लघुकथाः उत्तरआधुनिक माया


पहिलो दिन: -“धुन छाडिएका कपडाको गोजीमा के के छन्, कम्तीमा त्यो त झिक्नु ! हेर, लछप्पै भिजिहाले नि ! कस्तो हुस्सु केटासँग परिएछ !” पत्नी रमिला एक्लै फतफताइन् र भिजेको पाँच सयको नोटलाई जतनसँग घाममा लगेर सुकाइन् ।
रमिला गाउँ छाडेर भर्खरै नवविवाहित पति रमेशसँग शहरमा बस्न थालेकी थिइन् । बि.बि.ए.की विद्यार्थी भएकाले उनको आफ्नो कमाइ शुरू भएको थिएन । पैसा फेला पारेपछि उनलाई पिज्जा खाने रहर जाग्यो । अनलाइन अर्डर गरिन् । नोट नओबाउँदै पिज्जा आइपुग्यो ।
पिज्जा खाँदै गर्दा भरे पतिलाई उनको असावधानी बारे सम्झाउनु पर्ने विचार आयो मनमा ।
दोस्रो दिन:
खाना खुवाई वरी पतिलाई अफिसका लागि बिदाइ गरिन् । पहिलो दिन कार्यालय जाँदा पतिले लगाएको कपडा बाटामा राखिन् र सरफ पानी खन्याइन् ।
-“बिसुद्धी न हुन् ! आज पनि पक्कै कुनै अफिसियल कागज छाडे होलान् खल्तीमा ।” गोजी छामछुम गर्दा पचास पचासका आठ वटा नोट भेटियो !
आज भने के.एफ.सी.को मोमो खाने इच्छा पलायो । डेलिभरी ब्वाइ एकैछिनमा दैलामा हाजिर भो ।
मोमो खाँदै गर्दा मोमोको स्वादले मन जित्यो । भुलक्कड पतिलाई सजग गराउनु पर्ने हिजो देखिको विचार आज अनायासै अलप भयो ।
तेस्रो दिन:
उही साबिककै समय । पतिले दोस्रो दिन लगाएर फुकालेका कपडा धुन तम्सिइन् । पहिल्यै सर्टको गोजी खानतलास गरिन् । मानौं सर्टको गोजी कुवेरको भण्डार नै थियो ।
आश्चर्य ! सय सयका दुई वटा कटकटाउँदा नोट फेला परे। खानबाट लाउनतिर हठात् उनको रहर मोडियो । नजिकैको पसलमा गएर एक जोर राम्रो फेन्सी इयर रिङ किनेर ल्याइन् उनले ।
चौथो दिन:
तेस्रो दिन लगाएको लुगा धुनु थियो । मनमा कुनै उत्साह थिएन । जाँगर सेलाएझैं लागिरहेको थियो ।
धुन छुट्याइएको लुगाको गोजीतिर हात बढाउने कुनै उत्सुकता थिएन । अबेरसम्म लुगा धोइएको पनि थिएन । एउटा मनले लोग्नेसँग बेसरी झगडा गर्न र अर्को मनले सुझबुझ अपनाउन उनलाई दबाब दिइरहेको थियो ।
पति अफिसबाट कोठामा आइपुग्दा रमिला बेचैन र उद्विग्न अवस्थामा ओछ्यानमा बिरामीझैं पल्टिरहेकी थिइन् । पतिको यो क्रियाकलाप हुस्सुपन थियो वा चलाखी ? उनी रहस्यको गर्तमा हराउँदै गएकी थिइन् ।
दिनानुदिन पतिको खल्तीमा कमकम रकम भेटिन थालेको सम्झनाले उनको मन त्यसैत्यसै कुँडिएको थियो । भुलक्क्डपन नै हो त ! पतिलाई यस बारे केही भनूँ भने पनि भोलिदेखि निस्तो चिउराको भर पर्नु पर्ने हो कि भन्ने डरले मनमा जरा गाडेको थियो ।
त्यही बेला छेवैमा रहेको रेडियोमा यस्तो गीत बजिरहेको थियो:
नयाँ नयाँमा रै’छ मया नयाँ नयाँमा
पुरानो भएसि दिनकै झगडा किन हुन्छ मयामा…।
-sahityapost








प्रतिकृया दिनुहोस्