निजामती सेवालाई जनउत्तरदायी र समयसापेक्ष बनाउन प्रयासरत छौंः मुख्यमन्त्री आचार्य


दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजामती सेवालाई प्रविधिमैत्री, जनउत्तरदायी र समयसापेक्ष बनाउन लुम्बिनी प्रदेश सरकार निरन्तर प्रयासरत रहेको बताएका छन् । प्रदेश निजामती सेवा दिवसको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले निजामती सेवाको गौरवलाई अझ उचाइमा पुर्याउनुपर्नेमा जोड दिएका छन् ।
वि.सं. २०१३ भदौ २२ गते जारी भएको निजामती सेवा ऐन आज ६९ वर्ष पुगेको प्रसंग स्मरण गर्दै मुख्यमन्त्री आचार्यले यस अवधिमा राजनीतिक आन्दोलन, शासन प्रणालीका परिवर्तन र संरचनागत चुनौतीबीच पनि निजामती सेवा राज्यको मेरुदण्ड र जनसेवाको आधारस्तम्भ बनेको उल्लेख गरेका छन् ।
संघीयता कार्यान्वयनसँगै संघ, प्रदेश र स्थानीय तहमा निजामती सेवाको भूमिका अझ व्यापक भएको बताउँदै उनले प्रत्यक्ष रूपमा सेवा प्रवाहमा समर्पित सम्पूर्ण निजामती कर्मचारीप्रति उच्च सम्मान प्रकट गरेका छन् ।
लुम्बिनी प्रदेश सरकारले कर्मचारी व्यवस्थापन र वृत्ति विकासलाई स्पष्ट र व्यवस्थित बनाउँदै सेवाप्रवाहलाई चुस्त, पारदर्शी र जवाफदेही बनाउन निरन्तर पहल गरिरहेको मुख्यमन्त्री आचार्यले जनाएका छन् ।
शुभकामना सन्देशमा उनले सम्पूर्ण निजामती कर्मचारीलाई ज्ञान, सीप र इमानदारीसहित सकारात्मक सोचका साथ जनसेवामा समर्पित हुन आह्वान गरेका छन् । साथै, उज्ज्वल भविष्यको शुभकामना पनि व्यक्त गरेका छन् । लुम्बिनी प्रदेशमा निजामती सेवा दिवसको सन्दर्भमा विभिन्न कार्यक्रमहरु गरिएका छन् ।








प्रतिकृया दिनुहोस्