December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

ग्यालरी एमक्युबमा ‘मेटाफर्स अबाउट आइल्यान्ड’

साहित्यमा ‘मेटाफोर’ अर्थात् बिम्बको महत्त्व र प्रयोग आफ्नै छ । कलामा पनि मेटाफोरको विशेष महत्त्व हुने गर्छ । कलाकारहरूले आफ्ना वा समाजका कुरालाई चित्रण गर्न क्यानभासमा मेटाफोरहरूको सिर्जनात्मक रूपमा प्रयोग गर्छन् ।

Advertisement

यस्तै मेटाफोरहरूको प्रयोग गरेर यति बेला ललितपुरको चाकुपाटस्थित ग्यालरी एमक्युबमा ताइवान र नेपालका कलाकारहरूको संयुक्त रुपमा ‘भिजुअल इन्स्टलेसन’ माध्यममा कला प्रदर्शनी जारी छ ।
०००

सेतो पृष्ठभूमि, सेतो प्लेटमाथि सेतै कप । कतै केही दाग छैन । तर, त्यो कपमाथि विस्तारै माथिबाट फूल, अक्षता अबिर खसालिन्छ । यो दृश्य कलाकार मनीषलाल श्रेष्ठको ‘मेटाफोरर्स अबाउट आइल्यान्ड’ अर्थात् आइल्यान्डका बिम्बहरू शीर्षकमा तयार पारिएको भिजुअल इन्स्टलेसन हो । 
बहुआयामिक भिजुअल आर्टिस्ट श्रेष्ठले उक्त सेतो कपलाई काठमाडौं उपत्यकाको मेटाफोरको रूपमा प्रयोग गरेका छन् । “मलाई यो उपत्यका पनि आइल्यान्डजस्तो लाग्छ, जसलाई सागरका छालहरूले नभएर उच्च पहाडका छालहरूले घेरेको छ ।”

कलाकार श्रेष्ठले काठमाडौंवासीको धार्मिक आस्था र जनविश्वासलाई आफ्नो कलामार्फत चित्रण गर्न खोजेका छन् । “यो काम उपत्यकाका नागरिकले भगवान्को नाममा गरिने दैनिकीको सूष्म अनुसन्धान र न्यूनतम विचारधारा हो । मानिसले भगवान्को नाममा मूर्तिमा अबिर लगाइदिने, अक्षता अनि फूलले पूजा गर्ने, बलि दिनेसम्म गर्छन्,” कलाकार श्रेष्ठ भन्छन् ।

त्यस्तै, ताइवानकी कलाकार क्यो चिन युनले आइल्यान्डको प्रतिनिधिको रूपमा यहाँका आदिवासीलाई मेटाफोरको रूपमा प्रयोग गरेकी छन् । उनको २८ मिनेट लामो ‘कार्टोग्राफर्स’ शीर्षकको भिडियो इन्स्टलेसनमा ‘टु«कु’हरूको आधुनिकतातर्फको यात्रालाई चित्रण गर्न खोजेकी छन् । कसरी टु«कुहरू भोक टार्नका लागि पूर्व बसाइँ सरे भन्ने यथार्थलाई भिडियो आर्टमार्फत प्रस्तुत गर्न खोजिएको छ ।

ताइवानकै अर्का कलाकार लिन तावन जियाङले ‘कपी आइल्यान्ड’ शीर्षकमा टु च्यानल भिडियो, थ्रीडी प्रिन्ट मोडल र उडन मोडल माध्यमको प्रयोग गरेर भिडियो इन्स्टलेसन तयार पारेका छन् । जसमा आर्टिफिसयल आइल्यान्डमा निर्माण भएका मन्दिरलाई आधार बनाएका छन् ।

ताइवानकै अर्का कलाकार लिआङ टिङ युले ताइवानजस्तै भौगोलिक अवस्था भएका देशहरू जापान, इन्डोनेसिया र नेपालले भोग्ने प्राकृतिक विपत्, भूकम्पलाई भिडियो आर्टमा उतारेका छन् । 

नेपालका अर्का कलाकार र यो प्रदर्शनीका पाँच सहभागी कलाकारमध्ये एक अश्मिना रञ्जीतले ‘सेम रिभर–बट द वाटर ?’ शीर्षकमा भिडियो आर्ट इन्स्टलेसन प्रस्तुत गरेकी छन् । उनले सन् २०१६ मार्च २४ बाट सुरु गरेको यात्रालाई प्रस्तुत गरेकी छन् । आफ्नो पुरानो भावना बोकेको जन्मथलोबाट आधुनिक काठमाडौं उपत्यकाको यात्रा तय गरेको भिडियो आर्ट छ । यो यात्रामा उनी सामान्य व्यक्तिहरूजस्तो अगाडि नबढेर पछाडितिर लम्किँदै गएको देखिन्छ । 

जसमा उनले मानिस आधुनिक समाजका आधुनिक भनिएका उपत्यकाका विकासतर्फ लम्किँदै गरेको भ्रममा रहेको र पछाडि धकेलिँदै गएको मेटाफोरको रूपमा प्रस्तुत गर्न खोजेकी छन् । 

ताइवानकी स्यु चि लोको क्युरेसनमा आयोजना भएको यो भिडियो इन्स्टलेन कला प्रदर्शनी यही नोभेम्बर १२ तारिखदेखि सुरु भएको हो । नोभेम्बरसम्म २८ जारी रहनेछ । यही प्रदर्शनी यति बेला ताइवानमा पनि भइरहेको छ ।

कलाकार श्रेष्ठका अनुसार यो चित्रकला, मूर्तिकलाभन्दा अझै परिष्कृत छ । चित्रकला भएको भए यति बेला प्रत्यक्ष प्रसारण सम्भव हुँदैन थियो । तर, भिडियोमा भएकाले यो दुवै देशमा एकै समयमा सम्भव भएको उनले बताए ।

परम्परागतदेखि एब्सट्रयाक्ट, कन्टेम्पोररी हुँदै डिजिटल युगसँगै भिडियो इन्स्टलेसनमा प्रवेश गरेकै कारण कलाकार श्रेष्ठ यसलाई ‘भिजुअल रिभोलुसन’को संज्ञा दिन्छन् । यो स्टिल क्यानभास चित्रकलाभन्दा अझै अन्तरक्रियात्मक भएको र यसको प्रयोग नेपाली कला क्षेत्रमा विस्तारै बढ्दै गएको उनको बुझाइ छ ।