June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

भारतका प्रधानन्यायाधीश गवईद्वारा लुम्बिनी भ्रमण

Advertisement

लुम्बिनी– भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । शनिबार उनले लुम्बिनी भ्रमण गरेका हुन् । लुम्बिनी भ्रमणमा आएका प्रधानन्यायाधीश गवईलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, सदस्यसचिव सानुराजा शाक्य, कार्यकारी सदस्य श्याम रोक्का, वरिष्ठ प्रशासन प्रमुख ज्ञानिन राईसहित कोषका कर्मचारीहरूले स्वागत गरेका थिए ।

Advertisement

भ्रमणका क्रममा गवईले लुम्बिनी क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्वबारे जानकारी लिएका थिए । उनले मायादेवी मन्दिर परिसरमा पुगेर बुद्ध अवलोकन गर्दै शुत्रपाठ गरेका थिए । साथै, विश्व शान्ति, मानव कल्याण, नेपालको प्रगति र भारत–नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ होस् भन्ने कामना गर्दै दियो प्रज्वलनसमेत गरेका थिए ।

लुम्बिनी भ्रमणपछि गवईले लुम्बिनी विकास कोषका पदाधिकारीहरूसँग गुरुयोजना र हाल सञ्चालनमा रहेका विकास–निर्माणका गतिविधिबारे चासो राखेका थिए । उनले लुम्बिनीलाई अन्तर्राष्ट्रियस्तरमा थप प्रचार–प्रसार गर्न नेपालले गरेको प्रयासको प्रशंसा गर्दै यस क्षेत्रमा भारतको सहकार्य निरन्तर रहने विश्वास पनि व्यक्त गरे ।

प्रधानन्यायाधीश गवई नेपालमा आयोजना हुने ‘नेपाल–इन्डिया जुडिसियल डाइलग’ कार्यक्रममा सहभागी हुन आएको अवसरमा लुम्बिनी आएका हुन् । उक्त कार्यक्रममा नेपाल र भारतका न्यायाधीश तथा विधिवेत्ताबीच आपसी अनुभव आदान–प्रदान, न्याय क्षेत्रका चुनौती तथा सम्भावनाबारे छलफल गरिएको थियो ।

प्रधानन्यायाधीश गवईको यस भ्रमणले लुम्बिनीमार्फत नेपालको पर्यटन, साँस्कृतिक र धार्मिक महत्व अझै उच्चस्तरमा पुग्ने विश्वास लुम्बिनी विकासकोषले व्यक्त गरेको छ । भारतको न्यायपालिकाको सर्वोच्च जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो नेपाल यात्रा हो । उनले लुम्बिनी आगमनलाई विशेष आध्यात्मिक अवसरका रूपमा लिएको जनाए ।