June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

लुम्बिनीमा कांग्रेस-एमाले-माओवादीले थाले पार्टी कार्यालयहरूमा भएको क्षतिको विवरण संकलन

Advertisement

भैरहवा– जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीले गत भदौं २४ गते आफ्ना कार्यालयमा पुर्याएको क्षतिको नेकपा एमाले, कांग्रेस र नेकपा माओवादीले लेखाजोखा गर्न थालेका छन् । लुम्बिनी प्रदेशका विभिन्न जिल्ला पार्टी कार्यालयमा पुगेको क्षतिको विवरण संकलन थालेका हुन् ।

Advertisement

नेकपा एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलका अनुसार बुटवलस्थित पार्टीको प्रदेश कार्यालय, रुपन्देहीको मधवलियास्थित जिल्ला कार्यालयसहित धेरै कार्यालयमा तोडफोड र आगजनी भएको छ । पाल्पा, रुकुमपूर्व र रोल्पाबाहेकका सबै कार्यालयमा आगजनी र तोडफोड गरेर पूर्णरुपमा क्षति पुर्याइएको छ ।

अधिकांश जिल्ला कार्यालय, तराईका धेरै पालिका कार्यालयसमेत पूर्णरुपमा जलाइएको उनले जनाए । ‘त्यहाँको भौतिक संरचनाका विषयमा सबै जिल्लाबाट विवरण माग गरिएको छ,’ उनले भने, ‘प्रदेश कार्यालय रहेको बुटवलको सुख्खानगरस्थित भवन पूर्ण रुपमा क्षति भएको छ, त्यहाँको पनि विवरण निकाल्दै छौं ।’ गुल्मीमा पनि भित्र आगजनी नगरिएको तर सबै सामग्री बाहिर ल्याएर जलाइएको र तोडफोड गरेर क्षति पुराइएको तर अन्य स्थानमा पूरै आगलागी गरिएको उनले जनाए ।

कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनका अनुसार प्रदेशका पाल्पा, रोल्पा र पूर्वी रुकुमबाहेकका सबै जिल्लामा कांग्रेसका पार्टी कार्यालयमा तोडफोड र आगजनी भएका छन् । रुपन्देही, बाँके, बर्दिया, कपिलवस्तु, र अर्घाखाँची ठूलो क्षति पुगेको उनले जानकारी दिए । जिल्ला, क्षेत्र र नगर तहका पार्टी कार्यालयमापनि क्षति पुर्याइएको पुनले बताए । ‘क्षतिको विवरण संकलन कार्य अघि बढिरहेको छ,’ उनले भने, ‘कार्यालय सञ्चालनको अवस्था तथा आगामी कदमबारे छलफल गरिने छ ।’

नेकपा माओवादी केन्द्रमा प्रदेश अध्यक्ष सुदर्शन बरालका अनुसार प्रदेशका ४ जिल्लामध्ये पाल्पा, रुकुमपूर्व, रोल्पा र बर्दियामा केही क्षति नभएको र अन्य स्थानमा आगजनी र तोडफोडबाट लाखौं क्षति भएको छ । सबैभन्दा धेरै क्षति रुपन्देहीमा भएको र त्यहीँ प्रदेश, जिल्ला तथा नगरस्तरका धेरै कार्यालयहरु रहेको उनले बताए । क्षतिको विवरण संकलन गरी दोषीलाई कारबाही माग गरिने उनले बताए ।