एरिक र इभानको उपचारका लागि रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा ६१ हजार सहयोग


भैरहवा– रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले कान सुन्न र बोल्न नसक्ने दुई बालकहरुको उपचारका लागि आर्थिक सहयोग गरेको छ । क्लबको १०औं पदस्थापन समारोहका अवसरमा भैरहवामा आयोजित कार्यक्रममा उक्त सहयोग गरिएको हो ।
क्लबका अध्यक्ष विष्णु शर्माले ‘क्लबको पहिलो सेवा परियोजना’ अन्तर्गत भैरहवाका श्रवण शक्ति र बोल्ने क्षमता नभएका जुम्ल्याहा बालकहरु एरिक र इभान थारुको उपचारमा ६१ हजार रुपैयाँ सहयोग गरिएको जानकारी दिए । उक्त सहयोग क्लबका अध्यक्ष शर्मा, रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिष्ट्रिक्ट गर्भनर नोमिनी डा.ईश्वरीप्रसाद ढकाल लगायतले बालकका बुवाआमालाई हस्तान्तरण गरेका हुन् ।
कपिलबस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ३ स्थायी घर भई हाल सिद्धार्थनगर–९ मा बस्दै आएका सन्तराम थारु र सुनिता कार्कीका साढे ४ वर्षका जुम्ल्याहा छोराहरू एरिक र इभानको जन्मजातै कान नसुन्ने समस्या छ ।
दुबै बालकहरुको कानमा कक्लियर इम्प्लान्ट राख्न कम्तिमा ४० लाख रुपैयाँ लाग्ने चिकित्सकले जनाएका छन् । आर्थिक अवस्था कमजोर भएपछि परिवारले सहयोगको अपिल गरेका छन् । बालकहरुको उपचारका लागि क्लबले अन्य रोटरी क्लब र संघसंस्थालाई समेत सहयोगको आग्रह गरेको छ ।
अध्यक्ष शर्माले सानो सहयोगले बालकहरुको भविष्य उज्वल गराउन योगदान पुग्ने भएकाले सबैलाई सहयोग गर्न अपिल गरे । क्लबका पूर्वअध्यक्ष तथा सेवा परियोजना संयोजक हिराबहादुर शाहले जन्मजात श्रवण र बोली क्षमता नभएका बालकहरुलाई सबै रोटेरियनहरूको तर्फबाट सहयोग उठाएर उपलब्ध गराइएको बताए ।








प्रतिकृया दिनुहोस्