May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

दुई दिन भीम अस्पतालमा बीमाको सर्भर नचलेपछि उपचारबिनै फर्किए बिरामी

Advertisement

भैरहवा– स्वास्थ्य उपचारका लागि बीमा मार्फत् भैरहवास्थित भीम अस्पतालमा आएका सर्वसाधारण बिरामी दुई दिनसम्म सर्भर नखुलेपछि उपचार गर्न नपाएर समस्यामा परेका छन् । बिगत दुई दिन (सोमबार र मंगलबार) भीम अस्पतालमा बीमाको सर्भर खुलेको थिएन । टिकट काउण्टरमा बीमाबाट उपचार गराउने बिरामीको घण्टौंसम्म लाम लाग्छ । बीमाको सर्भर नखुलेर टिकट नै नपाए पछि निराश हुँदै बिरामी घर फर्किएका हुन् ।

Advertisement

लगातार दुई दिन बीमामार्फत् उपचार गर्नबाट बञ्चित हुनु परेपछि सरकारले लागु गरेको स्वास्थ्य बीमाप्रतिको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ । बीमासँगै सरकारी निकाय तथा कार्यालयमा प्रयोग गरिएका प्रबिधिकोको पनि ।

‘स्वास्थ्य बीमा गरेपछि उपचारका लागि वर्षको १ लाख रुपैयाँ बरारबरको प्रयोगशालामा परीक्षण, औषधि र शल्यक्रिया समेत हुने गरेर यस वर्ष बीमा गरेर बिरामी भएपछि उपचार गर्न आएँ’, रुपन्देहीको मर्चवारी–२ बाट उपचार गर्न आएका चन्द्रकेश मुराउले भने, ‘बीमाबाट उपचार गराउन नमिल्ने भएपछि पैसा तिरेर नै उपचार गराउनु पर्यो ।’

बीमा गरेपछि स्वास्थ्य उपचारमा सहज र कम पैसामा हुन्छ भनेर प्रचारबाजी गरिएजस्तो बास्तविकतामा भने हुने नगरेको उनको बुझाइ थियो । उनको जस्तै बुझाइ धेरै सर्वसाधारणको छ । सर्भर के हो ? सर्भर नखुल्दा के हुन्छ ? भन्ने जस्ता प्राविधिक कुराको बुझाइ मुराउ र उनीजस्ता अन्य सर्वसाधारण बिरामीले सहज रुपमा बुझ्ने समाथ्र्य राख्दैनन् ।

अस्पतालका कर्मचारी भने सोमबारदेखि सर्भरमा समस्या आएको बताउँछन् । ‘बीमाको टिकट काट्नका लागि माथि केन्द्रबाट नै सर्भर नखुलेपछि यहाँ समस्या भएको हो’, भीम अस्पतालको टिकट काउण्टरका कर्मचारी श्रीकान्त उपाध्यायले भने, ‘बिरामी बीमाको टिकट लिनका लागि लाइनमा उभिएर पालो कुर्दै बस्छन्, सर्भर नचलेपछि हामी टिकट दिन असमर्थ हुन्छौं ।’

सर्भर के कारणले नचलेको हो ? कहिलेदेखि चल्ने हो ? जस्ता प्रश्नको आधिकारिक जवाफ अस्पतालका कर्मचारीसँग छैन । उनीहरु नै अनभिज्ञ छन् । बीमा मार्फत्को स्वास्थ्य सेवा नपाएपछि बिकट ठाउँबाट उपचारका लागि आएका सर्वसाधारण बिरामी बढी समस्यामा पर्ने गरेका छन् ।

भीम अस्पतालका प्रशासकीय अधिकृत ईश्वरी ज्ञवालीले बीमाको सर्भर नखुलेपछि मंगलवार सर्वसाधारण सेवाग्राही तथा बिरामीका लागि अस्पताल परिसरमा सूचना नै टाँस गरिएको बताए । यस्तो समस्या भीममा मात्र नभएर अन्य अस्पतालहरुमा पनि बिद्यमान रहेको उनले बताए ।

बीमाबाट स्वास्थ्य उपचार सेवा अवरुद्ध भएपछि अस्पतालमा बीरामीको चाप ह्वात्तै घटेको छ । अस्पतालको प्रशासन शाखाका अनुसार बीमाले काम गरेको अवस्थामा गत आइतवार भीम अस्पतालमा उपचारका लागि ओपीडी टिकट काटेका बिरामीको संख्या ६ सय १९ थियो । बीमा काउण्टर नखुलेपछि यो संख्या मंगलवार ३ सय ३६ मा झरेको थियो । उपचारका लागि भीममा आउने बिरामीको यो संख्यामा देखिएको फरक बीमाका कारणले बिरामीको अस्पतालमा बढी भीड हुने गरेको प्रष्ट्याउँछ ।