गैडहवा तालमा डुबेर मृत्यु भएका युवाको पहिचान खुल्यो

भैरहवा– रुपन्देहीको गैडहवा तालमा डुवेर दुईजनाको मृत्यु भएको छ । पौडी खेल्नका लागि गैडहवा गाउँपालिकास्थित गैडहवा तालमा पुगेका उनीहरुको डुवेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा गैडहवा–१, असिहवाका करिब १७–१८ वर्षका दीपेश थारु र अरुण थारु छन् । इलाका प्रहरी कार्यालय, रुद्रपुर, रुपन्देहीका प्रहरी निरीक्षक पुष्प रोकायका अनुसार बुधबार अपरान्ह ४ बजे उनीहरु पौडी खेल्ने क्रममा डुवेका थिए ।
गैडहवा ताल उनीहरुको घरदेखि करिब ७ किलोमिटर डाढा छ । उनीहरु दुबैजनाले घरमा कसैलाई केही नभनी गैडहवा ताल पुगेका थिए । ती युवाहरु डुवेको ठाउँ तालको बस्ती रहेको किनारा भन्दा टाढा जंगलको छेउ पर्ने भएकाले सहजै जान नसकिएको स्थानीयले बताएका छन् ।
प्रहरीका अनुसार सुरुमा दीपेश पौडी खेल्न गएका थिए । उनी डुबेको देखेपछि अरुण उनको उद्धारका लागि तालमा पसेका थिए । तर, दुबैजना तालमा डुबे । युवाहरु तालमा डुवेको देखेपछि टाढा रहेका स्थानीयले देखेका थिए । तर, स्थानीयहरु पुगिसक्दा दुबैजनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक रोकायले घटनास्थल र घटना प्रकृतिको मुचुल्का बनाएर पोष्टमार्टमका लागि भैरहवास्थित भीम अस्पताल ल्याउने तयारी भइरहेको जनाए । गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले उक्त तालमा केही स्थानीयहरु फोटा खिच्ने क्रममा रहेको र उनीहरु डुबेको देखेपछि उद्धारका लागि ताल घुमेर जानुपर्दा ढिलो बचाउन नसकिएको बताए ।
प्रतिकृया दिनुहोस्