October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

दशैंको अवसर पारेर ‘चमेलीको पोइ’ देशभर प्रदर्शन हुँदै

Advertisement

भैरहवा–एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘चमेलीको पोइ’ दशैंको अवसर पारेर देशभर प्रदर्शनमा आउने भएको छ ।

Advertisement

चलचित्र असोज १६ गतेदेखि प्रदर्शनमा आउने निर्माता सुनीता सापकोटाले जानकारी दिएकी छन् । चलचित्रको ट्रेलरसमेत सार्वजनिक भइसकेको छ । ट्रेलर सार्वजनिक भएपछि चलचित्रको कथावस्तुलाई लिएर दर्शकको चासो बढेको निर्माण पक्षको भनाइ छ ।

चलचित्रमा सुरक्षा पन्त र मुकुन भुसाल मुख्य भूमिकामा देखिएका छन् । उनीहरूसँगै नारायण त्रिपाठी, विल्सन विक्रम राई, रवीन्द्र झा, उमेश राई, खड्गबहादुर पुन, अंशु महर्जन, रजनी गुरुङ, गणेश गौतम र प्रेमदेव गिरीलगायत कलाकारको अभिनय छ ।

चलचित्रमा हास्य कलाकार नारायण त्रिपाठीको पुनरागमनलाई पनि विशेष रूपमा लिइएको छ ।

निर्माता रामनारायण उपाध्यायका अनुसार चलचित्र सामाजिक विषयवस्तुलाई आधार बनाएर तयार गरिएको छ । यो आफ्नो पहिलो चलचित्र निर्माण प्रयास भए पनि समय, परिस्थिति र बजारको अवस्थालाई बुझेर आगामी दिनमा पनि निरन्तर चलचित्र निर्माण गर्दै जाने उनले बताए ।

चलचित्रमा सुनीता सापकोटा र रामनारायण उपाध्याय निर्माता तथा उदयविक्रम राणा र ऋतु मल्ल ठकुरी कार्यकारी निर्माता छन् । निर्देशक बोहराको कथामा शिवम अधिकारीले पटकथा तथा संवाद लेखनमा सहकार्य गरेका छन् ।

चलचित्रका लागि राजनराज शिवाकोटी र आशिष अविरलले संगीत दिएका छन् । भने कविराज गहतराजले कोरियोग्राफी र कुमार महर्जनले द्वन्द्व निर्देशन गरेका छन् ।

निर्माणको प्रारम्भिक चरणदेखि नै कलाकारको विविधता, हास्यप्रधान प्रस्तुति तथा सामाजिक र पारिवारिक विषयवस्तुका कारण चर्चामा रहेको ‘चमेलीको पोइ’ ले अब दशैंको माहोलमा दर्शकमाझ चलचित्रको बजार तताउने तयारीमा छ ।