रूपन्देहीमा निरन्तर भारी वर्षा

भैरहवा– रुपन्देहीमा शुक्रबार बिहानैदेखि भारी वर्षा भइरहेको छ । जिल्लाका बुटवल लगायत उत्तरी क्षेत्रमा रातिबाट वर्षा भए पनि भैरहवामा बिहानबाट ठूलो वर्षा भइरहेको हो । वर्षाका कारण जनजीवन प्रभावित भएको छ । सर्वसाधरण घर बाहिर निस्किन सकेका छैनन् ।
जल तथा मौसम विज्ञान विभागले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।
विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुनको न्यूनचापीय रेखा (पानी पार्ने प्रणाली) सरदर स्थान (भारततर्फ) आसपास अवस्थित छ । विभागका अनुसार शुक्रबार मुलुकभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
साथै शुक्रबारराति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
प्रतिकृया दिनुहोस्