October 8, 2025, Wednesday
२०८२ आश्विन २२ बुधबार

भैरहवा–काठमाडौं हवाई टिकट पाउनै मुस्किल, नेपाल एयरलाइन्सले पनि उडान भर्ने

भैरहवा– रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट काठमाडौं जाने हवाई यात्रुको चाप अत्यधिक बढेको छ । दसैं मनाउन लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा आएका सर्वसाधरणहरुले सडक बन्द हुँदा र हवाई टिकट नपाउँदा हैरानी खेपिरहेका छन् । विमानस्थका सूचना अधिकृत विनोद रावतका अनुसार तीन दिनसम्मका लागि सबै टिकट बुक भइसकेका छन् ।

Advertisement

उनका अनुसार आइतबार, सोमबार र मंगलबारसम्म हवाई टिकट बुकिङ भएकाले अत्यावश्यक कामका लागि काठमाडौं जानुपर्ने यात्रुलाई समेत समस्या भएको छ । ‘अधिकांश टिकट अग्रिम बुकिङ भएका थिए’, उनले भने, ‘अझ त्यसैमाथि शनिबार उडान स्थगित हुँदा धेरै यात्रुहरु काठमाडौं जान पाउनुभएको छैन ।’

आइतबार बिहानैदेखि बुद्ध, यति र श्री एयरलाइन्सले उडान–अवतरण गरिरहेका छन् । तर, विमानस्थलमा टिकटको खोजीमा पुग्नेहरुको संख्या धेरै छ । कतिपयको काठमाडौंबाट बैदेशिक रोजगारीमा जाने टिकट समेत भएकाले भैरहवाबाट टिकट नपाउँदा मर्कामा छन् । शनिबार भैरहवाबाट काठमाडौंका सबै उडान स्थगित भएका थिए । दुईवटा जहाज भैरहवा ल्याण्ड गरे पनि यताबाट हुने सबै उडान स्थगित भएका थिए ।

आइतबार दिनभर विमानस्थलमा टिकट मिलाइदिन आग्रह गर्न जानेको संख्या ठूलो छ । शनिबारका लागि भैरहवा–काठमाडौंको टिकट लिएकाहरु पनि अझै गन्तव्यमा जान पाएका छैनन् । पाल्पाका अनुभव शर्माले शनिबार साढे ५ बजेको भैरहवा–काठमाडौंको बुद्ध एयरको आफ्नो टिकट भए पनि अझै उडान अनिश्चित भएको जनाए । ‘टिकट सार्दा समेत कुन दिन पालो आउँछ भन्ने ठेगान छैन’, उनले भने, ‘एयरलाइन्सले तपाईं यही दिन, यति बजेको फ्लाइटमा जानुस् पनि भन्दैनन् ।’

देशभर मौसम प्रतिकुल भएको भन्दै सरकारले शनिबार काठमाडौं प्रवेश गर्ने सबै सडक बन्द गरेको थियो । जसले गर्दा पनि धेरै यात्रुहरुले हवाई टिकट खोजिरहेका हुन् । गौतमबुद्ध विमानस्थलबाट हाल संचालित आन्तरिक उडानले थेगिनसक्नु भएपछि आज साँझ नेपाल एयरलाइन्सले पनि उडान भर्ने तयारी गरेको छ । सूचना अधिकृत रावतका अनुसार न्यारो वा वाइडबडी मध्ये एउटा विमानबाट नेपाल एयरलाइन्सले आज बेलुका ८ देखि ९ बजेको बीचमा उडान भर्ने छ ।

भैरहवाबाट बुद्ध, यति र श्रीएयरले दैनिक रुपमा १८–२० वटा उडान अवतरण गर्दै आएका छन् । तर, पर्व मनाउन आएकाहरु काठमाडौं फर्किन अग्रिम टिकट लिएकाले अन्य समयमा जस्तो सहज टिकट पाउन मुस्किल भएको हो ।