March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

कति पारिश्रमिक लिँदै छन् सुनील सेट्टी नेपाली चलचित्र ‘एक्स–९’ बाट ?

बलिउड अभिनेता अक्षय कुमारले प्रतिचलचित्र १२८ करोड भारुसम्म पारिश्रमिक लिएको खबर सार्वजनिक भएको थियो । उनले चार्ज गरेको यो पारिश्रमिक नेपाली चलचित्र उद्योगमा निर्माण हुने फिल्मको करिब एक वर्षको बजेट हो । (नेपालमा ठिकठाक चलचित्रका लागि अहिले डेढदेखि दुई करोड रुपैयाँ लगानी हुने गरेको छ ।) यति महँगो पारिश्रमिक चार्ज गर्ने बलिउड अभिनेताहरू नेपाली चलचित्रमा अभिनय गर्न आए भने कति पारिश्रमिक लिएलान् ?

Advertisement

नेपालमा अधिकांश चलचित्र एकदेखि डेढ करोड रुपैयाँको हाराहारी लागतमा बन्छन् । पछिल्लो केही समय बलिउडका केही अभिनेता तथा अभिनेत्रीहरूलाई नेपाली चलचित्रमा अभिनय गराउने प्रयास भइरहेको छ । केही समयअगाडि सन्नी लियोनीले नेपाली चलचित्र ‘पासवर्ड’को आइटम गीतमा डान्स गरेकी थिइन् ।

Advertisement

अहिले बलिउड अभिनेता सुनील सेट्टी नेपाली चलचित्रमा अभिनयका लागि आउने निश्चित भएको निर्माण पक्षले दाबी गरेको छ । ‘एक्स–९’ चलचित्रमा अभिनयका लागि सुनील नेपाल आउने निश्चित भएको निर्देशक मुकुन्द भट्टले बताएका छन् ।

एक्सन थ्रिलर उक्त चलचित्रमा सुनीलले १२ दिन अभिनयका लागि समय दिएको निर्माण पक्षले जानकारी दिएको छ । निर्देशक भट्टका अनुसार ६ दिन नेपालमा र बाँकी ६ दिन स्कटल्यान्डमा सुनीनले सुटिङ गर्नेछन् । छायांकन तथा आउने–जाने समय र केही दिनको नेपाल घुमघाम गरेर एक्स–९ ले सुनीलको २० दिन समय लिनेछ । केही समयअघिसम्म बलिउडका उम्दा एक्सन नायक सुनीलले ‘एक्स–९’बाट कति पारिश्रमिक लिनेछन् ?

निर्माण पक्षले कति पारिश्रमिकमा सुनीललाई अनुबन्ध गरिएको भन्ने सार्वजनिक गरेको छैन । निर्देशक भट्टले पनि पारिश्रमिक खुलाउन चाहेनन् । तरफ उनले माेटाे रकममा  सम्झौता भएको बताए । 

नेपाली चलचित्र आफैँमा सानो क्षेत्र र सीमित बजार भएका कारण सहयोगस्वरूप आफूले  लिँदै आएकाेभन्दा कम पारिश्रमिकमा काम गर्न सुनील तयार भएका हुन् । औसतमा नेपाली चलचित्र निर्माण लागतका हिसाबले भने एक्स–९ मा मोटो रकम खर्च हुँदै छ । निर्देशक भट्टका अनुसार यसमा करिब १२ करोड रुपैयाँ खर्च हुनेछ ।

नेटफ्ल्क्सि, अमेजन अथवा हटस्टारलगायत डिजिटल प्लेटफर्ममा चलचित्र रिलिजका लागि आफूले बलिउडको ठूलो अनुहारलाई लिएर चलचित्र बनाउन लागेको निर्देशक भट्ट बताउँछन् । यसका लागि हलिउडबाट नायिका लिने तयारी गरिरहेको उनले जानकारी दिए । हलिउडका चर्चित वेब सिरिजमा काम गरिरहेकी नायिकासँग अनुबन्धका लागि तयारी भइरहेको उनले बताए ।

“यो सबै गर्नुका पछाडि हाम्रो मुख्य उद्देश्य नेपाली चलचित्रलाई इन्टरनेसनल बजारमा लैजाने हो । बलिउड र हलिउडका लोकप्रिय फेसलाई लिइयो भने विश्वभरका दर्शकको पहुँचमा रहेका डिजिटल प्लेटफर्ममा जान सहज हुन्छ भन्ने पनि हो,” निर्देशक भट्ट भन्छन्, “अब पनि हामीले अन्तर्राष्ट्रिय बजारमा जान सकेनौँ भने ढिलो हुनेछ । कम्तीमा विदेशी बजारको ढोका खोल्यौँ भने यसपछिलाई सहज हुन्छ भन्ने हाम्रो लक्ष्य हो । यदि, हामी यो चलचित्रमा सफल भयौँ भने नेपाली चलचित्रले विदेशको बजारका लागि अब टाउको दुखाइरहनु पर्दैन । बजारको चिन्ता नहुँदा निर्माणमा केन्द्रित हुने र त्यसले क्वालिटी बडाउन मद्दत गर्छ । लागतको पनि समस्या हुँदैन ।”

एक्स–९ आउँदो फेब्रुअरीबाट छायांकन हुनेछ । चलचित्रमा सुनीलको छायांकनको सिन सुदूरपश्चिम प्रदेशको विभिन्न क्षेत्रमा छ । बडिमालिका, खप्तड, बैतडीको पाटन र कैलालीका विभिन्न क्षेत्रमा सेट्टीको छायांकन हुनेछ । सुनीललाई नेपालका पर्यटकीय क्षेत्र भ्रमण पनि गराउने निर्माण पक्षको योजना छ ।