June 24, 2026, Wednesday
२०८३ असार ११ बिहीबार

डेडिकेटेड र ट्रङ्क लाइन विवादमा परेका सवै उद्योगमा बिद्युत सुचारु

Advertisement

भैरहवा–डेडिकेटेड र ट्रङ्क लाइन महसुल भुक्तानी बक्यौताका कारण विद्युत लाइन काटिएका सबै उद्योगमा विद्युत् आपूर्ति सुचारु भएको छ । कुल बक्यौताको २८ किस्तामध्ये पहिलो किस्ता भुक्तान गरेपछि उद्योगमा विद्युत् आपूर्ति नियमित गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

Advertisement

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले डेडिकेटेड र ट्रङ्क लाइन महसुल बक्यौताका कारणले अब कुनै पनि उद्योगको लाइन काटिएको अवस्था नरहेको जनाएका छन् । डेडिकेटेड र ट्रङ्क लाइन बिद्युत महशुल बक्यौता विवादका कारण पछिल्लो पटक २५ उद्योगको लाइन काटिएको थियो । ‘सबै औद्योगिक ग्राहकले पहिलो किस्ताबापतको रकम भुक्तानी गर्नुभएको छ’ सिलवालले भने, ‘पहिलो किस्ता रकम प्राप्त गरेपछि हामीले सबै उद्योगमा लाइन जडान गरेका छौँ ।’

प्राधिकरणले गत असोज १२ गते पूर्वसूचना गरेर २८ किस्तामा बक्यौताका भुक्तानीका लागि २१ दिनको समय दिएको थियो । सूचना अनुसार १३ औद्योगिक ग्राहकले बक्यौता तिरेका थिए । नतिरेका २५ उद्योगको लाइन काटिएको थियो ।

प्राधिकरणले कात्तिक ४ गते मुख्य ठुला छ उद्योगको लाइन काटेको थियो । कात्तिक ७ गते राति बाँकी उद्योगको बिजुली आपूर्ति काटेको थियो । डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादमा रहेका छ वटा उद्योगले भने अन्तरिम आदेश लिएकाले विद्युत् लाइन काटिएको थिएन । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्टले यसअघि नै भुक्तानी प्रतिबद्धता जनाएका कारण लाइन काटिएको थिएन ।

उद्योग र प्राधिकरण बिचको डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादको समस्या टरे पनि यसको अन्तिम निरूपण भने भएको छैन । उद्योगीहरूले लाइन जोडिएपछि अब विद्युत् नियमन आयोग वा अन्य अदालतमा जान सक्ने बाटो खुला रहेको प्राधिकरणका कार्यकारी निर्देशक सिलवालको भनाइ छ ।