December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

बलिउड अभिनेता सुनील सेट्टी नेपाली ‘एक्सन’ चलचित्रमा

बलिउड अभिनेता सुनील सेट्टी नेपाली चलचित्रमा जोडिने भएका छन् । उनी नेपाली एक्सन चलचित्र ‘एक्स नाइन–लेभल वान’ मा अभिनय गर्न लागेका हुन् । 

Advertisement

निर्देशक मुकुन भट्टले सामाजिक सञ्जालमा अभिनेता सेट्टीसँगको फोटो सेयर गर्दै सुनील सेट्टीको निर्देशकको रूपमा काम गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

“सुनील सरसँग निर्देशक भएर काम गर्न पाउँदा खुसी लागेको छ । हाम्रो भूमि नेपालमा तपाईंलाई स्वागत छ,” उनले भनेका छन् ।

निर्देशक भट्टले यो नेपालको अहिलेसम्मकै ठूलो एक्सन थ्रिलर चलचित्र हुने दाबी गरेका छन् । गोल्डेन हिल्स पिक्चर्सको ब्यानरमा बन्न लागेको चलचित्रको आधिकारिक घोषणा चाँडै हुने पनि निर्देशक भट्टले जानकारी दिएका छन् । 

‘लप्पन छप्पन’ र ‘लप्पन छप्प्न २’ निर्देशन गरिसकेका निर्देशक भट्टको यो चलचित्र वर्ष २०७९ को दसैँमा रिलिज गर्ने तयारी छ । 

अभिनेता पुष्प खड्का, अनमोल केसी, मोडल राज कटुवाल लगायतको अभिनय रहने चलचित्र नेपालसहित विदेशमा पनि छायांकन गरिने छ । 

चलचित्रमा जोडिने कालकारहरू अहिले घण्टौ जिम गएर आफूलाई तयारी गर्न थालिसकेका छन् ।