September 28, 2025, Sunday
२०८२ आश्विन १२ आईतवार

भैरहवामा मुस्ताङको कोशेली चखाउँदै बिक दम्पत्ति


भैरहवा–दशैंका लागि हिमाली भेगको कोशेली बोकेर तीन दिन अघि भैरहवा आइपुगेका थिए, मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फा निवासी सुकुन रसाइली विकको दम्पत्ति ।

सकुन र उनका श्रीमान शंकरलाल मुस्ताङदेखि दुई दिन बसमा यात्रा गर्दै साथमा ल्याएको कोशेलीसहति सुरक्षितका साथ भैरहवा ओर्लिए । यतिवेला यो दम्पत्तिलाई मुस्ताङदेखि ल्याएको सामान बिक्री गर्न भ्याइनभ्याइ छ ।

Advertisement

सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीले संघकै भवन परिसरमा यही असोज ८ गतेदेखि सञ्चालन गरेको दशैं सस्तो बजारमा एउटा स्टल लिएर यो दम्पत्तिले आफूले ल्याएको हिमाली भेगको सामान बिक्री गर्दै आएका छन् ।

‘मार्फा फलफूल तथा तरकारी प्रशोधन उद्योग’ नाम गरेको स्टलमा मुस्ताङको स्याउ, आलु, सुकाएको कर्कलो, जिम्बु, रातो मुरली मकै, टिम्मुरको छोप, आलु चिप्स, स्याउको सुकुटी र स्याउको रक्सी लगायत्का सामान उपलब्ध छन् । यी सवै सामान आर्गानिक समेत रहेको दावी उनीहरुको छ ।

‘तराइको गर्मीमा मुस्ताङको हिमाली कोशेली उपभोक्तालाई चखाउन पनि पाइने, स्वदेशी उत्पादित कृषिजन्य बस्तुको प्रबद्र्धन पनि हुने’, महिला उद्यमीको रुपमा अन्तर्राष्ट्रिय पुरस्कार समेत प्राप्त गरेकी सुकुनले पब्लिक कुरासँग भनिन्, ‘हिमालदेखि दुईदिनसम्मको यात्रा गर्दै सुरक्षितसाथ सामान लिएर आउनुको यात्रा निकै कष्टकर छ ।’

दशैं सस्तो बजारमा उनीहरुको यो स्टल उपभोक्तामाझ निकै आकर्षण बनेको छ । हिमाली भेकको सामान भनेपछि उपभोक्ताको भिड लागेको छ । भने, बिक दम्पत्ति परिवारलाई पनि सामानको गुणस्तर, बिशेषता मूल्य बताउँदै बिक्री गर्न भ्याइनभ्याइ छ ।

‘कतिपयले मुस्ताङ र हिमाली जिल्लाको भन्दै ढाटेर बिक्री गर्ने गर्छन्’, शंकरलालले भने, ‘हिमाली जिल्लाको अर्गानिक सामान मूल्यमा केही महँगो त हुन्छ तर धेरै स्वस्थकर हुन्छ।’

स्वदेशी अर्गानिक उत्पादित कृषि बस्तुको वारेमा स्वदेशी उपभोक्तामा जानकारी तथा सचेतना नहुँदा बिदेशी बिषादीयुक्त तरकारी तथा फलफूल आइरहेको र स्वदेशी सामानले बजार पाउन नसकेको भनाइ उनीहरुको छ ।

‘सस्तो भनेर बिदेशबाट आयातित र बिषादी तरकारी तथा फलफूलको प्रयोगले स्वास्थ्यमा पारेको असर वारेमा धेरैले ख्याल गरेका छैनन्’, सुकुनले भनिन् ।

बिक दम्पत्तिले ल्याएको हिमाली भेकको ति खाद्य सामाग्री भैरहवा क्षेत्रका लागि नयाँ र फरक स्वाद भएको भनाइ आयोजकको छ ।

‘भैरहवाको हरेक मेलामहोत्सवमा उहाँहरु हिमाली उत्पादन लिएर आउने गर्नुहुन्छ’, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले भने, ‘हिमाली क्षेत्रको उत्पादलाई प्रोत्साहित गर्न हामीले उहाँहरुलाई बस्ने खाने र निःशुल्क स्टलको व्यवस्था गरेका छौं ।’