जेनजी प्रदर्शन रोकिएपछि बेलहिया हुँदै भित्रिन थाले पर्यटक


भैरहवा– मुलुकमा स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक भित्रिने रुपन्देहीको बेलहिया नाकाबाट जेनजी आन्दोलन रोकिएपछि पर्यटकहरु आउन सुरु गरेका छन् । बेलहियास्थित अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत नारायणप्रसाद पाण्डेले कार्यालयमा क्षति नभएकाले नियमित काम भइरहेको बताए ।
उनकाअनुसार जेनजी आन्दोलनका क्रममा मंगलबार कार्यालयको काम करिब दुई घण्टा मात्रै प्रभावित भएको थियो । त्यसपछि निरन्तर सेवा प्रवाह गरिरहेको उनले जानकारी दिए । ‘बैंकको सिष्टम नचल्दा राजस्व भुक्तानी इसेवाबाट गरेर भए पनि सेवा दिइएको छ’, उनले भने ।
कार्यालयका अनुसार आइतबार मात्रै करिब २ सय हारारहारी विदेशी पर्यटक बेलहिया नाका हुँदै नेपाल भित्रिएका छन् । यसरी नेपाल आउने पर्यटक सबैजसो श्रीलंकन छन् । उनीहरु बस लिएरै नेपाल आएका हुन् । श्रीलंकाबाट नेपाल घुम्न आएका पर्यटक गयन सन्दीपले नेपालमा शन्ति रहेकाले आफूहरु लुम्बिनी घुम्न आएको बताए । अध्यागमन कार्यालय र सीमा क्षेत्रमा सुरक्षाकर्मीबाट सहयोग पाएको भन्दै खुशी व्यक्त गरे । उनले नेपाल घुम्न आउन श्रीलंकनहरुलाई आग्रह समेत गरे ।
अध्यागमन कार्यालयका अनुसार सेप्टेम्बर महिनामा बेलहिया नाका हुँदै १ हजार ३ सय ७० पर्यटक नेपाल भित्रिएका छन् । जेनजी आन्दोलनका क्रममा पनि नेपाल भित्रिने र बाहिरिने पर्यटक निरन्तर थिए । बिहीबार भने नेपाल भित्रिने र बाहिरिने कुनै पर्यटक थिएनन् । अध्यागमनले सेवा निरन्तर संचालन भइरहेको र नेपालको अवस्था शान्तिपूर्ण वातावरणमा फर्किएकाले नेपाल घुम्न आउन पर्यटकहरुलाई आग्रह गरेको छ ।








प्रतिकृया दिनुहोस्