September 28, 2025, Sunday
२०८२ आश्विन १२ आईतवार

गौतमबुद्ध विमानस्थलः थाई एयरले अक्टोबर २६ देखि उडान भर्ने, जजिराको अझै टुंगो छैन

भैरहवा– लामो समयदेखि अन्तर्राष्ट्रिय उडानबिहीन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थाई एयर एसियाले पुनः उडान गर्ने टुंगो लागेको छ । तर, उडान भर्नका लागि प्रक्रिया सुरु गरे पनि जजिरा एयरवेजले पुनः उडान सञ्चालन गर्ने टुंगो अझै लाग्न सकेको छैन ।

Advertisement

भैरहवाबाट उडान भर्नका लागि थाई एयर एशियाले अनुमती लिइसकेको छ भने जजिराले अनुमती लिने तयारीमा छ । अनुमतीका लागि जजिराले नियमित समन्वय गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

‘जजिरा र थाई एयर एसियाले विगतमा पनि भैरहवामा उडान गरेर स्थगित गरेका थिए । थाई एयर एसियाले अक्टोबर २६ देखि हप्तामा दुई उडान गर्ने गरि अनुमती लिइसकेको छ’, महाप्रबन्धक तिवारीले भने, ‘जजिराले अझै अनुमती लिएको छैन । त्यसैले कुन मितिबाट उडान भर्छ भन्ने अझै टुंगो छैन ।’

विन्टर सेडुल अक्टोबर २८ देखि सुरु हुन्छ । त्यसको दुईदिन अघिबाटै थाई एयर एसियाले उडान भर्न लागेको हो । विमानस्थलले केही एयरलाइन्सले चार्टर्ड उडान भर्नका लागि अनुमती लिने क्रम रहेको जनाएको छ । गत वर्ष ५ महिनासम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भएका थिए । यतिबेला भने भैरहवाबाट कुनै पनि अन्तर्राष्ट्रिय उडान नियमित संचालनमा छैनन् ।

काठमाडौं–मलेसिया र मलेसिया–भैरहवा उडान गरिरहेको नेपाल एयरलाइन्सले विमाने अभाव जनाउँदै उडान स्थगित गरेको छ । यद्यपी यो बीचमा नियमित उडान नभए पनि विभिन्न एयरलाइन्सले चार्टर्ड उडान गरेका छन् । गत वर्ष अप्रिलदेखि भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान छैनन् । भैरहवामा उडान गर्ने विदेशी वायुसेवालाई सरकारले आकर्षक छुट सुविधासमेत दिएको छ ।

अन्तर्राष्ट्रिय उडानका लागि हवाई टिकटमा लाग्ने प्रतियात्रु ३ हजार रुपैयाँको यात्रु सेवा शुल्कमा छुट छ भने पार्किङ ल्यान्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण तथा नेपाल एयरलाइन्सले दिने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट दिइएको छ । तर, पनि विदेशी विमान कम्पनी आकर्षित हुन सकेका छैनन् ।