June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

तोडफोड र आगजनी आरोपमा १६ जना प्रहरी नियन्त्रणमा

Advertisement

परासी– गत भदौं २३ र २४ गते जेनजी समूहको नाममा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पश्चिम नवलपरासी प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको छ । आवश्यक सोधपुछका लागि भन्दैं उनीहरुलाई पक्राउ गरेको हो ।

Advertisement

जेन–जी आन्दोलन फिर्ता भइसकेपछि निजी सम्पत्तिमा भएको तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरीका डीएसपी वीरदत्त पन्तले बताए । प्रहरीले फोटो र भिडियो अध्ययन गरेर उनीहरूलाई नियन्त्रणमा लिएको भए पनि अहिलेसम्म कसैले पनि किटानी जाहेरी भने नदिएको प्रहरीले जनाएको छ ।

प्रहरीले आइतबार जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेर दोषीलाई कारबाही गर्न र अनुसन्धानमा सहयोग पुर्याउन आग्रह गरेको थियो । राजनीतिक दलका प्रतिनिधिले घुसपैठ गरेर निजी सम्पत्तिमाथि क्षति पुर्याउनेलाई कारबाही गर्न प्रहरीलाई आग्रह गरेका थिए ।

आन्दोलनकै क्रममा नियतवश जनप्रतिनिधिको घर र उद्योगमा आगजनी गरेको भन्दै पीडितले कारबाहीको माग गर्दै आएका थिए । फोटो र भिडियो प्रमाणको आधारमा बर्दघाट र प्रतापपुरबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको संलग्नताको अनुसन्धान भइरहेको र सोही अनुसार कानुनी कारबाही अगाडि बढाइने छ । जिल्लामा २७ वटा सरकारी कार्यालय सहित ६३ वटा तोडफोड र आगजनीको घटना भएको छ ।

जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीको संयोजकत्वमा क्षति मूल्यांकन समिति गठन गरेर क्षतिको विवरण संकलन भइरहेको छ ।