्रसाद पौडेल बताउँछन् । होटलभित्र बोधीबृक्षको पातको आकृति, मायादेवी मन्दिरको ईंटाको बनावट झल्किने डिजाइन र बुद्ध दर्शनका चार आर्य सत्य झल्किने चार विशेष स्तम्भ छन् । होटलको स्पा माटोको घर आकारको छ । होटलमा सभागृहसँगै तीनवटा बहुउद्देश्यीय हल, फिटनेस सेन्टर, किड्स प्ले जोन, स्पा, ज्याकुजी छन् । ‘यो होटलले आन्तरिक र भारतीय मात्रै होइन् बुटवलमा तेस्रोत मुलुकका पर्यटक समेत भित्र्याउन सहयोग पुग्ने हाम्रो अपेक्षा छ’, पौडेलले भने, ‘यहाँ छिट्टै क्यासिनो पनि संचालनमा आउँदैछ ।’

लुम्बिनी क्राउन प्लाजा
बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको पाँचतारे होटल पवन प्यालेस विक्री भएपछि नयाँ व्यवस्थापनसहित सञ्चालनमा आउन लागेको छ । भैरहवाका मिष्ठान्न व्यवसायी पवन हलुवाईले साढे तीन बिघा क्षेत्रफलमा साढे दुई अर्ब लगानी गरेर होटल पवन प्यालेस सञ्चालनमा ल्याएका थिए । गत वर्ष हलवाईले यो होटल विक्री गरेपछि लुम्बिनी हेरिटेज नामकरण गरिएको थियो । केही समय लुम्बिनी हेरिटेज नामबाट सञ्चालन गरेपछि यसको व्यवस्थापनमा अन्तराष्ट्रिय समूह प्रवेश गरेको छ । अहिले यसको नाम लुम्बिनी क्राउन प्लाजा राखिएको छ । होटललाई पुनर्जीवन दिएर व्यवस्थित रुपमा सञ्चालनका लागि अन्तर्राष्ट्रिय आतिथ्य समूह आइएचजी होटल्स एण्ड रिसोर्ट र लुम्बिनी हेरिटेज लिमिटेडबीच गत महिना सम्झौंता भइसकेको छ ।

नयाँ व्यवस्थापनका लागि लुम्बिनी हेरिटेजका अध्यक्ष सुभाष अमात्य र आइएचजीका दक्षिण पश्चिम एसियाका प्रवन्ध निर्देशक सुदीप जैनले सम्झौंतापत्रमा हस्ताक्षर गरेका थिए । लुम्बिनीमा रहेको होटलमा १ सय ४७ कोठा छन् । ती मध्ये ७ वटा स्वीट छन् । फराकिलो रेष्टुरेन्ट, स्विमिङ पुल, फिटनेस सेन्टर लगायत सुविधा छन् । व्यवस्थापनको जिम्मा लिएपछि कम्पनीले ८ महिनाभित्र क्यासिनो सञ्चालनमा ल्याउने योजना बनाएको छ । साथै कम्पनीले केही समयम भित्र आइपीओ जारी गर्ने तयारी भइरहेको जनाएको छ ।

होटल सिद्धार्थ भिलासा
सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले साढे २ अर्ब लगानीमा भैरहवामा सिद्धार्थ भिलासा होटल सञ्चालन गरिरहेको छ । जिल्लाको प्रमुख बेलहिया नाकाबाट करिब ४ किलोमिटर दूरीमा रहेको यो होटल बुटवल–भैरहवा व्यापारिक मार्ग अन्तर्गत अञ्चलपुरमा छ । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको यो पहिलो पाँचतारे होटल हो ।

२६ वर्षअघि कैलालीबाट हस्पिटालिटी यात्रा प्रारम्भ गरेको समूहले आफ्नो लगानीमा नयाँ होटल सञ्चालनमा ल्याउनुका साथै अरुको लगानीका होटल व्यवस्थापन गरिरहेको छ । चार बिघा क्षेत्रफलमा सञ्चालनमा आएको होटलमा अहिले डिलक्स एक्जिक्युटिभ स्वीट, प्रेसिडेन्सीयल स्वीट, स्वीट र ७२ वटा डिलक्स चाह तहका ८५ कोठा छन् । ग्रुपका क्षेत्रीय निर्देशक महेन्द्र न्यौपानेका अनुसार होटलले छिट्टैं क्यासिनो पनि सञ्चालनको तयारी गरेको छ । होटलमा सभागृह, तीनवटा सेमिनार हल, लवी लाउन्ज, अल डे डाइनिङ, रुफटप रेष्टुरेन्ट, स्वीमिङ पुल, फिटनेस, जीम हल, स्पा, हेल्थ क्ल्व र लङ टेनिस कोर्ट छन् । ‘हामीले होटलको स्तरलाई कायम राख्दै यस्तो कठिन अवस्थामा पनि पाहुना र हस्पिटालिटी क्षेत्रमा उर्जा थपिरहेका छौं’, न्यौपानेले भने, ‘हामीकहाँ तारे होटल भन्ने तर सुविधा गेष्ट हाउसको जस्तो दिने चलन छ, तर हामी घाटा खाएरै पनि स्तरीयतालाई कायम गर्छौं ।’

टाइगर प्यालेस बाई सोल्टी
पाँच अर्ब रुपैयाँ बैदेशिक लगानीमा ८ वर्षअघि सञ्चालनमा आएको टाइगर प्यालेस रिसोर्ट लुम्बिनी प्रदेशकै पहिलो पाँचतारे होटल हो । तिलोत्तमा–१५, मा सञ्चालनमा रहेको रिसोर्टमा ठूलो क्यासिनो पनि सञ्चालन छ । सञ्चालनको केही समयपछि व्यवसायिक साझेदारबीच मनमुटावका कारण लगानीकर्ता सिल्भर हेरिटेज ग्रुपले रिसोर्ट बन्द गरेको थियो । त्यसके केही समयै विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीको समूह हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले रिसोर्टको स्वामित्व खरिद गरेर ‘टाइगर इज व्याक’ नारासहित सञ्चालनमा ल्याएको हो ।

अहिले यसको व्यवस्थापन सोल्टी समूहले हेरिरहेको छ । यसको नाम टाइगर प्यालेस बाई सोल्टी राखिएको छ । रिसोर्टमा एक सय २ वटा विभिन्न श्रेणीका कोठा छन् । नेपालमै ठूलो स्विमिङ पुल छ । अहिले रिसोर्ट अन्तर्राष्ट्रिय विवाह गन्तव्यका रुपमा चर्चित छ । साथै भारतीय पर्यटकको रोजाई बनेको रिसोर्टका जनरल म्यानेजर अग्निमित्र शर्माले बताए । यो रिसोर्टले भारतीय तथा तेस्रो मुलुकका पर्यटक भित्र्याउन महत्वपूर्ण योगदान दिइरहेको छ ।