December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

‘सत्यम्’बाट बाहिरिइन् मलिका, पलको जोडी उपासना

चलचित्र ‘सत्यम’बाट अभिनेत्री तथा मोडल मलिका महत बाहिरिएकी छन् । उनको स्थानमा नायिका उपासना सिंह ठकुरीले अभिनय गर्ने भएकी छन् । उनी चलचित्रमा पल शाहको जोडीको रुपमा देखिनेछिन् । यो चलचित्रमा राजेश हमालको मुख्य भूमिका रहनेछ ।

Advertisement

निर्माता रेशम सापकोटाले मलिकाले चलचित्र छाड्नुको कारण उनको अध्ययन भएको बताएका छन् । “मलिकाले बीबीए अध्ययन गर्दै हुनुहुन्छ । चलचित्रको कार्यशाला गर्ने समयसम्म पढाई अनलाइनमा हुने भन्ने थियो तर सोचेभन्दा अगाडि नै कलेजको फिजिकल क्लास हुने भएपछि उहाँले समय दिन सक्नुभएन,” सापकोटाले प्रष्ट पारे ।

 निर्देशक शंकर कार्कीका अनुसार ‘सत्यम’का लागि पहिले उपासनालाई नै अफर गरिएको तर अर्को चलचित्रको छायांकन मिति जुधेपछि उनले समय दिन सकेकी थिइनन् ।

उपासना पहिलो पटक चलचित्रमा राजेश हमाल र पल शाहसँग स्क्रिन शेयर गर्नका लागेको निर्माण पक्षले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

राजेशको जोडीको रुपमा निलिमा चन्दले अभिनय गर्ने भएकी छन् भने अभिनेत्री निरुता सिंहसँग पनि यो चलचित्रमा अभिनयको लागि कुराकानी भइरहेको निर्माता सापकोटाले बताए ।

 चलचित्रमा अनुप विक्रम शाही र अभय बरालको पनि मुख्य भूमिका रहनेछ । 

चलचित्रमा हमालको चार फरक लुक्स रहनेछ । यो चलचित्रबाट हमालले चार वर्षपछि कमब्याक गर्न लागेका हुन् ।