September 18, 2025, Thursday
२०८२ आश्विन २ बिहीबार

सिद्धबाबा सुरुङमार्गमा ‘लाइनिङ’ र ढलान सकियो

भैरहवा– रुपन्देही र पाल्पाको सिमाना नजिक सिद्धार्थ राजमार्गअन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग लाइनिङ र ढलानको काम सकिएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानमा निर्माण भइरहेको सुरुङमार्ग अन्तर्गत मुख्य टनेलको भित्री सुरुङको पर्खालमा संरचनात्मक लेपन (लाइनिङ) को काम पूरा भएको छ । सुरुङभित्रको पर्खाललाई कंक्रिट, सटक्रिट, ब्लक वा अन्य सामग्रीले छोप्ने काम भएको सिद्धबाबा सुरुङमार्ग आयोजना प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए ।

Advertisement

यस्तो लेपनले सुरुङलाई स्थायित्व प्रदान गर्नुका साथै ढुंगामाटो झर्ने सम्भावना कम गर्ने र पानीको चुहावट रोक्ने उनले बताए । लाइनिङपछि सुरुङ सुरक्षित, मजबुत र प्रयोगयोग्य हुने उनको भनाई छ । भुईं ढलान (इन्भर्ट) को काम यसअघि सकिएको छ । इन्भर्टको काम पनि १०८९ मिटर सकिएको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयले जनाएको छ । यससँगै उत्तर र दक्षिण पोर्टलको कामसमेत अघि बढाएको छ । उत्तरतर्फ १९ मिटर र दक्षिणतर्फ १८ मिटर पोर्टलको काम गर्नुपर्ने प्रमुख अधिकारीले बताए । ‘इन्भर्ट र लाइनिङको काम सकिएपछि उत्तर र दक्षिण पोर्टलको काम अघि बढेको छ,’ उनले भने, ‘बाहिरी भागको कामसमेत धमाधम भइरहेको छ ।’

उत्तर र दक्षिणतर्फ हेलिप्याड निर्माणका लागि समेत काम भइरहेको छ । उत्तरतर्फ फाउन्डेसन तयार गरिएको र दक्षिणतर्फ पनि काम भइरहेको उनले बताए । बीचमा कुनै अवरोध वा अन्य केही समस्या नआउने हो भने अबको ७ महिनामा मुख्य टनेलबाट सवारी साधन गुडाउन सकिने आयोजना कार्यालयले जनाएको छ । यहाँ रहेका तीन वटा बाइपासमा पनि लाइनिङ र इन्भर्टको काम धमाधम अघि बढेको छ । बाइपास एक अन्तर्गत १ सय ५१, बाइपास दूई १ सय ६१ र बाइपास तीन १ सय ३० मिटर लम्बाई रहेको छ ।

बाइपास १ मा इन्भर्टको काम १ सय ४५ मिटर भइसकेको छ । लाइनिङको काम पनि १२९.७ मिटर भइसकेको छ । बाइपास २ मा इन्भर्टको काम १५७.८ मिटर भइसकेको छ भने लाइनिङको काम ६५.४ मिटर भइसकेको छ । बाइपास ३ मा इन्भर्टको काम १२५ मिटर भइसकेको छ । लाइनिङको काम पनि १०९.८ मिटर भइसकेको आयोजना कार्यालयले जनाएको छ ।

सुरुङमार्ग मुख्य टनेलको कामलाई तीव्रता दिएर सक्ने योजना आयोजनाको छ । सवारी साधन भित्रबाट पठाएर बाहिर अहिलेको सडकमा काम गर्ने योजना भएकाले पनि भित्री कामलाई तीव्रता दिइएको आयोजना प्रमुख अधिकारीले बताए । बाहिर भीरपाखा र तल्लो भागमा खोला भएकाले काम गर्न समस्या हुने भएकाले पहिले मुख्य टनेलबाट सवारी साधन गुडाउने अवस्थामा पु¥याउने योजना आायोजनाको रहेको उनले बताए ।

सिद्धबाबा क्षेत्रको जोखिमयुक्त क्षेत्रमा स्लोप स्टेबलाइजेन र रक ब्यारियर विधि प्रयोग गरेर सडक सुरक्षित बनाउने कामसमेट अघि बढेको छ । सम्भावित दुर्घटनाको क्षेत्रमा ढुंगाहरू हटाइनेछ भने पहाडको माथिल्लो भागमा बलियो तारजालीसमेत बिच्छ्याउने कार्य हुने उनले बताए । जसबाट पहिरो सम्भावित क्षेत्रलाई स्लोप प्रोटेक्सनको काम सुरु भएको छ । यहाँका पहाडमा रक ब्यारिएर हुनेछ । सुरुङ क्षेत्रको दक्षिणतर्फ २ हजार ३०० मध्ये १४९५ मिटर स्लोप प्रोटेक्सनको काम भइसकेको छ ।

उत्तरतर्फ ११०० मध्ये ४९५ काम सकिएको छ । एमआरवन माउन्टेन साइड ९६२० मध्ये ४८१ मात्रै भएको छ । एमआरटु माउन्टेन साइट ७४४० मध्ये १४१४ स्वायर मिटर काम भएको आयोजना प्रमुख अधिकारीले बताए । एमआर वन रिभरसाइड १३६० र एमआर टु रिभर साइड ५०० मिटरको काम भने प्रगति भएको छैन । आयोजना अन्तर्गत निर्माण व्यवसायी चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ९ वटा कल्भर्टको काम सकेर नाली निर्माणको काम गरिरहेको छ । भदौ ३० गतेसम्म सुरुङमार्गको भौतिक प्रगति ६१.०६ प्रतिशत सकिएको छ । वित्तीय प्रगति ५१.०१ प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ ।