May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

बर्दिया निकुञ्जमा एक वर्षमा २८ हजार पर्यटक

Advertisement

बर्दिया– बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बृद्धि भएको छ । निकुञ्जका अनुसार गत आर्थिक वर्ष ०८१–०८२ मा २८ हजार ६८ जना स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेका छन् । यो तथ्यांक आव ०८०–०८१ को तुलनामा २ हजारभन्दा बढी हो ।

Advertisement

गत आवमा नेपाली १९ हजार १०, सार्क मुलुकका १ हजार ५ सय ४० र विदेशी ७ हजार ५ सय १८ जना पर्यटक भित्रिएको बर्दिया निकुञ्जले जनाएको छ । आव ०८०–०८१ मा नेपाली १८ हजार १०, सार्कबाट १ हजार ४ सय ३७ र विदेशी ६ हजार ६ सय ८४ जना पर्यटक आएका थिए । विश्वमै पाटे बाघका लागि ख्याति कमाएको राष्ट्रिय निकुञ्जमा विगत केही वर्षयता आन्तरिक, सार्क र विदेशी पर्यटकको संख्या बढ्दै गएको वरिष्ठ प्रमुख संरक्षण अधिकृत अशोक रामले जानकारी दिए ।

‘पर्यटक आगमन राम्रो हुँदै गएको छ । बीचमा कोरोना महामारीले पर्यटक संख्या खुम्चिएको थियो’, उनले भने, ‘पछिल्ला वर्षहरुमा सुधार भई पर्यटक आगमन पूर्ववतः अवस्थामा फर्किंदै गएको छ ।’ निकुञ्जमा केही वर्षयता पर्यटक आगमन बढ्दै गएको छ ।

निकुञ्जका अनुसार आव ०७८–०७९ मा १६ हजार २ सय ९७, आव ०७९–०८० मा २४ हजार ३ सय ९८ जना पर्यटकले अवलोकन गरेका थिए । निकुञ्ज प्रवेश गर्न आउने आन्तरिक पर्यटकले १ सय, सार्कका ७ सय ५० र विदेशी पर्यटकका लागि १ हजार ५ सय शुल्क लाग्ने गरेको छ ।

बर्दिया निकुञ्जमा आउने अधिकांश पर्यटकको इच्छा बाघ हेर्ने भएकोले आउने गरेको वरिष्ठ प्रमुख संरक्षण अधिकृत रामले जनाए । बर्दिया निकुञ्जमा १ सय २५ बाघ रहेका छन् । निकुञ्जमा १ सय २० हात्ती रहेको अनुमान छ । त्यसैगरि गैँडा ३८ वटा छन् । यीमध्ये कतिपय गैँडा सीमावर्ती भारतको कतरनिया वन्यजन्तु आरक्षमा पुगेका छन् ।

बर्दिया निकुञ्जमा आउने पर्यटकले जीप सफारी र पैदल अवलोकन गर्ने गरेका छन् । अधिकांश पर्यटकले पाटे बाघ लगायत अन्य वन्यजन्तुको अवलोकन गरी फर्किने गरेका छन् । बर्दिया निकुञ्ज बाहिर ३० बढी साना र ठूला होटल छन् । डल्ला होमस्टे पनि पर्यटकको रोजाइमा पर्छन् । यहाँ झन्डै २० वटा होमस्टे छन् ।

निकुञ्ज बाहेक पर्यटकले खाता जैविक मार्गको डल्ला, पत्थरबोझी लगायतका ठाउँको अवलोकन गर्ने गरेको निकुञ्जले जनाएको छ । यस बाहेक यहाँ आउने पर्यटकले निकुञ्ज हातामा रहेको गोही, घडियाल प्रजनन केन्द्र, थारु संग्राहलय, दृष्टिविहीन गैँडा र समस्याग्रस्त बाघ थुनिएको खोर बाहिरबाट अवलोकन गर्ने गरेका छन् ।