October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

तानसेनमा लुम्बिनी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

Advertisement

पाल्पा–तानसेनमा आगामी असोज २२ देखि २४ गतेसम्म लुम्बिनी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना हुने भएको छ । तानसेनस्थित सन्तोष चलचित्र मन्दिरमा हुने महोत्सवमा नेपाली तथा विदेशी चलचित्र प्रदर्शनसँगै कला, संस्कृति, पर्यटन र सिर्जनात्मक अर्थतन्त्रसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।

Advertisement

कथामण्डलाको आयोजनामा हुन लागेको महोत्सवमा तीन दिनको अवधिमा २५ देखि ३० वटा फिचर, लघु तथा वृत्तचित्र प्रदर्शन गर्ने तयारी गरिएको छ । कलात्मक गुणस्तर, सामाजिक सरोकार, मौलिक कथा, संस्कृति तथा पर्यटनसँग सम्बन्धित चलचित्रलाई प्रदर्शनमा प्राथमिकता दिइने कथामण्डलाका कार्यकारी निर्देशक पाण्डव खत्रीले जनाएका छन् ।

महोत्सवको अर्को आकर्षण चलचित्र प्रदर्शनपछि हुने प्रत्यक्ष संवाद तथा अन्तरक्रिया हुनेछ । निर्देशक, निर्माता, कथाकारलगायत चलचित्रकर्मीले दर्शकसँग चलचित्रको विषयवस्तु, निर्माण प्रक्रिया, कथा र सिर्जनात्मक पक्षबारे अनुभव आदानप्रदान गर्नेछन् ।

महोत्सवअन्तर्गत ‘चलचित्र र पर्यटन’, ‘मौलिक कला–संस्कृति’ र ‘चलचित्र र सिर्जनात्मक अर्थतन्त्र’ लगायत विषयमा प्यानल छलफल पनि आयोजना गरिनेछ । छलफलमा स्थानीय कला तथा संस्कृतिसँगै रोजगारी, युवाको सहभागिता र पर्यटन प्रवद्र्धनका सम्भावनालाई प्राथमिकताका साथ उठाइने आयोजकले जनाएको छ ।

लुम्बिनी प्रदेशका प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा झल्काउने फोटो प्रदर्शनीसमेत गरिनेछ । स्थानीय फोटोग्राफर, पत्रकार तथा स्थानीय तहसँगको सहकार्यमा संकलित तस्बिरमार्फत प्रदेशका सम्पदा, स्थानीय जीवनशैली र पर्यटकीय क्षेत्रलाई प्रस्तुत गर्ने योजना छ ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति, लोकसंगीत, परम्परागत बाजागाजा र सांस्कृतिक झाँकी पनि समावेश गरिनेछ । यसमार्फत महोत्सवलाई चलचित्र प्रदर्शनको कार्यक्रमभन्दा माथि उठाएर कला, संस्कृति र समुदायलाई जोड्ने साझा उत्सवका रूपमा विकास गर्ने आयोजकको योजना छ ।

लुम्बिनी प्रदेशलाई कला, संस्कृति तथा चलचित्र पर्यटनको केन्द्रका रूपमा प्रवद्र्धन गर्न महोत्सवले योगदान पु¥याउने अपेक्षा गरिएको छ। चलचित्र, फोटोग्राफी र कलाका माध्यमबाट स्थानीय पहिचान, मौलिक संस्कृति तथा स्थानीय कथालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय दर्शकमाझ पु¥याउने लक्ष्य आयोजकले लिएको छ।

बुद्ध जन्मस्थल लुम्बिनी, तानसेन, रानीमहल, कपिलवस्तु तथा बर्दिया राष्ट्रिय निकुञ्जजस्ता महत्वपूर्ण सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदा लुम्बिनी प्रदेशमा रहेकाले चलचित्रका माध्यमबाट ती क्षेत्रको पहिचान अन्तर्राष्ट्रियस्तरसम्म विस्तार गर्न सकिने खत्रीको भनाइ छ ।

प्रदेशमा बसोबास गर्ने मगर, थारू, गुरुङ, कुमाल, मुस्लिम, नेवारलगायत समुदायका भाषा, संगीत, नृत्य, लोककथा र परम्परालाई पनि चलचित्र तथा दृश्य सामग्रीमार्फत अभिलेखीकरण र प्रवद्र्धन गर्ने उद्देश्य महोत्सवले राखेको छ ।

महोत्सवमा चलचित्रकर्मी, कलाकार, पर्यटक, सञ्चारकर्मी, लेखक तथा लगानीकर्ताको सहभागिताले तानसेनको स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । होटल, रेस्टुरेन्ट, यातायात, हस्तकला तथा स्थानीय उत्पादनको कारोबार बढाउन महोत्सवले सहयोग पुग्ने आयोजकको विश्वास छ ।

महोत्सवमा प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधि, चलचित्रकर्मी, कलाकार, सिर्जनाकर्ता, पर्यटन व्यवसायी, संस्कृति अध्येता, पत्रकार तथा सञ्चारकर्मी, युवा, विद्यार्थी, स्थानीय समुदाय र आम दर्शकलाई सहभागी गराउने तयारी गरिएको स्थानीय संयोजन संस्था सञ्चार मञ्च पाल्पाका कार्यक्रम प्रमुख कृष्ण कार्कीले बताए ।

तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले महोत्सवलाई चलचित्र प्रदर्शनमा मात्र सीमित नराखी कला, संस्कृति, पर्यटन र स्थानीय समुदायलाई जोड्ने सांस्कृतिक अभियानका रूपमा अघि बढाउनुपर्ने बताए ।