भारतीय पत्रकारहरुमाथि अभद्र र दुर्व्यवहार गर्ने समूहको पहिचान गरी कारवाहीको माग


भैरहवा– सिमावर्ती भारतका पत्रकाहरुले जेनजी आन्दोलनका क्रममा नेपालमा समाचार संकलन गरेका भारतीय पत्रकारहरुलाई काठमाडौंमा भएको कुटपिट तथा दुर्व्यवहार गर्ने व्यक्तिहरुको पहिचान गरि कारवाहीको माग गरेका छन् ।
यस खालको कुनै पनि घटना भविष्यमा दोहोरिन नदिने प्रति सचेत रहन आग्रह गर्दै उनीहरुले सौहार्द बातावरण तयार गर्न पनि माग गरेका छन् । भारतको उत्तरप्रदेशस्थित प्रेस क्लव अफ महाराजगंजमा आवद्ध भारतीय पत्रकारहरुको समूहले पत्रकारहरुमाथि अभद्र व्यवहार गर्ने व्यक्तिमाथि कारवाहीको माग गरेका हुन् ।
सिमावर्ती नेपालको रुपन्देहीस्थित लुम्बिनी प्रेस क्लव मार्फत् नेपालको नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की समक्ष ज्ञापन दिँदै यस्तो कारवाहीको माग गरिएको हो । भारतीय पत्रकारहरुमाथि गरिएको त्यस खालको अभद्र व्यवहार दुर्भाग्यपूर्ण भएको र उक्त घटनाले भारतीय समस्त पत्रकारहरुमा आक्रोस थपिएको कुरा ज्ञापनपत्रमा उल्लेख छ ।
क्लवका अध्यक्ष अमित त्रिपाठीसहितका सिमावर्ती भारतीय पत्रकारहरुको समूहले लुम्बिनी प्रेस क्लवका अध्यक्ष कमल रायमाझीसहितको नेपाली पत्रकारको टिमलाई सुनौली–बेलहियास्थित सिमा नाकामा ज्ञापनत्रपत्र बुझाएका थिए ।
ज्ञापनपत्र बुझाउँदै प्रेस क्लव अफ महाराजगंज भारतका अध्यक्ष अमित त्रिपाठीले कुनै मुलुकमा पत्रकारहरुमाथि यस खालको अभद्र र दुर्व्यवहार हुन नहुने बताए । ‘कुनै पनि देशमा पत्रकारहरुमाथि हुने अभद्र व्यवहारका बिरुद्ध नेपाल–भारत दुवै देशका पत्रकार आपसमा एकजुट हुन जरुरी छ’, त्रिपाठीले भने, ‘कुनै पनि नेपाली पत्रकारलाई भारतमा रहेर समाचार संकलन गर्नु परेमा क्लवलाई अग्रिम जानकारी दिएमा ति पत्रकारको सुरक्षा व्यवस्था मिलाउन हामी तयार छौं ।’
नेपालमा जेनजी आन्दोलनका नाममा भएका विभिन्न हिंसात्मक घटनाबाट उत्पन्न असहज बातावरणको अन्त्य र आपसी सद्भावका लागि लुम्बिनी प्रेस क्लवको अगुवाइमा केही दिन अघि सिमा नाका बेलहियादेखि भैरहवासम्म निकालेको सद्भाव ¥याली अति प्रशंसनीय रहेको उनले बताए ।
‘आपसी सद्भाव र मित्रताका लागि लुम्बिनी प्रेस क्लवको अगुवाइमा निकालिएको सद्भाव र्यालीको भारत भरि प्रशंसा र चर्चा छ’, उनले भने, ‘यस खालका सकारात्मक कार्यमा नेपाल र भारत दुवै देशका पत्रकारहरु आपसमा सहकार्य गरेर अघि बढौं ।’
प्रेस क्लव अफ महाराजगंज भारतले बुझाएको ज्ञापनपत्र बुझ्दै लुम्बिनी प्रेस क्लव रुपन्देहीका अध्यक्ष कमल रायमाझीले समाचार संकलनका क्रममा भारतीय पत्रकारहरुमाथि नेपालमा भएको उक्त अभद्र तथा दुव्र्यवहार गलत र निन्दनीय रहेको बताए । ‘कुनै पनि पत्रकारहरुमाथि यस्तो घटना हुनु दुःखद र निन्दनीय हुन्’, रायमाझीले भने, ‘यस खालको घटनाको हामी पनि भत्र्सना गर्दै दोषीमाथि कारवाहीको माग गर्छौं ।’
प्रेस क्लव अफ महाराजगंज भारतले बुझाएको उक्त ज्ञापनपत्रले सम्बन्धित निकाय मार्फत् प्रधानमन्त्री समक्ष पुर्याइने प्रतिबद्धता उनले जनाए । आन्दोलन तथा बिरोध प्रदर्शन भइरहेको अवस्थामा कुनै पनि मुलुकका पत्रकार अर्को देशमा गएर समाचार संकलन गर्नु पर्दा पहिला सुरक्षाको बस्तुस्थिति बुझेर र एकअर्का देशका पत्रकारहरुसँग समन्वय गरेर जानु पर्ने सुझाव रायमाझीले दिए ।








प्रतिकृया दिनुहोस्