रूपन्देहीमा पनि जापानिज इन्सेफ्लाइटिस र डेंगुको संक्रमण बढ्दै, २ को मृत्यु

भैरहवा– लामखुट्टेको टोकाइबाट संक्रमण हुने डेंगु र जापानिज इन्सेफ्लाइटिस दुवै रोगको संक्रमण रुपन्देहीमा पनि फैलिँदै जान थालेको छ । यी दुवै रोगको संक्रमणबाट रुपन्देहीमा २ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार जिल्लामा जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट १० जना र डेंगुबाट १ सय ८४ जना संक्रमित भएका छन् ।
संक्रमितमध्ये, जापानिज इन्सेफ्लाइटिसबाट ३ जना रुपन्देही बाहिरका बासिन्दा हुन भने डेंगुबाट संक्रमित पाइएका कुल बिरामीमध्ये १ सय १६ जना रुपन्देहीका हुन् । रुपन्देही बाहिरका संक्रमित बिरामी उपचारका क्रममा रुपन्देहीमा आएका हुन् ।
स्वास्थ्य कार्यालयका बरिष्ठ भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जापानिज इन्सेफ्लाइटिसबाट तिलोत्तमा नगरपालिकाका एकजना संक्रमितको र डेंगुबाट क्रिमशन अस्पताल मणिग्राममा उपचार गराइरहेका एकजनाको मृत्यु भएको जनाए ।
उनका अनुसार, मृतक दुवैजना पुरुष हुन् । डेंगुबाट मृत्यु भएका बिरामी नवलपरासीको बर्दघाटका हुन् । ‘दुवै रोगको संक्रमण रुपन्देहीमा पनि बढ्दो अवस्थामा छ’, शाहले भने, ‘जापानिज इन्सेफ्लाइटिसको संक्रमण २ जना भन्दा बढीमा देखिएमा माहामारी भन्ने गरिन्छ । गतबर्ष रुपन्देहीमा जापानिज इन्सेफ्लाइटिसको संक्रमण शुन्य अवस्थामा थियो ।’
दुवै रोगको संक्रमण न्युनिकरणका लागि स्वास्थ्य कार्यालयले सवै पालिकामा सचेतनाका लागि पत्राचार गरिसकेको उनले जनााए । जापानिज इन्सेफ्लाइटिसबाट संक्रमित रुपन्देहीका ७ जनामध्ये देदह १ र ५ नम्बर वडा, तिलोत्तमाको २, ४ र ५, मायादेवीको ५ र सैनामैनाको ३ नम्बर वडाका बासिन्दा हुन् ।
डेगुंको संक्रमणबाट रुपन्देहीको कोटहीमाई र सम्मरीमाई गाउँपालिका बाहेक सम्पूर्ण पालिका प्रभावित छन् । सबैभन्दा धरै बुटवल उपमहानगरपालिकामा ३५ जना र तिलोत्तमा नगरपालिकामा २६ जना संक्रमित छन् ।
प्रतिकृया दिनुहोस्