जेनजी आन्दोलनले सुनसान भैरहवामा फर्कियो चहलपहल


भैरहवा – रुपन्देही सदरमुकाम भैरहवामा चहलपहल फर्किएको छ । गत भदौं २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले गरेको तोडफोड र आगजनीका कारण बजार सुनसान बनेको थियो । मुलुकमा नयाँ प्रधानमन्त्री नियुक्त भएर अवस्था सामान्य बनेपछि आइतबार बिहानैबाट चहलपहल फर्किएको छ ।
जिल्ला प्रशासन कार्यालयले पनि शनिवार साँझ सूचना जारी गरेर अनिश्चिकालीन कर्फ्यू र निषेधाज्ञा हटाएपछि सामान्य वातावरण बनेको हो । आइतबार बिहान जिल्लाका बजार, स्वास्थ्य तथा शैक्षिकसंस्था र व्यापारिक प्रतिष्ठान खुलेका छन् । बिहानैदेखि जिल्लाका प्रमुख र भित्रि सडकमा ठूला र हलुका सवारी साधनको बाक्लो ओहोरदोहोर देखिन्छ ।
प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले सूचना जारी गरेर जिल्लामा शान्ति सुरक्षाको अवस्था सामान्य रहेकाले निषेधाज्ञा र कर्फ्यू आदेश हटाइएको जनाएका छन् । शनिवार दिउँसो निषेधाज्ञा जारी रहेका कारण मुख्य बजार क्षेत्रमा केही पसलहरु मात्रै खुलेका थिए । सहरका भित्रि र ग्रामीण क्षेत्रका अत्यावश्यक सामाग्रीका पशल र हाट बजारमात्र सञ्चालनमा रहेका थिए । प्रशासनले नै शान्ति व्यवस्था कायम रहेको सूचना जारी गरेर जनजीवन सामान्य बनाउन आह्वान गरेपछि स्थानीयले निर्धक्क आफ्ना पशल र प्रतिष्ठान सञ्चालन गरेका हुन् ।
करिब एक सातादेखि बन्द जिल्लाभरका विद्यालय पनि आइतबारबाट सञ्चालनमा आएका छन् । शनिवार साँझ प्याब्सन जिल्ला अध्यक्ष दीपक खनाल, नेशनल प्याब्सन अध्यक्ष बाबुराम बञ्जाडे र हिसान रुपन्देहीका अध्यक्ष कृष्णबहादुर न्यौपानेले प्रेस बिज्ञप्ती जारी गरेर विद्यालय सञ्चालनमा ल्याउन आह्हान गरेका थिए । मुलुकमा सिर्जित असामान्य परिस्थिति पश्चात शैक्षिक क्षेत्र प्रभावित भएकाले अभिभावक, विद्यार्थी, शैक्षिक समुदायको चासो र भविष्यलाई ध्यानमा राख्दै आइतबारदेखि नियमित रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको जनाएका छन् ।
रुपन्देहीको भैरहवा क्षेत्रमा तोडफोड र आगजनीका कारण क्षति पुगेको भैरहवा भन्सारले दुई दिनअघि अत्यावश्यक बस्तुको जाँचपास सुरु गरिसकेको छ । कप्युटर, दस्तावेज, फर्निचर लगायत महत्वपूर्ण सामाग्री जलेका कारण अस्थायी रुपमा सेवा सञ्चालनमा ल्याएको भन्सार प्रमुख शिवलाल न्यौपानेले बताए । त्यस्तै जिल्ला अदलातले पनि आइतबारबाट आंशिक रुपमा सेवा सुरुवात गरेको जनाएको छ । जिल्ला अदालतले आइतबार बिहान सूचना प्रकाशित गरेर संकुचित रुपमा सेवा सञ्चालनमा ल्याउनु पर्ने भएकाले आइतबारबाट म्याद थप, जरुरी पक्राउ पूर्जीको स्वीकृति, पक्राउ पूर्जीको अनुमति, बन्दी प्रत्यक्षीकरणको निवेदन र थुनछेक सम्बन्धि सेवामात्र उपलब्ध गराइने जनाएको छ ।








प्रतिकृया दिनुहोस्