September 10, 2025, Wednesday
२०८२ भाद्र २५ बुधबार

मुलुकभर आज जेन–जीको प्रदर्शन

भैरहवा– भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा जेन–जी पुस्ताले सोमबार मुलुकभर डिजिटल हुँदै सडकमा बिरोध प्रदर्शन गरेका छन् । सोमबार बिहान ९ बजेदेखि काठमाडौँको माइतीघर, पूर्वको विर्तामोड, पोखरा, बुटवल र दाङमा प्रदर्शन गरेका छन । पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा ‘नेपो किड’, ‘नेपो बेबिज’ ट्रेन्डमा थियो ।

Advertisement

सरकारले सामाजिक सञ्जालका केही प्लाटफर्म बन्द गर्ने निर्णय गरेसँगै यो ट्रेन्डले झन् धेरै गति लिएको हो । ‘टिकटक’, ‘रेडिट’ जस्ता सामाजिक सञ्जालबाट फैलिएको यो ट्रेन्ड सडक प्रदर्शनमा पुगेको छ । काठमाडौं जिल्ला प्रशासनका अनुसार ‘हामी नेपाल’ नामक संस्थाले प्रदर्शनका लागि अनुमति लिएको छ ।

संस्थाका अध्यक्ष सुदन गुरुङका अनुसार पछिल्लो समय सरकारले चालेको कदम र भ्रष्टाचारविरुद्ध यो प्रदर्शन गरिएको हो । उनका अनुसार काठमाडौंसँगै देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । उनीहरूले प्रदर्शन कहाँबाट सुरु गर्ने, कसरी सुरक्षित हुनेलगायतका टिप्सहरू सामाजिक सञ्जालमार्फत सम्प्रेषण गरिरहेका छन् ।
विद्यार्थीलाई ड्रेस र पुस्तक नै बोकेर सडकमा उत्रिन पनि संस्थाले आह्वान गरेको छ । त्यस्तै रुपन्देहीको बुटवलमा प्रदर्शनका लागि सामाजिक सञ्जालमा आह्वान गरिएको थियो । बुटवलमा बिहानैदेखि उनीहरूले प्लेकार्ड र नारासहित प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरूले ‘मलाई बोल्न दे सरकार’, ‘नेताका छोराछोरी विदेश पढ्छन्, जनताका रातदिन पसिना चुहाउँछन्’ लगायतका नारा लगाएका थिए ।

सरकारले सामाजिक सन्जाल बन्द गराएको विरोधमा जेनजीले दाङको घोराहीमा पनि प्रदर्शन गरेका छन् । राष्ट्रिय झण्डासहित सडकमा उत्रिएका युवाहरुले ‘सामाजिक सन्जाल बन्द गरेर भ्रष्टाचार लुक्दैन’ लेखिएको ब्यानर बोकेका छन् । उनीहरुले भ्रष्टाचार र अव्यवस्था विरुद्ध लेखिएका विभिन्न प्लेकार्ड समेत बोकेका छन् । प्रदर्शनमा सहभागीहरुले बजार परिक्रमा गरेका छन् । उनीहरुको प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।