यौनकथा: शुभरात्रि !


“निरोध… मलाई के हुन्छ कुन्नि जब राम्रा तरुनी केटीहरू देख्छु, देख्ने बितिक्कै मेरो मन चञ्चल हुनथाल्छ, एक प्रकारको छटपटी हुन थाल्छ, आफूलाई नियन्त्रण नै गर्न सक्तिनँ…”
हेर्दा र देख्दा त मेरो श्रीमान् सोझो हुनुहुन्थ्यो । शायद उहाँ यतिबेला फोनमा साथीसँग कुरा गर्नुभएको छ । फोन राख्ने बित्तिकै मैले आफ्नो असन्तुष्टि व्यक्त गरें, “तिमीले मसँग बिहे गरिसक्यौ । बिहे भन्दा अगाडि कोकोसँग के के गर्नुभयो ? कस्तो हुनुहुन्थ्यो ? तिम्रा कतिवटी गर्लफ्रेन्ड थिए मैले चासो राख्दिन । अब त तिमी मेरो श्रीमान् हौ । मेरो शिरको मान श्रीमान् । म तिम्रो श्रीमती हुँ । अलिकति सरम राख । मेरै अगाडि फोनमा केटीको बारेमा कुरा गर्न लाज लागेन ?”
“तिमी चिन्ता नगर न प्यारी, म केटीसँग बोलेको त होइन नि । त्यो फोनमा बोलेको साथी मेरो बच्चा देखिको लँगौटिया हो निरोध । म केवल स्त्रीहरूको सुन्दरताको मात्र प्रशंसा गर्छु । अरू त केही गर्दिन नि ! सौन्दर्यको प्रशंसा गर्दा के बिराएँ प्रिय ? केटीसँग फ्लर्ट गरेको होइन नि । म तिमीलाई मात्रै माया गर्छु । सम्बन्ध सयौंसँग होला तर माया केवल एक सँग मात्रै ।”
“सबै खराब पुरुषले बोल्ने भाषा एकै हुँदो रहेछ,” उहाँलाई काबुमा ल्याउन कराएँ ।
यति भन्न नपाउँदै मलाई चुम्बन गर्नुभयो, मायाले अँगालो हाल्नुभयो र फेरि म कमजोर भएँ । शान्त बनें भेल पछिको नदी जस्तै ।
हामीले एक महिनाअघि बिहे गरेका थियौं, तर ! केटीहरूको बारेमा उहाँले बोल्ने तरिका मलाई मन परिरहेको थिएन । यस्तो थियो कि त्यस्ता केटीहरूको कुरा र प्रसङ्गबाट उहाँ कहिल्यै पार पाउनुहुन्न । कहिलेकाही मसँगै बाहिर घुम्न निस्कँदा पनि उहाँको आँखामा वासनाको भोक ज्यादा देख्थें ।यो आदतको अगाडि म दिक्क भैसकेकी थिएँ । केटा हेन्सम देखेर बिहे गर्ने केटीहरूले दुख झेल्न पर्दोरहेछ ।
यतिसम्म कि बिहानको रङ्गिन पत्रपत्रिकामा छापिएका हिरोइनहरूका अर्धनग्न रङ्गिन तस्वीरहरू हेरेर भोकाएका आँखा देखेर उहाँप्रति मलाई दया लाग्छ । सोध्न थाल्नुहुन्छ, ‘हेर त यसको हट फिगर ? यसको कति राम्रो आँखा ? हेर त यो केटीको कोक जस्तो फिगर । हेर त यसको कति उठेको नितम्ब बाफ्रे यस्ता पो केटी त…’
कहिलेकाहीं भन्नुहुन्थ्यो, ‘मलाई केटीहरू हरियो खुर्सानी जस्तै लाग्छ । पिरो थाहा पाउन टोक्नैपर्छ भन्ने छैन । त्यसको सुगन्धित र स्वादिलो रागलाई वरिपरिको हावाले नै उडाएर ल्याउँछ हरर । त्यसको शारदीय स्वाद असाध्य मीठो हुन्छ ।’
कुरा लम्ब्याउनुहुन्थ्यो, ‘सेक्स अपिल नहुने केटीहरू त ‘बहिनी’ जस्तै हुन् ।’
यस्ता कार्यले गर्दा म बारम्बार रिसाउँथें र गाली गर्थें ‘राम्रोसँग व्यवहार गर, नत्र म तिमीलाई सम्बन्धविच्छेद गर्छु ।’
यसमा उहाँको एउटै जवाफ हुन्थ्यो, ‘प्यारी’, मैले त मजाक मात्र गरेको हुँ । तिमी मलाई शंका नगर । मलाई खुल्ला हावामा श्वास फेर्न देऊ । नत्र म निसास्सिन्छु ।
एकपटक हामी गाडीमा कलन्किको फ्लाईओभरबाट जाँदै थियौं । त्यहाँ एउटी सुन्दर युवतीले बाटो काटी । त्यो जेब्राक्रसिङ पनि थिएन । उसको त्यो लचकता र ढिँडपन देखेर पतिदेवले भन्न थाल्नुभयो- “काठमाडौंको सडकमा विभिन्न ठाउँमा मेरा तीर्थहरू छन्, किनभने जहाँ सुन्दर केटीहरू देख्छु, त्यहाँ म मर्छु ।”
मेरो रिसाएको आँखालाई नहेर्दै भन्नुभयो, “धेरै वर्ष पहिले यहाँबाट सितापाइला गइरहेको बेला मैले एउटा अचम्मको रूपवती केटी देखेको थिएँ । त्यसैले त्यो ठाउँ आजसम्म मलाई सम्झना छ ।”
मैले आफ्नो असन्तुष्टि व्यक्त गरिरहँदा उहाँले पुरानै फकाउने शैली अपनाउनु भयो । म नि फेरि पुरानो शैलीमा कमजोर भएँ ।
तर, हरेक केटीसँग प्रेम गर्ने उहाँको बानीले मलाई रीस उठाउँदै थियो । कमसेकम मसँग हुँदा त दोस्री केटीको कुरा नगरिदेओस् भन्ने चाहन्थे ।
एक पटक उहाँलाई हाम्रो जवान छिमेकी केटीसँग फ्लर्ट गरेको देखें । मैले गाली गरें र यसको ठूलो विरोध गरें, उनीहरूले मलाई फेरि उस्तै आदर र माया व्यक्त गरेर मेरो मनलाई शान्त पार्ने प्रयास गरे, तर मेरो मन उनीहरूप्रति दिन प्रतिदिन खल्लो हुँदै गइरहेको थियो ।
बिस्तारै अवस्था असहनीय बन्दै गइरहेको थियो । हाम्रो बिहे भएको डेढ महिना मात्रै बितेको थियो तर विगत १०-१५ दिनदेखि उहाँले मेरो शरीर छुनुभएको पनि थिएन । मेरा विवाहित साथीहरूले मलाई विवाहको पहिलो छ महिनासम्म उनीहरूको हनिमुन अत्यन्तै सम्झनायोग्य घटनाको रूपमा व्यक्त गरेको सम्झेकी थिएँ । यहाँ आफ्नो श्रीमानको भने यस्तो हविगत थियो । भित्रभित्रै दुखी थिएँ । श्रीमानको अस्वाभाविक चरित्रले मलाई दुखी बनाइरहेको थियो । उहाँमा कुनै कुरामा पनि एउटा गम्भीरता थिएन । जागीर पनि थिएन । केवल एउटा खाइलाग्दो शरीर थियो । त्यही शरीर देखेर होला ऊ प्रति लोभिएका केटीहरू । जसरी म लोभिएकी थिएँ ।
एक पटक म मध्यरातमा ब्युँझिएँ र उहाँको हरकत देखेर छक्क परें । आइप्याडमा पोर्न साइट खोलेर हेरिरहनु भएको रहेछ । आफैलाई लाज लाग्यो । उहाँको यो अस्वाभाविक चरित्रले मलाई अप्ठ्यारो महसूस भयो । कि मसँगै बसेर हेर्नुपर्यो । यस्तो कस्तो हेपाहा प्रवृत्ति हो मप्रति उहाँको ?
“म यहाँ हुँदा तिमी किन यो सब गर्दैछौ ? ममा के कमी देख्यौ ? के मैले तिमीलाई कहिल्यै ‘हुन्न, नाइँ’ भनेकी छु र ?” तपाईंदेखि तिमीमा उत्रिएँ म ।
“माफ गर दीपा, यो त्यस्तो होइन । म तिम्रो निद्रामा बाधा पुर्याउन पनि चाहन्नथें । टेलिभिजन कार्यक्रममा अस्ति भएको सुन्दरी प्रतियोगिता प्रसारण भएको थियो । त्यो हेरेपछि म अनियन्त्रित भएको थिएँ, र भित्रैबाट इच्छा हुन थालेको थियो । हाम्रो देशमा पनि यस्ता नाङ्गा फिगर प्रस्तुत गर्ने केटीहरू भएछन् है भनेर ताजुब लाग्यो । र आफूलाई धैर्य बनाउनै सकिन अनि पो यो सब गरेको ..”
“यदि तिमी जस्तै मैले पनि आफ्नो मोबाइलमा पोर्न साइट हेरेर यो सबै हरकत गर्न थाले भने, तिमीलाई कस्तो लाग्ला ?”
“हे दीपा तिमी सामान्य कुरामा झगडा गर्ने बहाना गर्दै छौ ।”
“तर, यो सानो कुरा हो त ?”
कहिलेकाहीं ऐनाको अगाडि उभिएर आफ्नो शरीरलाई हरेक कोणबाट हेर्छु म । आखिर ममा के कमी छ ? उहाँले मेरै सौन्दर्य देख्न सक्नु भएन बुझ्नुभएन कि आफ्नो पत्नीको अगाडि दोस्रीलाई प्रशंसा गर्नुहुँदैन भनेर ।”
बिहाको लागि पहिलो पटक मलाई हेर्न आउँदा मेरो सौर्न्दयबाट द्रवित हुनुभएको थियो ।
आमाले “मेरी छोरी मन पराइस्यो ?” भन्दा उहाँले “मन पर्दैमा मलाई दिनुहुन्न होला त आमा ?” भन्नुभएको थियो । अनि आमाको पोजेटिभ उत्तर सुनेर उहाँले तुरुन्तै बजार गएर हामी सबैलाई मीठाइ ख्वाएर घर फर्किनुभयो ।
त्यो रात मलाई निद्रा नै परेको थिएन । लाग्थ्यो जीवनसाथी चाहिं आफूले चाहेको जस्तो होस्, केयर गर्ने होस्, आहा ! भन्न पाइयोस्, मायामा डुब्न पाइयोस् । तर उसमा यी गुणहरू पक्कै छन् भन्ने सोचिरहेँ । उसको अनुहार असाध्य माया लाग्दो थियो । देख्नासाथ यही केटासँग बिहे भैदिए हुन्थ्यो भन्ने सोच आइहाल्यो । तर हिजोआज ती सबै सपना खोइ कहाँ गए ?
कहिलेकाहीं म आफै आफ्नो शरीरलाई ऐनामा हेर्छु । सलक्क परेका हातका औंला, सरक्क मिलाएर लाएको नेलपोलिस । चटक्क छाँटेको आँखी भौका रेखा । लामो नितम्बसम्म खसेको कालो कपाल जस्तो पहराबाट तल झरेको बेगमबेलीको लहरा । यी तिखा वक्षस्थल । यो पातलो शरीर । यो उठेको हिप । यसको चिल्लोपन त नयाँ झप्री केराको पात जस्तै सिरिक्क परेको छ । कमी नलाग्दालाग्दै पनि मेरो जीवन सुक्खा र निर्झर एक्लो पहाड जस्तै किन बनिरहेको छ ?
एकदिन शनिवार घरायसी सामान किन्न भनेर बजार गएकी थिएँ । मेरो मन ठीक ठाउँमा थिएन, शपिङ गरे भने मन भुलिन्छ बरु भन्ने सोच आयो । एक हप्तालाई पुग्ने तरकारी र अरू घरायसी सामान किनेर घरतिर फर्किंदै थिएँ । घर फर्किसकेपछि आफैले लगाएर निस्केको मूल ढाेकाको चाबी खोलें । ढोका खोल्नासाथ पाहुना कोठामा प्रवेश मात्रै के गरेको थिएँ मेरो त होश हवास सब गुम्यो । मेरो पोइको काखमा एकजना भर्खरैकी केटी बसेकी रैछ ।
मुखबाट कुनै शब्द पनि निस्किन सकेन । चूपचापले भान्सातिर गएँ । यो सपना हो कि जस्तो लाग्यो । सपना भैदिए पनि कत्ति खुसी हुन्थे..
मलाई देख्नेबित्तिकै उनीहरू डराए जस्तो गरे । त्यति कलिली केटी कसकी छोरी होलिन् ? मनमा सोचाइको भेल उर्लिन थाल्यो । शायद उहाँको पहिले देखिकै गर्लफ्रेन्ड हुनुपर्छ । रीस र अपमानले मेरा आँखा रसाउन थाले । मलाई चिच्याउन मन लाग्यो, बेस्सरी कराएर सबै छिमेकीलाई बोलाएर यी दुवैलाई प्रहरीमा जिम्मा लाइदिऊँ जस्तो नि लाग्यो । पति नामको प्राणीको अनुहार च्यात्न मन लाग्यो । थप्पड हान्न मन लाग्यो । कर्याककुरुक पारेर अनुहार कोपर्न मन लाग्यो । त्यो नाथी केटी किन आकि अर्काको घरमा ? लाज त त्यस्लाई पनि लाग्न पर्ने हो नि । म चट्याङ जस्तै बन्न चाहन्थें र तिनमा खस्न चाहन्थे ।
चिन्ताले सारा शरीर पोल्न थाल्यो । म नहुँदा हिजोअस्ति यो बाइफाले केटी आउँदी हो है । मेरो लोग्नेसँग सुतेर जाँदी हो । अब त मलाई सय प्रतिशत सत्य लाग्यो कि मेरो पोइ फुँ… हो । ज्वलन्त आगो बनेर ती दुईलाई त्यति नै बेला जलाउन चाहन्थें । यो पति नामक प्राणीबाट बदला लिन चाहन्थें । मलाई याद छ कि पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले आफ्नी श्रीमती हिलारी क्लिन्टनलाई धोका दिए र मोनिका लेविन्स्कीसँग रमाइलो गरेको । अनि खराब चरित्रका कारण रास्ट्रपति पदबाट बर्खास्त भएको । आइमाईले गति छाडी भने सबै पुरुष खरानी हुन्छन् । के सबै पुरुष समान रूपमा अविश्वासी छन् ? के ती सबैले आफ्नी श्रीमतीलाई धोका दिंदा रहेछन्..?
चिया डढेको गन्हाएपछि पति परमेश्वरको भान्सामा प्रवेश भो । अनुहारमा थुकूँ जस्तो लाग्यो । मुखभित्र थुक पनि जम्मा गरें । थुक्छु भनेर मुख मात्रै के खोल्दै थिएँ । हातमा लुकाएर रसबरी ल्याउनु भएको रहेछ “आ.. गर भन्नुभो,”
“लाज, घीन, इज्जत, कुल, संस्कार, खानदान केही नभएको जन्तु हो तपाईं ! अब तपाईंसँग यो घरमा बस्नु पनि छैन भन्दै साफ हपारें ।” मीठाइसिठाइ फाल्दिएँ । रीसले अगाडि केही देखिनँ । त्यसलाई भुत्ल्याउन भनेर बाहिर निस्कन के खोज्दै थिएँ उहाँले मेरो हातमा च्याप्प समातेर भन्नुभयो, “त्यस्तो पाप नसोच बिन्ती । ऊ त मेरी भान्जी हो । उस्को बिहे हुँदै छ । त्यही भएर खुशीयालीमा मीठाइ बोकेर आको ।”
“अनि त्यत्री ठूली भएकी भान्जीलाई किन काखमा लिएको त लाज लागेन अलिकति पनि ?”
“आफ्नै साख्य भान्जी त होइनन् क्यारे मावलीतिरकी भान्जी हुन् । हामी सानोमा स्कूल सँगै पढेका हौ साथी जस्तै ।”
“ए अनि त्यही भएर काखमा बोक्ने छुट मिलेको हो ?”
“धेरै किचकिच नगर न । धरोधर्म मेरो प्रेम, मेरो माया, मेरो विश्वास, त तिमी मात्र हौ दीपा ।”
यति सुनेपछि फेरि म उहाँको मायाले कमजोर भएँ । पग्लिएँ । अघिको रीस खै कता गो, बिर्सिएँ । घटना सपना मै टुङ्गियो जस्तो प्रतीत भयो । म बाहिर बैठक कोठामा निस्किएँ । तर त्यो भान्जी भनौदी निस्किसकेकी रहिछ । अब मलाई झनै शंका लाग्यो ।
– – – – –
जिन्दगीको भोगाइबाट बाहिर निस्कँदा मेरो जीवन एउटा पेचिलो धागो जस्तै बनिसकेको थियो । धैर्यताको बाँध टुट्दै गइरहेको थियो । कताकता आफू एक्लिंदै गइरहेको जस्तो लाग्यो । अब म उनीहरूलाई बदला लिन चाहन्थें । मेरो आँखै अगाडि मेरो लोग्नेको काखमा निर्धक्कले बसेर मलाई च्यालेन्ज दिएको जस्तो लाग्यो । केही दिनदेखि म यही पीडाले बेचैन थिएँ ।
मेरो श्रीमानको आदत उस्तै हो । अब त उनी मलाई काम परेर बाहिर गए भने पनि त्यही भान्जी भेट्न गए जस्तो लाग्न थाल्यो । भित्रभित्रै चिन्ताले गल्दै गैरहेकी थिएँ ।
जागीर नभएको मेरो श्रीमान् अब त बिहानदेखि बेलुकीसम्म व्यस्त हुन थाल्नुभयो । उनीहरूको बीचमा यदि पवित्र सम्बन्ध थियो भने ऊ किन भाग्नुपरेको थियो । एकाएक श्रीमान् बदलिएपछि म मात्रै किन सती सावित्री बनिरहूँ ?
त्यही काम पुरुषले गर्दा पुरुषार्थ हुने अनि त्यही काम स्त्रीले गरिन् भने वेश्या हुने ? यो कस्तो विभेदना हो समाजको ?
चार्जमा राखिएको उसको मोबाइल बजेपछि चियाएँ । “असाध्य बोरिङ भैराछ एक दिन कतै बाहिर गएर बसुम् हामी” भन्ने मेसेज देखेसी टाउको दुख्यो । केही बोलिन ।
उहाँ खाना खाएर मोबाइलमा हराउनु भयो । त्यसपछि बाहिर निस्कँदै भन्नुभो, “दीपा आज बाहिर काम छ बेलुकी नआउन पनि सक्छु ।”
चूपचाप भान्सातिर गएँ । जवाफ फर्काउन मन पनि लागेन । उद्देश्य र सपनाहरू शिथिल बन्न थाले ।
दिनभर घरमा एक्लै भएँ ।
साँझपख मेरो फेसबुकमा एउटा केटाको फ्रेन्ड रिक्योस्ट आयो । उसको प्रोफाइलतिर एकछिन ढुलें । केटा पढे लेखेको राम्रो लाग्यो । नाम रहेछ ‘राज शाही’ । कताकता मन लोभियो । आफूभित्र खोइ अर्कै गुदगुदी नाच्न थाल्यो । शाही खानदानको केटा रहेछ । विपरीत लिङ्गको आकर्षणलाई मान्यता दिंदै फ्रेन्ड रिक्योस्ट स्वीकारें । स्वीकारेको पाँच मिनेटपछि धन्यवाद आदानप्रदान भयो ।
– – – – –
एकदिन बजारबाट आउँदै थिएँ । गल्लीमा राजलाई देखें । फेसबुकको हेन्सी केटो । जोसँग विगत केही दिनदेखि मेसेन्जरमा हाम्रो कुराकानी भैरहन्थ्यो । छिमेकको भाडामा बस्दो रहेछ । खाइलाग्दो जवानीले भरिएको कलिलो युवक उससँग भेट्दा यो अतृप्ति मन धेरै खुशी भयो । कुराकानी शुरू भयो । भई नै रह्यो । यसरी हामी एकअर्काको अनीबानीसँग परिचित भयौं । म बढीभन्दा बढी आकर्षित हुँदै गएँ ।
कहिलेकाहीं नुहाएर कपाल सुकाउन टेरेसमा जान्छु, मलाई मायालु नजरले एकोहोरो हेरिरहेका हुन्थे । मन त्यसैत्यसै प्रफुल्लित हुन्थ्यो ।
“तपाईंको अनुहार असाध्य फोटोजेनिक छ । मोडलिङ किन नगर्ने ?” दोस्रो भेटमा फोटोग्राफर राजले भनेका थिए । ऊ मेरो प्रशंसा गर्न थाक्दैनथे । शुरूमा अप्ठ्यारो लागे पनि चाँडै यो खोलाको धारामा आफैलाई बगाएँ । श्रीमान् बाहिर जाँदा राजसँगै उनको स्टुडियो जान्थें । राजले ममा त्यस्तो आकर्षण के पाए कुन्नि मलाई मोडलिङ बन्न असाध्य कहर गरे र दुईचारवटा फोटो सुट गरे । राम्रो मोडलिङ असाइनमेन्ट पाउनको लागि राम्रो पोर्टफोलियो आवश्यक रहेको बताए ।
त्यो फोटो एउटा होजियारी कम्पनीको साहूले आफ्नो ब्रान्डमा लोगो बनाएर प्रयोग गरेछन् । मेरो फोटो प्रयोग गरेबापत मैले बीस हजार रोयल्टी समेत पाएँ । जिन्दगीमा आफ्नो अनुहारको मूल्य पाएको दिन म सबैभन्दा खुशी थिएँ । अनुहार पनि यसरी बिक्री हुँदोरहेछ भनेर मलाई जिन्दगीमा पहिलो पटक थाहा भो । “हजुरका तस्वीरहरू धेरै राम्रा छन्,” राजले प्रायः यही भनेर मलाई फुर्क्याइरहन्थे । आफ्नो लोग्नेले सधैं अर्कै केटीहरूको प्रशंसा गरेको सुन्दा सुन्दा अवाक् भएकी म कहिलेकाहीं पर-पुरुषबाट आफ्नो बारेमा राम्रो कुरा सुन्न पाउँदा एक प्रकारको अर्कै आनन्द लाग्दोरहेछ । अब बिस्तारै म बाँच्नुपर्छ । मेरो अमूल्य जीवन बाँकी छ भन्ने लाग्यो । झन्डै झन्डै डिप्रेशनमा जान लागेकी म राजले बचाए ।
मेरो पति नियमित बिहान नौ बजे निस्की बेलुकी प्रायः अबेर आउनुहुन्छ अचेल । उहाँको यो समय तालिकाले मलाई एक प्रकारको मुक्त मिल्यो । मैले निभाउनु पर्ने एक पत्नीको भूमिका निभाइरहें । कर्तव्यबोध त मलाई छँदै छ। दिनभरी के गरेर बस्छौ समय कसरी बितिरहेछ भनेर कहिल्यै सोध्नुभएन र मलाई पनि भन्नुपर्छ भन्ने लागेन । हामी क्रमशः टाढिंदै गयौं ।
राजलाई कहिलेदेखि माया गर्न थालें थाहा नै भएन । उनको काखमा सुत्ने इच्छा हुन्थ्यो । जब म उनको नजिक हुन्छु, उसको शरीरको गन्धले मलाई मोहित बनाइदिन्छ । मन अनियन्त्रित हुन थाल्यो । चाहनाहरू उठ्न थाले । यस्तो अवस्थामा जाँदै गर्दा जब उसले मलाई नग्न (न्यूड) मोडलिङको प्रस्ताव राखे, मैले बिना कुनै हिचकिचाहट हुन्छ भनिदिएँ । उनका सबै कुरा मान्न मन लाग्छ ।
त्यो दिन नुहाएर तयार भएँ । सुगन्धित अत्तर लगाएँ । मैले एक दिन अघि नै राम्रो ब्यूटी पार्लरबाट फेसियल, मैनीक्योर, पेडीक्योर, ब्लिचिङ आदि गराएकी थिएँ । मोती झुम्का र नक्कली हीराको हार लगाएको थिएँ । सौन्दर्य के हो यो बिचमा मलाई राजले सबै तालीम दिइसकेका थिए ।
श्रीमान् र राजमा तुलना गरेर हेर्छु । धेरै भिन्नता पाउँछु । पुरुष जात एकै हो । बिचार कति फरक छ । राम्रो शरीरभित्र कुरूप विचार भो भने त्यो शरीर हीरा जस्तै सुन्दर भएर पनि के काम ? राजलाई मन पर्ने लुगा लगाएर शुटिङ स्टुडियो पुगें ।
राज पनि त्यो दिन खुब सुन्दर, गुलाबी रंगको शर्ट र कालो प्यान्टमा ऊ कति राम्रो र कामुक देखिएका थिए ।
“तपाईं एकदमै राम्री देखिनु भएको छ,” उसले हाँसेर भने । यो सुनेर मभित्र सयौं सूर्यमुखी फूल फुलिदियो । सारा शरीरमा रोमाञ्चकता सञ्चारित भयो ।
फोटो सेसन राम्रो भयो । राजको अगाडि टपलेस हुन मलाई कुनै सङ्कोच थिएन । उसले मेरो शरीरलाई हेरिरहेको थियो । क्यामराको सयौं सर्टहरूमा उनले मलाई बेहिसाब कैद गरे । उनको इशारा, उनको सिकाइ, उनको कोमल बोली र विचारले मेरो यो नग्न फोटो सुट पूर्ण सफल भैसकेको महसुस गरे । यो दुई घण्टाको सुटमा उसले मेरो बढी टच गरेन तर मैले भने उनको कोमल छुवाइ चाहिरहेको थिएँ । शरीरले अर्कै खोजिरहेको थियो । मैले भित्रभित्रै अर्कै स्वप्निल जगतको कल्पना गरिरहेकी थिएँ । फोटो सेसन सकिएपछि फलामे चुम्बकमा अर्को फलाम टाँसिएझैं म राजतिर तानिएँ । मेरो मुटु छिटो धड्किरहेको थियो । मैले उनको हात समाएँ ।
“होइन दीपाजी, यो ठीक होइन । मैले तपाईंलाई त्यो नजरले कहिल्यै हेरेको छैन । हाम्रो सम्बन्ध व्यावसायिक मात्रै हो । सबै सम्बन्ध त्यस्ता हुन्नन् जे हामी कल्पना गर्छौं । मेरो स्टुडियोमा कयौं महिला मोडलहरू आउँछन् । आफू मोडल हुने मनोकांक्षा पूरा गर्छन् । कोही मोडलमा सफल हुन्छन् । उचाइ छुन्छन् । कत्तिले त फिल्ममा काम गर्ने अवसर पनि पाउँछन् । यो त एक प्रकारले स्कूल जस्तै हो । यहाँ अपरचुनीटि पाउँछन् र त आउँछन् । सबै जना मेरो आकर्षकपन, मेरो हेन्सिपन र मेरो मादकतामा हराए भने, मेरो पेशा पनि मर्यो र उनीहरूको भविष्य पनि सक्कियो । प्रेम र रोमान्सले अगाडि बढ्ने बाटो नै रोकिदिन्छ दीपाजी । हो एउटी अविवाहित स्त्रीका लागि त त्यो ठिक पनि होला तर तपाईं त विवाहित हुनुहुन्छ ।”
राजले मुटुमा कोपरे जस्तै लाग्यो । के सोचेर आएको थिएँ घरबाट के भयो अहिले । सबै चाहना एकाएक सेलायो ।
‘…तर राज ! मलाई लाग्थ्यो – तिमीले पनि मलाई चाहिरहेको हो । अनि आज किन पर ?’ गनगन गरें ।
“दीपाजी मलाई गलत नबुझ्नू । तपाईं धेरै सुन्दर हुनुहुन्छ । र मन पनि उत्तिकै सुन्दर छ । तर मेरो लागि तपाई एउटी सुन्दर मोडल मात्र हौ । म अरू कुनै सम्बन्धका लागि तयार छैन । र मसँग पहिले देखि नै एक प्रेमिका छिन् जसलाई म चाँडै बिहे गर्न जाँदैछु,” राजले भने ।
लुगा लगाएर हिँड्न थालेपछि राजले मेरो हात समातेर रोके । मलाई पारिश्रमिक दिए खाममा हालेर । उनले स्टुडियोमा राखिएको फूलदानीबाट पहेँलो गुलाब निकालेका थिए । पहेँलो गुलाब मेरो कपालमा राख्दै भने, “दीपाजी, पहेंलो गुलाब मित्रताको प्रतीक हो । हामी असल साथी बन्न सक्छौं ।”
राजको कुरा सुनेर म छक्क परें । कपालमा सिउरिदिएको त्यो पहेँलो गुलाब लिएर, म मेरो पुरानो संसारमा फर्किएँ …
– – – – –
त्यो रात, धेरै महीनापछि, जब श्रीमानले मलाई मायालु चुम्बन गर्नुभयो र आफैलाई सुधार गर्ने वाचा पनि । म पग्लिएँ र उहाँको अँगालोमा परें ।झ्याल बाहिरको रातको आकाशमा रंग बदलिरहेको थियो । चिसो हावा झ्यालबाट कोठाभित्र पसिरहेको थियो । मेरो पूरै शरीर मीठो उत्साहले भरिन थाल्यो । शरीरका अंगहरूमा मायालु म्वाइँ खानुभयो । म बगिरहेको पहाडी खोला जस्तै बनें ।
त्यसपछि … त्यहाँ केवल पतिपत्नी बिचको मायाको ह्यांओभर थियो । र उसको छातीको कपालमा म आफ्ना औंलाहरू चलाउँदै गर्दा, “मलाई कहिल्यै धोका नदिनू है भन्न पुगेछु ।” कोठाको एउटा कुनामा माकुराले आफ्नो टुटेको जालो बुनिरहेको थियो ।
रातभर बूढाबूढी मस्तले निदाइएछ । भोलिपल्ट बिहान तरकारी किन्न निस्कँदा राजसँग एउटी केटी देखें । नजिकै पुग्दा त्यही भान्जी, जो मेरो श्रीमानको काखमा देखेकी थिएँ । र उनी त्यो दिन मबाट भागेकी थिइन् । मलाई सङ्कोच लाग्यो ।
राजले चिनाउँदै भने, “उहाँ मेरो हुनेवाला भविष्य ।” मैले नमस्ते फर्काएँ । र हतारमा सब्जी किनेर कोठामा फर्किएँ ।
खोइ के हो के हो बुझ्नै सकिनँ जिन्दगीलाई ? यहाँ कतै पनि सरलता देख्दिनँ । जेरि जस्तै छ जिन्दगी । जताततै जेलिएको । मेरो श्रीमानको काखमा भेटिएकी ती बहिनी राजको हुनेवाला भविष्य ? यो कसरी सम्भावना ? कसरी सकेकी होलिन् आफ्नो बोइफ्रेन्ड हुँदाहुँदै मेरो श्रीमानको काखमा बस्न ? फेरि म ? राजप्रतिको मेरो एकतर्फी आकर्षण पतिसँग बदला लिने इच्छाको परिणाम मात्र हो ? बिनाउत्तर रन्थनिएँ । आफैलाई सम्हालें ।
– – – – –
यो घटना भएको एक वर्ष बितिसक्यो । तर मैले बिर्सन सकिनँ । राज भाडाको घर छोडेर कतै गैसकेका थिए । त्यस दिनदेखि मैले राजलाई भेटिनँ । तर अहिले पनि जब पहेंलो गुलाब देख्छु, म काँप्छु । एकपल्ट मैले आफ्नो छतको गमलामा पहेंलो गुलाब राख्ने हिम्मत जुटाएकी थिएँ, मेरा हातहरू नराम्ररी काँपेका थिए ।
‘धन्यवाद राज ! मैले तिम्रो असल क्यारेक्टरबाट सिक्ने मौका पाएँ । यदि पुरुष खराब हुन्थ्यो भने तपाईंले मबाट फाइदा लिन सक्नुहुन्थ्यो…’
यही सोचिरहँदा छेउमा मेरो श्रीमान् कोल्टे फर्केर निदाउनु भएको थियो । उहाँको घुराइले अलिक निद्रा खल्बलियो मेरो । उहाँलाई मेरो तर्फ फर्काएँ । दायाँ हात तानेर मेरो शिर राखें । एकछिन निद्राले लट्ठ बनाउँदै लग्यो । मेरो पुराना चिन्तालाई म पनि अब यही बिसाउँछु । शुभरात्री..
–sahityapost








प्रतिकृया दिनुहोस्