सशस्त्र डण्डाको पैसा असुल्ने अनौठो तरिकाः तस्करीको सामान बरामद गर्दै बेच्दै

भैरहवा– जेनजी आन्दोलनले सुरक्षा निकायको मनोबल कमजोर भएको भन्दै धेरैको सहानुभूति छ । तर, रुपन्देहीमा भने सशस्त्र प्रहरीका एक डीएसपीको कमाण्डमा खटिएको टोलीको मनोबल कमजोर होइन्, झन बढेको देखिन्छ । सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म (बीओपी, डण्डा, भैरहवा, रुपन्देही)का इन्चार्ज डीएसपी रन्जन बुढाथोकीको टीमको धन्दा भने भनिसाध्य छैन ।
भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्नुपर्ने मागसहित जेनजीहरुको प्रदर्शनले मुलुकमा सत्ता बदलियो, नयाँ सरकार बनेको छ । नयाँ सरकारले सुशासन कायम गर्न विभिन्न निर्णय गरेको छ । तर, रुपन्देहीको सीमा क्षेत्रमा रहेको बीओपी डण्डाका इन्चार्ज डीएसपी बुढाथोकीको टिमले भने केही तस्करहरुसँग मिलेमतो गरेर रातभरी तस्करी गराइरहेका छन् । केही तस्करहरुको सामान बरामद गरेर पनि भन्सार दाखिला नगरी ‘लुकाउने’ गरेको तथ्य पब्लिक कुराले प्राप्त गरेको छ ।
सशस्त्रको नीतिविपरीत डीएसपी बुढाथोकीले घुमुवा परिचालन गरेर तस्करहरुबाट सामान बरामद गर्ने तर भन्सार नबुझाई अन्यत्र विक्री गरेर ‘आर्थिक लाभ’ उठाउने गरेका हुन् । गत हप्ता मुकिम अली भन्ने तस्करले भारतबाट अवैध बाटो हुँदै तीन कार्टुन जुत्ता भित्र्याएका थिए । भैरहवाको रानीगाउँबाट डीएसपी बुढाथोकीले परिचालन गरेका घुमुवा मोछ बोगटी र शुभाष भुसालले उक्त जुत्ता नियन्त्रणमा लिए ।
करिब साढे दुई लाख रुपैयाँ पर्ने उक्त जुत्ता सशस्त्रले भैरहवा भन्सारमा बुझाउँदा दुई कार्टुन मात्रै बुझायो । एक कार्टुन जुत्ता नै ‘गायव’ पार्यो । भारतीय बजारमा एक कार्टुन जुत्तालाई ८० हजार रुपैयाँ बढी पर्छ । मुकिम भन्छन्, ‘मैले घुमुवाहरुलाई मासिक ३० हजार रुपैयाँ दिन्छु, तर उल्टै पैसा लिएर पनि मेरो सामान समात्छन्, अनी समातेको सामान पनि पूरै भन्सार नबुझाएर अन्यत्र विक्री गरेर पैसा लिन्छन् ।’ उनले आफू गरिबीका कारण बाध्यताले सामान ओसार्ने काममा लागेको जनाए ।
उनका अनुसार तस्करहरुसँग पैसा असुल्नका लागि डीएसपी बुढाथोकीले चारजना घुमुवा परिचालन गरेका छन् । ती घुमुवाहरुले तस्करहरुबाट बरामद भएको आधा सामान विक्री गरेर लाभ उठाउने गरेका छन् । यो कुरा डीएसपी बुढाथोकीलाई समेत जानकारी छ । बिहीबार मात्रै घुमुवा बोगटी र भुषाल सहितका चारैजनाले खजहनाबाट उनै मुकिम अलीकोको टीमले ल्याउँदै गरेको १ सय ५० पिस सर्ट बरामद गरे । तर, उक्त सर्टहरु भन्सार नै बुझाएनन् ।
‘बिहीबार बिहान समातेका सर्टहरु शुक्रबारसम्म पनि न भन्सार पठाइएको छ, न बीओपी डण्डा नै लगिएको छ’, मुकिम भन्छन्, ‘घुमुवाहरुले मेरो क्यारियरहरुसँग लगेको सबै सर्टहरु नै गायब भए ।’ गत हप्ता सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र बोहराको नेतृत्वमा घुमुवासहित गएको सशस्त्रको टोलीले पिप्रहिया गाउँबाट अभिषेक भन्ने तस्करले भारतीय मोटरसाइकलमा ल्याउँदै गरेका ८० पिस सुटहरु बरामद गरे ।
तर, भन्सारमा बुझाउँदा जम्मा ५० पिस मात्रै बुझाए । बाँकी ३० पिस सुट नै गायव पारे । यी केही उदाहरण मात्रै हुन् । सशस्त्र बीओपीले अहिले तस्करीकै सामानमा झेल गरिरहेको छ । यतिमात्र होइन्, यतिबेला सशस्त्रकै डण्डा अगाडिबाट राति १० बजेपछि बिहान ३ बजेसम्म ब्यापक तस्करी भइरहेको छ । दर्जनौं मोटरसाइकमा कपडा, जुत्ता, हार्डवेयर, मोटर पार्टस् लगायत तस्करी भइरहको छ । यी सामान तस्करीमा सलमान, पारु, राजकुमार लगायत ५० औं जना संलग्न छन् । डण्डामा डीएसपी बुढाथोकीको असुली धन्दामा इन्स्पेक्टर बोहराले सबैभन्दा राम्रो साथ दिँदै आएका छन् । बोहरा कयौंपटक आफै पैसा असुल्न हिंड्ने गरेको तस्करहरु बताउँछन् ।
सशस्त्रका डीएसपी बुढाथोकीले पब्लिक कुरासँग कुराकानी गर्दै आफूले कुनै पनि घुमुवा नराखेको दावी गरे । ‘हाम्रोमा घुमुवा राख्ने नीति नै छैन’, उनले भने, ‘प्रमाण भए मलाई हेर्न दिनु ।’ डीएसपी बुढाथोकीले यस्तो दावी गरे पनि उनका घुमुवाहरु बोगटी लगायतले डीएसपीको नाम लिँदै पैसा असुली गर्ने, पत्रकारहरु मिलाइदिए बरामद गरेको सामान छाडिदिने, पैसा मागेको अडियो र डीएसपी मिलाउनुछ भनेको भिडियो पब्लिक कुरासँग सुरक्षित छ ।
सशस्त्र प्रहरी बल नम्बर २७ गण हे.क्वा., रुपन्देहीको प्रमुख एसपी मेखबहादुर जोशीले आफूले यसबारे बुझ्ने बताए । ‘बोगटी, भुसाल लगायतका ती सशस्त्र प्रहरीलाई कार्यालयमा बोलाएर आवश्यक कुराहरु बुझ्छु, त्यसपछि बाँकी कुराहरु थाहा हुन्छ ।’
प्रतिकृया दिनुहोस्