April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

बन्द भयो ‘मुन्द्रेको कमेडी क्लब’

हास्य टेलिभिजन शो मुन्द्रेको कमेडी क्लब बन्द भएको छ । आजको श्रृंखला प्रशारण भएसँगै कलाकार जितु नेपालले सञ्चालन गर्दै आएको कार्यक्रम बन्द भएको हो । कार्यक्रम प्रशारण भएको लामो समय भएकाले पनि बन्द गरेको उनले बताएका छन् । १३२ भाग प्रशारण भएर कार्यक्रम बन्द भएको हो ।

Advertisement

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले एडभरटाइजिङ एजेन्सी पनि तत्काल कार्यक्रम बन्द गर्नुको कारण भएको बताए । मुन्द्रेको कमेडी क्लबका कलाकार फुलन्देकी आमा (उमेश राई)ले शो छोडेर अरु नै कार्यक्रममा आबद्ध भएको भन्दै उनले भने, “जुन एजेन्सीले मुन्द्रेको कमेडी क्लब निर्माण गरिरहेको थियो । त्यही एजेन्सीले उमेशलाई अनुबन्द गराएर अर्को कार्यक्रम गर्ने भएपछि मैले कार्यक्रम बन्द गर्ने निर्णय गरेँ ।” मुन्द्रको कमेडी क्लब कि एडभरटाइजिङले निर्माण गर्दै आएको थियो । 

Advertisement

कार्यक्रम बन्द हुनुको मुख्य कारण नै उमेश भने नरहेको उनले स्पष्ट पारे । “कार्यक्रम धेरै लामो भइसक्यो, अब केही नयाँ गर्नुपर्छ भन्ने भइरहेको थियो । त्यही बेला आफ्नो कार्यक्रमको कलाकार थाहै नदिई अर्को शोमा अनुबन्द भएपछि बन्द गर्ने यही समय उचित हो भन्ने पनि लाग्यो,” जितु नेपालले भने, “उमेशले कार्यक्रम छोडेको मैले समचारमा आएपछि थाहा पाएको हुँ । सुरुमा त विश्वास नै लागेन । पछि धेरैतिर समाचार आएपछि के हो समाचारमा आएको कुरा भनेर सोधेँ उहाँले साँचो हो भन्नुभयो । त्यसपछि एजेन्सीसँग कुरा गरेँ । त्यसपछि एउटै व्यक्तिलाई लिएर एकैपटक दुईवटा शो गर्दा राम्रो हुँदैन भनेर कार्यक्रम बन्द गर्ने निर्णयमा पुगेको हुँ ।” अरु कलाकार लिएर काम गर्न सकिने तर निर्माण कम्पनी आफैंले कलाकार लिएर गएर अर्को शोमा अनुबन्द गराएपछि विश्वासको वातावरण टुटेको उनले बताए ।

करिब ५० जनालाई रोजगारी दिएको कार्यक्रमले विज्ञापनसमेत पाइरहेको अवस्थामा बन्द गर्नु परेको भन्दै यसले विश्वासमा भन्दा पनि सम्झौतामा काम गर्नु पर्ने पाठ आफूले सिकेको  उनले बताए । 

पत्रकार सम्मेलनमा मुन्द्रेको कमेडी क्लबले आफूलाई नयाँ पुस्ताका दर्शकमाझ जोडेको नायिका करिष्मा मानन्धरले बताइन् । “मैले पछिल्लो समय चलचित्रमा काम नगरेको धेरै समय भएको थियो । तर, यो कार्यक्रममा म आएपछि मलाई नयाँ पुस्ताले चिन्यो । म पोखरा पुगौं वा जहाँ पुगौं अब अर्को श्रृंखलामा को गेष्ट छ भनेर सोध्नुहुन्थ्यो,” करिष्माले भनिन्, “तपाईं मुन्द्रेको कमेडी क्लबले मलाई अहिलेको दर्शकमाझ साक्षातकार हुने अवसर जुटाइदियो । यसका लागि म आभारी पनि छु ।” उनले आगामी दिनमा जितुसँग काम गर्न आफू सधैँ तयार रहेको बताइन् । मुन्द्रको कमेडी क्लबको दोस्रो सिजनमा उनी अध्यक्ष थिइन् । 

जितुले भने हास्य व्यङ्ग्य सम्बन्धी कुनै कार्यक्रम आउन सक्ने संकेत गरे । “मैले जानेको भनेकै हास्य व्यङ्ग्य हो । त्यसैले ढिलो चाँडो यसैसँग सम्बन्धित केही न केही शो गर्न सकिन्छ,” उनले भने, “तर यसको अर्थ यसको तयारी भइसकेको छ भन्ने होइन । भोलिका दिनमा शो गर्न सकिन्छ भन्ने आत्मविश्वास छ भन्ने हो ।”

अब कार्यक्रम गर्दा अझै व्यवस्थित र राम्रो गर्ने उनले बताए ।