रूपन्देही–३ मा देखिएको ‘बहुविवाह संयोग’


भैरहवा– अहिले जताततै रुपन्देही–३ को उपनिर्वाचनबारे चर्चा छ । २०८४ अगाडि उपनिर्वाचनको अड्कल थिएन । तर, यसअघि निर्वाचित राप्रपाका सांसद दीपक बोहराको निधनसँगै उपनिर्वाचन तोकिएको हो । यो उपनिर्वाचनमा २०७९ सालको निर्वाचनमा जस्तो प्रमुख दलका उम्मेदवारबारे बहस भइरहेको छैन । नयाँ दल र उम्मेदवारमा नयाँ अनुहारको उपस्थितिले रोमाञ्चक बनिरहेको छ ।
यसपालीको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नागरिक र प्रतिष्पर्धीले चासोका साथ हेरिरहेका छन् । उक्त पार्टीले उम्मेदवारी चयनका लागि अपनाएको आन्तरिक छनोट प्रणालीदेखि नै मतदाताले को उम्मेदवार घोषणा हुन्छ भनेर हेरिरहेका थिए । गत आइतबार पार्टीले ९ जना प्रतिष्पर्धीबाट न्युरोलोजिष्ट डा. लेखजंग थापालाई उम्मेदवार घोषणा गर्यो । आफ्नो क्षेत्रमा कहलिएका चिकित्सक उम्मेदवार चयन हुँदा धेरै आशाबादी बनेका छन् ।
तर, रुपन्देही–३ बाट उम्मेदवार बन्ने चर्चित व्यक्तिबीचको एउटा संयोगले रास्वपा उम्मेदवार थापालाई पनि पछ्याएको पाइयो । गत निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका बालकृष्ण खाँणका बारे विभिन्न संचारमाध्याममा एउटा प्रसंगले चर्चा पाएको थियो । त्यो प्रसंग बहुविवाहको थियो । खाँणले बहुविवाह गरेको र दूबै पत्नीसँगै बसिरहेको आसयको खबर थियो ।
उक्त निर्वाचनमा एमालेको सहयोगमा राप्रपाबाट उम्मेदवार बनेका दीपक बोहराका पनि दुई पत्नी छन् । यद्यपी बोहरा स्वर्गीय भइसकेका छन् । यसपटक बोहराका दुबै पत्नीपट्टिका छोरा गौरब र प्रज्वल उम्मेदवारका आकांक्षी छन् । प्रज्वलले त आफू उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् ।
यो त भयो पुरानो प्रसंग । यसपटक युवा, दक्ष चिकित्सक भनेर चिनिएका डा. थापाले पनि बहुविवाह गरेको र दुबै पत्नीसित बसिरहेको खबर सार्वजनिक भएपछि धेरै मतदाता आश्चर्यमा परे । धेरैले यसलाई अस्वभाविक ठानेर बिरोध गरे । कतिले मजाक बनाए । कागजी प्रमाणबाट पनि नयाँ पार्टीबाट नयाँ उम्मेदवार बनेका थापाले एकै वर्ष दुईवटा विहे गरेको र लामो समय दुबै पत्नीसित बसेको देखिन्छ । विवाह गरेको ९ वर्षपछि मात्रै एउटा पत्नीसित कानुनी रुपमा सम्बन्धविच्छेद गरेको पाइएको छ । नयाँ पुस्ताका उम्मेदवारको पारिवारिक विवरणले धेरैलाई आश्चर्यचकित तुल्याएको छ । अहिले बजारमा यही विषयमा टिकाटिप्पणी भइरहेका छन् ।
रास्वपा उम्मेदवार थापाको बहुविवाहबारे बजारमा मिश्रित प्रतिक्रिया सुन्न पाइन्छ । धेरैले ‘चकलेटी, ह्यान्डसम र कुरामा जादू’ भएका थापा पहिलेदेखि ‘लभ अफेयर’मा खप्पिस रहेको बताउँछन् । त्यसको परिणाम थापाले २०७० सालमा चितवनबाट दुबै पत्नी साथै गृहजिल्ला ल्याएको सुनाउँछन् । चितवनमा रहेका तर उनलाई नजकबाट चिन्ने व्यक्तिहरुका अनुसार थापा र पत्नी सुलोचना घिमिरेबीच धरानमा अध्ययन गर्दादेखि मायाप्रेम थियो । त्यहीबीच चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उच्चतहको अध्ययनका क्रममा स्थानीय नुमा शर्मासित प्रेम बस्यो ।
स्थानीयका अनुसार नुमा गर्भवती भएपछि थापाले उनीसित ‘कोर्ट म्यारिज’ गरेका थिए । त्यसपछि घिमिरेसित सामाजिक परम्परा अनुसार विहे गरेका थिए । दुबैसित २०७० सालमै बिहे भएको देखिन्छ । ‘धेरै विहे गरेर भए पनि कार्यकर्ता अभाव पूर्ति गर्न खोजेका हुन की,’ रुपन्देहीकै एक नेताले थापाप्रति व्यङ्ग्य गरे, ‘प्रचारप्रसारमा दायाँवायाँ श्रीमती लिएर हिड्ने त होला ।’
भैरहवाकै एक व्यक्तिले रुपन्देही–३ बाट बहुविवाह गरेकाले मात्रै उम्मेदवार हुने र चुनाव जित्ने संयोग देखिएको बताए । ‘रुपन्देही ३ बाट उम्मेदवार हुनेको बहुविवाह हुने यो कस्तो संयोग होला,’ उनले भने, ‘बहुविवाह बर्जित भएकाले यहीबेला नेताहरुकै लागि कानुन खुकुलो बनाउन खोजिएको देखियो ।’
डा.थापा कानूनी रुपमा अहिले दुई श्रीमतीको पती होइनन्, उनले नुमा शर्मासँग सम्बन्धविच्छेद गरिसकेका छन् । यसले गर्दा उनलाई कुनै झमेला पर्ने देखिन्न । तर, रुपन्देही–३ यस्तो संयोगको जिल्ला पर्यो, जहाँ स्वर्गीय दीपक बोहरा र बालकृष्ण खाँणले दुई श्रीमती विवाह गरेका छन् । उनीहरु आआफ्नो पार्टीमा शक्तिशाली मानिन्छन्, यसपटक रास्वपाबाट पनि उम्मेदवार बनेका डा.थापाले दुई विवाह गरेका छन् । हाल उनी कानूनी रुपमा भने एउटा श्रीमतीसँग मात्रै छन् ।








प्रतिकृया दिनुहोस्