पर्यटकीय स्थलहरूलाई व्यवस्थित बनाउन लागिपरेका छौंः मुख्यमन्त्री आचार्य


बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवल उपमहानगरपालिका–४ स्थित मणिमुकुन्द सेन उद्यान (फूलबारी पार्क) को स्थलगत अनुगमन गरेका छन् । शनिबार भएको उक्त निरीक्षणका क्रममा उनले सरोकारवाला पक्षसँग छलफल गर्दै पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको यस क्षेत्रको थप सम्भावना पहिचान र प्रवद्र्धनमा सरोकारवाला सबै पक्षको सहभागिता आवश्यक रहेकोमा जोड दिए ।
मुख्यमन्त्री आचार्यले सरकारले भएका पर्यटकीय स्थलहरूलाई व्यवस्थित बनाउन गम्भीर रहेको उल्लेख गरे । ‘वडा र टोल पिच्छे पार्क बनाउने होइन । पार्क बनाउने होडबाजी चलेको देखिन्छ । यो राम्रो होइन । भएका पार्कहरूलाई व्यवस्थित बनाउन जरुरी छ । पर्यटन प्रवद्र्धनसँग यी पार्कहरूलाई जोडेर लैजानुपर्छ’, उनले भने ।
पार्कहरूका प्रवद्र्धन र विकासका क्रममा देखिने कानुनी जटिलता हटाउन प्रदेश सरकार तयार रहेको समेत मुख्यमन्त्री आचार्यले स्पष्ट पारे । उनले जैविक विविधताको संरक्षणमार्फत् वातावरण सन्तुलनमा राख्दै पर्यटन क्षेत्रलाई नागरिकको जीवनस्तर र आम्दानीसँग जोड्ने लक्ष्यमा सरकार लागिरहेको जानकारी दिए । प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरूको संरक्षण गर्दै आन्तरिक स्रोतसाधन संकलन र परिचालनमार्फत दिगो पर्यटकीय विकासको मार्ग तय गर्नुपर्ने धारणा उनको छ । साथै, पर्यटन प्रवद्र्धनसँगै रोजगारी सिर्जना र स्थानीय आयआर्जनमा टेवा पुर्याउने यस्ता प्रयासहरू प्रदेश सरकारको दीर्घकालीन विकास दृष्टिकोणअनुरूप हुने बताए ।
मणिमुकुन्द सेन उद्यान बुटवलको पुरानो डाँडाकाँडामा फैलिएको हरियालीयुक्त आकर्षक स्थल हो । यहाँ बाल उद्यान, चिडियाखाना, फूलबारी, विश्रामस्थल लगायतका संरचनाहरू छन् । प्राकृतिक सौन्दर्यसँगै ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको यो क्षेत्रलाई थप व्यवस्थित र पर्यटकमैत्री बनाउनेतर्फ जोड दिइएको छ ।
स्थलगत अनुगमनमा सहभागी सरोकारवालाहरूले फूलबारी क्षेत्रको संरचना सुधार, पहुँच विस्तार, पूर्वाधार विकास तथा हरित पर्यटन प्रवद्र्धनमा सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए । सो अवसरमा नेकपा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ, लुम्बिनी प्रदेशका प्रमुख सचिव बावुराम अधिकारी, वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराई लगायतले पर्यटन प्रवद्र्धनका लागि आवश्यक नीतिहरू सुधार गर्दै अघि बढ्नुपर्ने धारणा राखेका थिए । यस्तै शनिबार नै मुख्यमन्त्री आचार्यले हिलपार्क क्षेत्रको अनुगमन समेत गरेका छन् ।








प्रतिकृया दिनुहोस्