एकल लगानीमा दशौं दिपावली महोत्सव गर्दै भैरहवाका रहिश खान


भैरहवा– आपसी सद्भाव र दिपावली पर्वलाई उल्लासमय बनाउन एकल लगानीमा वर्षेनि दिपावली महोत्सवको आयोजना गर्दै आएका भैरहवाका व्यवसायी रहिश खानले यस पटक पनि दिपावली महोत्सवलाई निरन्तरता दिने भएका छन् ।
हिन्दुहरुको महान पर्व दिपावलीको अवसरमा लक्ष्मी पुजाको दिन पारेर उनले आउँदो कात्तिक ३ गते भैरहवाको मिलनचोकमा ‘युनिक दिपावली फेस्टिभल २०८२’ को आयोजना गरेका हुन् । अहिलेको यो दिपावली महोत्सव उनको दशौं शृृङ्खला हो ।
‘आपसी सद्भाव र स्थानीय कलाकारको प्रबद्र्धन गर्दै तिहारको अनुभूती गराउन यस पटक पनि एकल लगानीमा दिपावली महोत्सवको आयोजना गर्ने भएको छु’, दिपावली महोत्सवको वारेमा जानकारी दिन आइतवार पत्रकार सम्मेलनको आयोजना गर्दै खानले भने, ‘महोत्सवका लागि करिव १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ । यस पटक पनि यो सवै खर्च मेरो व्यक्तिगत हुने छ ।’
उनका अनुसार, लक्ष्मीपुजाका दिन मिलनचोकमा साँझ ६ बजेदेखि १२ बजेसम्म महोत्सव सञ्चालन हुने छ । महोत्सवमा नृत्य, गायन लगायतका साँस्कृतिक कार्यक्रमहरु रहेका छन् । यो महोत्सवले स्थानीय र नव कलाकारलाई आफ्नो प्रतिभा देखाउने अवसर समेत प्रदान गर्ने छ । महोत्सवमा राष्ट्रिय र चर्चित कलाकारको प्रस्तुती समेत रहने छ ।
तत्कालका लागी राष्ट्रिय र चर्चित ति कलाकारहरुको नाम भने गोप्यराखि सरप्राइजको रुपमा महोत्सवकै वेला सिधै मञ्चबाट सार्वजनिक गरिने छ । यो महोत्सवको सहजिकरण र समन्वयकारी भूमिका भने चेम्बर अफ कमर्श रुपन्देही (उद्योग व्यापार संगठन) ले गर्ने छ ।
यो दिपावली महोत्सवबाट भैरहवाको रौनकता आइ प्रबद्र्धन हुने, केही हदसम्म भए पनि आर्थिक चलायमान हुने, स्थानीय कलाकारले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाउने, सवै धर्मावलम्वी तथा समुदाय बिच आपसी एकता तथा सद्भाव कायम रहने र मनोरञ्जन हुने अपेक्षा रहिशले राखेका छन् ।

‘म मुश्लिम समुदायको युवा भए पनि सवै धर्मको आदर र सम्मान गर्छु’, खानले भने, ‘म मुश्लिम समुदायको भए पनि मेरा धेरै साथीहरु हिन्दु समुदायका भएकाले चाडपर्वका वेला आपसमा मिलेर मनाउने गरिन्छ । सानो उमेरमा मेरो स्मृतिपटलमा रहेको भैरहवाको त्यो दिपावली पर्वको रौनकलाई फर्काउने कोशिस मेरो हो ।’
महोत्सवमा भैरहवा लगायत आसपास जिल्ला र भारतदेखि करिव ५० हजार दर्शक आउने अनुमान गरिएको छ । उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष सचिन रोक्काले महोत्सवको पूर्व तयारीमा जुटिएको जानकारी दिए ।
साढे दुई दशक अघिसम्म दिपावलीको वेलामा भैरहवा निकै आकर्षक सहरमा गणना हुन्थ्यो । देवकोटा चोकदेखि बैंकरोड, मिलनचोक प्रहरी टोल हुँदै नारायणस्थानसम्म सडकको दुवै किनारामा गरिने सजावटले सहर निकै मनमोहक बन्ने गथ्र्यो । आन्तरिक र बाह्य पर्यटक भैरहवाको दिपावली हेर्नका लागि झुम्मिन्थे ।
माओवादी युद्ध र भूमिगत मधेशबादी विभिन्न संगठन सक्रिय हुँदै गएपछि त्यतिबेलाको दिपावलीको चमक र रौनक भैरहवाले गुमाउँदै जान थाल्यो । सामूहिक रुपमा गरिने दिपावलीको सजावट र लक्ष्मी पुजा घर भित्र सिमित हुन थाल्यो । तिहारको अवसरमा गरिने विभिन्न साङ्गितिक र मनोरञ्जनात्मक कार्यक्रममा पनि कमी आउन थाल्यो ।

उतिवेलाको भैरहवाको दिपावलीको रौनकलाई बाल्यकालको कलिलो स्मृतिमा कैद गरेका रहिशले गुम्दै जान थालेको भैरहवाको त्यो साखलाई फर्काउन निरन्तर लागिरहेका छन् । रहिशले भैरहवालाई केन्द्रित बनाएर बिगत १८ बर्षदेखि साउण्ड र म्युजिकको व्यवसाय गर्दै आएका छन् । उनको साउण्ड र म्युजिक नेपालभरि लोकप्रिय र ख्याती प्राप्त छ ।








प्रतिकृया दिनुहोस्