नेपालगन्जमा यसवर्ष रामलिला प्रदर्शन नहुने

बाँके– नेपालगन्जमा १ सय ५७ वर्षदेखि मनाइँदै आएको ऐतिहासिक रामलिला यसवर्ष प्रदर्शन नहुने भएको छ । प्रत्येक वर्ष घटस्थापनाबाट सुरु हुने रामलिला प्रतिकुल अवस्था देखाएर स्थगन गरिएको छ । रामलीला प्रदर्शन नभए पनि यसपटक रावण बधको सामान्य कार्यक्रम हुनसक्ने रामलिला व्यवस्थापन समितिका अध्यक्ष सन्तोषकुमार कनौडियाले जानकारी दिए ।
उनले रामलिलामा स्थानीयको सहभागिता रहने र भीडभाड हुने भएकाले सुरक्षाको कारण देखाउँदै स्थगन गर्न बाध्य भएको बताए । व्यवस्थापन समितिका अध्यक्ष कनौडियाले रामलिलामा रामायणमा आधारित श्रीरामको जन्मदेखि राज्य भिषेकसम्मको रामचरित्र प्रस्तुत गर्नुपर्ने हुँदा त्यसका लागि कलाकार भारतबाट आउने भएकाले सुरक्षा चुनौती रहेको बताए ।
यसअघि पनि कोभिड–१९ का बेला रामलिला दुई वर्ष स्थगन गरिएको थियो । नेपालगन्जको मौलिक इतिहास बोकेको रामलिलालाई यहाँका स्थानीय अवधि समुदायले संरक्षण गरिरहेका छन् । स्वर्गीय रामगोपाल टण्डन, भाइलाल हल्वाइलगायतले नेपालगन्जमा रामलिला महोत्सवको सुरुवात गरेको बताइन्छ ।
प्रतिकृया दिनुहोस्