September 10, 2025, Wednesday
२०८२ भाद्र २६ बिहीबार

नेतृत्व विकास र समाजसेवामा छाप बसालीरहेको जेसीआई सिद्धार्थ नेपाल

भैरहवा– जेसीआई सिद्धार्थ, नेपाल स्थापना भएको ५० वर्ष पूरा भएको छ । ‘स्वार्थ भन्दा माथि सेवा’ भन्ने उद्देश्यले स्थापना भएको संस्थाले ५० वर्ष पूरा भएको अवसरमा स्वर्णजयन्ती महोत्सव मनाउन सुरु गरेको छ । भैरहवा क्षेत्रका सयौं युवाहरुलाई नेतृत्व र व्यक्तित्व विकासमा योगदान गरेको यो संस्थाले विभिन्न सातवटा कार्यक्रम गरी स्वर्णजयन्ती महोत्सव मनाउन सुरु गरेको अध्यक्ष अर्जुन कुँवरले बताए ।

Advertisement

‘यो संस्थाले ५० वर्षमो इतिहासमा धेरै मानवीय सेवा गरेको छ । गरिब तथा विपन्न, असाहयलाई आर्थिक तथा आवश्यक खाद्यान्न र लत्ताकपडा सहयोग गरेको छ’, उनले भने, ‘बृक्षारोपण, रक्तदान र स्वास्थ्य शिविर पनि संचालन गरेका छौं ।’ अध्यक्ष कुँवरले मानवीय सेवालाई पहिलो प्राथमिकता राखेर युवाहरुलाई क्षमतावान बनाउने काममा जेसीआई सिद्धार्थ नेपाल लागिरहेको जनाए ।

महोत्सव अन्तर्गत शनिबार (भदौ १४ गते) स्वर्णजयन्तीका कार्यक्रम शुभारम्भ भएको छ । २८ गते समापन गरिने महोत्सव अन्तर्गत विविध कार्यक्रम समेटिएको छ । कार्यक्रम शुभारम्भको अवसरमा दुईजनालाई ह्वील चियर र दुईजनालाई साइकल हस्तान्तरण गरिएको स्वर्णजयन्ती महोत्सव मूल समारोहका संयोजक तथा पूर्वअध्यक्ष कमल जिसीले बताए । उनका अनुसार शनिबार भैरहवामा आयोजित कार्यक्रममा सिद्धार्थनगर–९ का गौरीशंकर चाई र वडा नम्बर १, नयाँगाउँका अर्जुन थापालाई ह्विलचियर सहयोगस्वरुप हस्तान्तरण गरिएको छ ।

जेसीआई सिद्धार्थ नेपालद्वारा भैरहवाका दुईजना विद्यार्थीलाई साइकल हस्तान्तरण गरिँदै ।

यस्तै, सिद्धार्थनगर–१ स्थित बेलहिया माविमा कक्षा ७ मा पढ्ने सुप्रिया थापा र वडा नम्बर २ को कक्षा ८ पढ्ने चाँदनी हरिजनलाई साइकल सहयोग गरिएको छ । ‘संस्थाले यस्ता धेरै सामाजिक काम गर्दै आएको छ’, उनले भने, ‘आगामी दिनमा पनि सहयोगका कार्यक्रमहरु राखिरहन्छौं ।’

जेसिज अध्यक्ष कुँवरका अनुसार भदौ १६ गते जेसीजका छिमेकी शाखाहरुसँग ब्याडमिन्टन प्रतियोगिता, १९ गते मेन्टल हेल्थ एण्ड वेल विईङ्ग सचेतना कार्यक्रम, २१ गते फुटसल प्रतियोगिता, २३ गते अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता, २५ गते मिनी म्याराथन प्रतियोगिता र २८ गते समापन कार्यक्रम गरिनेछ ।

संस्थाका वर्ष २००९ का अध्यक्ष दीपेन्द्रमान श्रेष्ठले अहिलेसम्मको इतिहासमा ४९ जना अध्यक्ष भइसक्दा हजारौं सम्झनलायक र सामाजिक कार्य गरेको सुनाए । ‘हामीले दुईवटा राष्ट्रिय महाधिवेशन भैरहवामा सफलतापूर्वक सम्पन्न गर्यौं, नेतृत्व र व्यक्तित्व विकाससँगै आर्थि सहयोग र पत्रकारिता पुरस्कार स्थापना गरेर समाजमा स्थापित संस्था बनेका छौं’, उनले भने, ‘अझै पनि वर्षौंसम्म जेसिजले सामाजिक कामलाई अग्रणी भूमिकाका साथ अगाडि लैजाने छ ।’

जेसीआई सिद्धार्थ नेपालका संस्थापक अध्यक्ष सिनेटर मोहनलाल शेरचन हुन् । उनकै अगुवाईमा खुलेको जेसिज भैरहवा क्षेत्रको पूरानो संस्था रहेको श्रेष्ठले बताए । ‘यो पूर्णरुपमा सिनेटर संस्था हो । अन्तर्राष्ट्रिय, समुदाय, व्यापार र व्यक्तित्व विकासमा निरन्तर काम गरिरहेको छ’, पूर्वअध्यक्ष श्रेष्ठले भने ।

जेसीआई सिद्धार्थ नेपालद्वारा आयोजित पत्रकार सम्मेलन ।

सन् १९९२ का अध्यक्ष डा.शम्भुकुमार गुप्ताले जेसिज इतिहासमा जेसीआई सिद्धार्थले दुईवटा राष्ट्रिय महाधिवेशन गर्नुका साथै सिद्धार्थनगरमा अँग्रेजी माध्यमबाट बोर्डिङ स्कूल संचालन गर्ने पहिलो संस्था भएको बताए । यस्तै, नेपालका शाखाहरुमध्ये सबैभन्दा पहिले एरिया सम्मेलन लगायतका कार्यक्रम गर्न सफल भएको जनाए ।

‘वास्तवमा भन्ने हो भने हामीले गनरे नसकिने काम गरेका छौं’, उनले भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा युवाहरुलाई एकजुट बनाएर नेतृत्व क्षमता र व्यक्तित्व विकास गरेका छौं । यही कारण सयौं युवाहरु आज समाजमा अब्बल कहलिनुभएको छ ।’ उनका अनुसार भैरहवा क्षेत्रमा सुरुमा जापानीज इन्सेफलाइटिसको खोप ल्याउने संस्था नै जेसीआई सिद्धार्थ नेपाल हो ।

१८ देखि ४० बर्ष सम्मका युवाहरुको नेतृत्व रहने जेसीज प्रत्यक्ष रुपमा सामाजिक विकासप्रति समर्पित छ । ‘जेसीजले आफ्ना सदस्यहरुलाई उपयुक्त अवसरहरु उपलब्ध गराएर उनीहरुमा अन्तरनिहीत प्रतिभालाई प्रस्फुटन गराई तिनिहरुको व्यक्तित्वको विकास गरी नेतृत्व दिन सक्षम बनाउँछ’, जेसीआई सिद्धार्थ नेपालका वर्ष २००६ का अध्यक्ष ओमकुमार श्रेष्ठ भन्छन्, ‘समष्टिगत रुपमा जेसीजले मानवीय विकासमा बढी जोड दिएको छ । मानिसहरुको विकास हुन सकेमा व्यक्तिसँगै समाज र राष्ट्र विकास हुन्छ भन्ने मान्यता हो । त्यहीअनुसार हामीले काम गर्दै आएका छौं ।’

जेसीआई सिद्धार्थ नेपालद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविर ।

संस्थाका महासचिव आकाश पौडेलले जेसीआई सिद्धार्थ नेपाल युवाहरुका लागि प्रेरणाको स्रोत भएको बताउँछन् । ‘म जेसीजमा लागेपछि व्यक्तिगत क्षमता र नेतृत्व विकास भएको छ’, उनले भने, ‘म जस्ता धेरै युवाहरुलाई प्रेरणा मिलिरहेको मेरो बुझाई हो ।’ उनले जेसीज मार्फत् सेवाभावले सामाजिक काम गर्दा निकै आनन्द आउने बताए ।

जेसीआई सिद्धार्थ नेपालद्वारा आयोजित खाद्यान्न वितरण कार्यक्रम ।