September 17, 2025, Wednesday
२०८२ आश्विन १ बुधबार

रूपन्देहीका बस्तीहरूमा रातिमा चोर आउने गरेको हल्ला, कुनै सत्यता नभएको सुरक्षा निकायको दावी

भैरहवा– जेनजी आन्दोलनका क्रममा भदौ २४ गते रुपन्देहीमा दर्जनौं सरकारी कार्यालय, व्यवसायिक प्रतिष्ठान, पार्टी कार्यालयहरु र निजी घरहरु तोडफोड भए । त्यसदिन रातिसम्म नै विभिन्न ठाउँमा आगजनी, तोडफोड र लुटपाट भएका थिए । यसबाट स्थानीय त्रसित छन् ।

Advertisement

भोलिपल्ट (भदौ २५) गते पनि जेनजीका नाममा केही अराजक समूहले गैडहवा, शुद्धोदन लगायतका गाउँपालिका कार्यालय तोडफोड र आगजनी गर्न पुगे । तर, स्थानीयहरुले प्रतिवाद गरे । त्यो अराजक समूहलाई धपाए । त्यसयता मुलुकमा नयाँ सरकार बनिसकेको छ । मन्त्रीमण्डल गठन भएको छ । जेनजीको नाममा एउटा अराजक समूहले भने रुपन्देहीका भित्री गाउँटोलमा त्रसित गराउने काम गरिरहेको जनाइएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले आन्दोलनको त्रास केही भित्री बस्तीहरुमा अझै रहेको बताउँछन् । उनले भने, ‘गाउँगाउँमा रातिमा चोर आएको भन्दै होहल्ला गर्ने, अपरिचित व्यक्ति देखे लखेट्ने काम भइरहेको छ ।’ उनले अहिलेसम्म आधिकारिक रुपमा चोरी भएको, लुटपाट भएको भनेर प्रहरीमा उजुरी नआएको बताए ।

‘प्रदर्शनका क्रममा लुटपाट र चोरी भएको भएर हुनसक्छ, स्थानीयहरुमा अझै त्रास छ । तर, गाउँगाउँमा हल्ला गरिएजस्तो चोरी भएको छैन’, उनले भने, ‘सुरक्षा मजबुत पारिएको छ, गस्ती भइरहेको छ ।’ उनले जिल्लाका कुनै पनि ठाउँमा गलत हुनसक्ने शंका लागेमा वा भएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरे ।

‘केही दिन अघि मर्चवारमा एकजना मानसिक अवस्था ठीक नभएकी महिला देखेपछि चोरी गर्न आएकी भनेर होहल्ला भएको थियो’, उनले भने, ‘बुझ्दै जाँदा ती महिला चोरी गर्न नभई मानसिक अवस्था ठीक नभएर एक्लै हिंडेकी रहिछन् ।’ उनले स्थानीय सतर्क हुनुपर्ने तर अपरिचित व्यक्ति देख्दैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको जनाए ।

जिल्लाको भैरहवा, मर्चवार, लुम्बिनी, मायादेवी लगायतका ठाउँमा जेनजी आन्दोलनपछि रातिमा अपरिचित व्यक्ति देखे चोरीडकैती गर्न आएको भन्दै स्थानीयले होहल्ला गर्ने र लखेट्ने गरेका छन् । तर, सुरक्षा निकायले सीमा क्षेत्र र भित्री वस्तीहरुमा समेत सुरक्षामा कडाई गरिएकाले नआत्तिन आग्रह गरेको छ ।

प्रहरीमा उजुरी नपरे पनि भैरहवा लगायत केही ठाउँहरुमा चोरी भएका घटना बाहिर आएका भने सत्य हुन् । रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले बाहिर कुरा आएजस्तै लुटपाट र चोरीको घटना भएको जानकारी प्रहरी समक्ष नआएको बताए ।

‘यतिबेला स्थानीय वासिन्दा त्रसित छन् । कतिपय टोल र बस्तीमा स्थानीय जम्मा भएर केहीवेर गस्ती गर्ने वा कतै जम्मा भएर बस्ने गरेको जानकारीमा आएको छ’, उनले भने, ‘तर, बाहिर आएजस्तो चोरी र लुटपाट भएको छैन ।’

कहिकतै अपरिचित व्यक्ति देखेपछि लुट्न आएको वा तिनिहरु नै चोर हुन् की भन्ने भ्रम स्थानीयमा पर्ने गरेको उनले जनाए । अपरिचित व्यक्तिलाई देखेपछि कुट्न्े वा चोरचोर भनेर चिच्याएर लखेट्ने गरेको सुन्नमा आएको एसपी क्षेत्रीले बताए । तर, आधिकारिक रुपमा चोर नै आएको, लुटेको वा चोरेको भन्ने आधिकारिक जानकारी प्रहरी समक्ष नआएको क्षेत्रीको भनाई छ । जिल्लामा स्थानीयहरुले चोरहरुको समूह आएको भन्दै हल्ला गर्ने गरेको छन् । यसमा कुनै सत्यता नरहेको सुरक्षा निकायको दावी छ ।