६ महिनामा लुम्बिनी प्रदेशमा पाल्पामा धेरै डेंगी संक्रमण


भैरहवा– पछिल्लो ६ महिनामा लुम्बिनी प्रदेशको पहाडी जिल्ला पाल्पामा डेंगी संक्रमण उच्च देखिएको छ । स्वास्थ्य कार्यालयका अनुसार यो अवधिमा १ सय २० जनामा डेंगी संक्रमण पुष्टि भएको छ । यो संख्या लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै संक्रमित संख्या हो । पाल्पामा संक्रमण धेरै देखिनुले डेंगीबाट पहाडी र हिमाली जिल्लाहरुमा पनि सतर्कता र सावधानी अपनाउनु पर्ने स्पष्ट पारेको छ ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार यो संक्रमण जनवरीदेखि अहिलेसम्मको हो । पाल्पाका युनाइटेड मिसन अस्पताल, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज लगायतका स्वास्थ्य संस्थामा आएका बिरामीमा यो संख्यामा डेंगी संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
पाल्पा बाहेक छिमेकी जिल्लाबाट समेत उपचार गराउन आएका बिरामीसमेतमा संक्रमण पुष्टि भएकाले पाल्पामा डेंगी बढी देखिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन अधिकृत तथा सूचना अधिकारी मधुसुधन भट्टराई बताउँछन् ।
उनका अनुसार पछिल्लो पुस महिनाको दोस्रो सातादेखि लुम्बिनी प्रदेशमै डेंगी संक्रमण बढेको छ । गत जेठ अन्तिमदेखि असार महिनामा डेंगीबाट सबैभन्दा धेरै ७६ जना पाल्पामा संक्रमित भएका थिए ।
लुम्बिनी प्रदेशका तराईका जिल्लामध्ये रुपन्देहीमा ७०, बाँकेमा २७, दाङमा ५८, बर्दियामा ११ र कपिलवस्तुमा ८ जनामा डेंगी संक्रमण देखिएको छ । गुल्मीमा ३२, पश्चिम नवलपरासीमा ८, अर्घाखाँचीमा १६, रोल्पा र प्यूठानमा ७–७, रुकुम पश्चिममा ३ जनामा संक्रमण देखिएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जलवायु परिवर्तनका कारण पहाडी जिल्लामा समेत गर्मी बढ्दै जानु र लामखुट्टे हुर्कनका लागि उपयुक्त वातावरण हुनुले पनि डेंगी संक्रमणको संख्या बढेको हो । गत वर्ष पाल्पामा ४ सयभन्दा बढीमा डेंगी संक्रमण पुष्टि भएको थियो । संक्रमण नियन्त्रणका लागि जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य शाखामार्फत् ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिए पनि संक्रमण बढेको छ ।
स्वास्थ्य कार्यालय कार्यालयले तिनाउ गाउँपालिकाको झुम्सा र दोभान, बगनासकाली गाउँपालिकाको नायरनमतलेस र पोखराथोक, रैनादेवी छहराको मुझुङ र छहरा, रम्भाको ताहु र हुमिन, माथागढीको रुप्से र कसेनी र तानसेनमा बासस्थानको खोजी, नष्ट तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।








प्रतिकृया दिनुहोस्