October 8, 2025, Wednesday
२०८२ आश्विन २२ बुधबार

बाँकेबाट भागेका २९४ बालबन्दी र कैदीबन्दी अझै फरार, आजसम्म नफर्किए थप सजाय

बाँके– बाँकेका दुई बालसुधार गृह र एउटा कारागारबाट २ सय ९४ जना कैदी र बालबन्दी फरार छन् । जेनजी आन्दोलनका क्रममा उनीहरु कारगार र सुधारगृहबाट भागेका थिए । सरकारले भागेका बालबन्दीलाई आजसम्म फर्किने म्याद दिएको छ । आजसम्म फर्किनेलाई अर्को मुद्दा नलाग्ने भनिएको छ । आजसम्ममा नफर्किने कैदी र बालबन्दीलाई समातेर अर्को मुद्दा पनि लगाउने तयारी गरिएको छ ।

Advertisement

जिल्लामा नौबस्ता र डुडुवामा गरी दुई वटा बालसुधार गृह छन् । जेनजी आन्दोलनका क्रममा भदौं २४ गते नौबस्ता बालसुधार गृहबाट ७९ जना भागेकोमा २९ जना सम्पर्कमा आएका छन् । ५० जना अझै फरार छन् । त्यो दिन नौबस्तामा बालबन्दी र त्यही परिसरमा रहेका कारागारबाट कैदी भाग्ने क्रममा प्रहरीले गोली चलाउँदा ५ जनाको मृत्यु भएको थियो ।

त्यहाँको कारागारबाट एक सय ५० जना कैदी भागेकोमा ३२ जना सम्पर्कमा आएका छन् । अरु १ सय १८ जना फरार छन् । बाँके प्रहरीले नौबस्ता कारागारबाट भागेका नेपालगन्जका हरकेश खटिकलाई शनिबार र खजुरा सिमलघारीका मनोज चँदरालाई आइतबार समातेर कारागार पठाएको छ ।

डुडुवाको जयेन्दु बालसुधार गृहबाट एक सय १५ जना भागेकोमा ३९ जना सम्पर्कमा आएका छन् भने ७६ जना अझै फरार रहेका छन् । कार्यालय प्रमुख किशोर शर्माले असोज २० गतेसम्म सम्पर्कमा आउनेलाई अर्को मुद्दा नचलाउने भनिएको र त्यो दिन आज भएकाले साँझसम्म केही फर्किन सक्ने आशा गरे ।

नेपालमा ९ वटा बालसुधार गृह छन् । त्यसमा चौध सय हाराहारीमा बालबन्दी रहेका छन् । भक्तपुरमा केटा र केटीलाई राख्ने भएकाले त्यहाँ धेरै बालबन्दी छन् । विराटनगर र बाँकेका दुई वटा बालसुधार गृहमा धेरै संख्याका बालबन्दी छन् । बाँकेमा डुडुवाको जयेन्दु र नौबस्ता कारागार परिसरमा बालसुधार गृह छ । पर्सा, मकवानपुर, डोटी, रुपन्देही, कास्कीमा पनि बालसुधार गृह छन् ।

बालसुधार गृहहरुमा प्रायः विवाद र झडप भइरहन्छन् । १८ वर्षमुनिका बालबालिकाले अपराधिक कर्म गरेपछि उनीहरुलाई बालसुधार गृहमा पठाउने गरिन्छ । नेपालका बालसुधार गृहमा १८ वर्षमाथिका धेरै बालबन्दी छन् । जुन बालसुधार गृहमा बबाल र झडप हुन्छ, त्यहाँ त्यो गर्ने १८ वर्षमाथिका बालबन्दी रहेको अध्ययनहरुले देखाएको छ ।

बाँकेको नौबस्तामा सबै १८ वर्षमाथिका बालबन्दी राखिएको छ । जयेन्दुमा रहँदा पटक–पटक झडपमा उत्रिएकालाई त्यहाँ राखिएको छ । जयेन्दुमा पनि १८ वर्षमाथिका अझै छन् । जेनजी विद्रोहका बेला भागेका सबैजसो १८ वर्षमाथिकै छन् । बाँके भारतीय सीमावर्ती जिल्ला भएकाले यहाँबाट भागेका बालबन्दी भारत जाने सम्भावना बढी रहन्छ । भारत पुगेकाहरु फर्किने सम्भावना कम छ । प्रहरी स्रोतका अनुसार धेरै कैदीबन्दी र बालबन्दी भारत भागेको अनुमान छ ।