नेपाल घुम्न आउने पर्यटकलाई नाकामा स्वागत, समृद्धिको आधार पर्यटन भएको दावी

भैरहवा– नेपाल–भारत सीमा क्षेत्र बेलहियामा पर्यटकलाई स्वागत गरेर विश्व पर्यटन दिवस मनाइएको छ । शनिबार बेलहियामा नेपाल एशोसिएन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) ले नेपाल प्रवेश गर्ने पहिलो चार जना विदेशी पर्यटकलाई सम्मान गरेको हो ।
लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी र नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्रबहादुर थापाले चार जना विदेशी पर्यटकलाई खादा, माला र बुद्ध अंकित मायाको चिनो दिएर सम्मान गरेका हुन् । विश्वभरीका पर्यटन व्यवसायीले मनाउने विश्व पर्यटन दिवसको अवसर पारेर आज सीमा नाकामा कार्यक्रम गरिएको हो ।
नाकामा सम्मानपछि नेपाल घुम्न आएका विदेशी पर्यटकहरु खुशी भए । सम्मानका लागि सबै नेपालीप्रति कृतज्ञता ब्यक्त गरे । सम्मानपछि बोल्दै अष्ट्रेलियादेखि नेपाल घुम्न आएकी बारबरा डोराले नेपाल जस्तो सुन्दर देश घुम्न आउने क्रममा नाकामै गरिएको सम्मानले अत्यन्तै खुशी मिलेको जनाइन् । नेपाली र नेपालप्रतिको माया अझै बढेर गएको उनको भनाई छ ।
डोरा जस्तै नेदरल्याण्डदेखि नेपाल घुम्न आएका मार्सल कैयवरले नेपाल प्रवेश गर्दासाथ यसरी स्वागत गरेको देखेर दङ्ग परेको बताए । कैयवरले भने, ‘म त आश्चर्यमा परेको छु, नेपाल प्रवेशद्वार यसरी सम्मान गरेपछि मलाई नेपालका गाउँठाउँमा झनै कति स्वागत र सम्मान होला भनि कौतुहलता जागेको छ ।’
उनले नेपालीहरुको अतिथिहरुलाई गर्ने सत्कार संसारकै उदाहरणीय रहेको पनि बताए । यसैगरी सो अवसरमा २ जना भारतीय पर्यटकलाई पनि सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा भारतीय पर्यटकहरु डा. संजय सिंह र बिनोद मिश्रा छन् । भारतीय पर्यटकद्वय सिंह र मिश्रा बुटवल हुँदै पाल्पातर्फ गएका छन् । सम्मानपछि डा. सिंहले नेपालीहरुले गर्ने ब्यवहार र सम्मान संसारले सिक्नुपर्ने बताए ।
नेपाल एशोसियन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) ले अष्ट्रेलियन नागरिक डोरा, नेदल्यान्डबाट आएका कैयबर र भारतीय दुईजना पर्यटका लागि नाट्टा लुम्बिनीले पर्यटकको पहिलो गन्तब्य सम्मको एकदिनको यातयात ब्यवस्था र एकरातको होटल खर्चको ब्यवस्थापन गरेको छ ।
पर्यटकलाई स्वागत गर्दै लुम्बिनी प्रदेशका प्रमुख सचिव अधिकारीले नेपालको आर्थिक समृद्धिको आधार पर्यटन क्षेत्र भएको जनाउँदै विदेशी पर्यटकको स्वागतमा सबैले विशेष ध्यान दिनुपर्ने बताए । उनले प्रदेश सरकारले पर्यटन प्रबद्र्धनका लागि विशेष ढंगले काम गरिरहेको जनाए ।
नाट्टा लुम्बिनीका अध्यक्ष थापाले संस्थाले निस्वार्थ भावले नेपालको पर्यटनको विकासमा काम गरिहेको बताए । उनले भने, ‘हामी पर्यटन व्यवसायीहरु र सरकारी निकाय एकताबद्ध भई विदेशी पर्यटकको सहजताका लागि आ–आफ्नो क्षेत्रबाट सहकार्य गरि काम गर्नुपर्दछ ।’
कार्यक्रममा बौद्ध भिक्षु सुमंगलोले नेपालको धार्मिक, ऐतिहासिक, सास्कृतिक र प्राकृतिक सम्पदाहरुले विदेशीलाई आकर्षति गरिरहेको बेला सबै नेपालीहरु समता भावको साथ एकताबद्ध भई पर्यटन प्रबद्र्धनमा लागेमा देश विकास हुने बताए ।
पर्यटन व्यवसायी सागर अधिकारीले गुणस्तरीय पर्यटकको नेपाल बसाई लम्बाउन सके मात्र नेपालको पर्यटन विकास हुने बताए । उनले भने, ‘नेपालको समृद्धिको आधार भनेको पर्यटन हो । सरकारले पर्यटनका लागि विशेष योजनासाथ काम गर्नु पर्दछ । विदेशी त्यसमा पनि भारतीय पर्यटक लक्षित योजना बनाउनु पर्दछ ।’
प्रतिकृया दिनुहोस्