June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

उत्सवकारूपमा मनाइयो धान दिवस (फोटो फिचर)

Advertisement

भैरहवा– असार महिनालाई नेपाली किसानहरुले मानो रोपेर मुरी उब्जाउने महिनाको रुपमा लिने गर्छन् । वर्ष भरी खाने मुख्य अन्नको रुपमा लिइने धान असार महिनामै रोपिने भएकोले किसानहरुलाई यो महिना भ्याई नभ्याई हुन्छ । खेतीयोग्य जमिनको संरक्षण, बाँझो जमिनमा खेती गर्दै उत्पादनमा वृद्धि गरी आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता तथा कृषि श्रमको सम्मान गर्ने संस्कारको विकास गर्न २०६१ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाइँदै आएको छ ।

Advertisement

यस वर्ष पनि ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने राष्ट्रिय नारासहित आइतबार देशभर राष्ट्रिय धान दिवस मनाइएको छ । बुटवलको वडा नं. १६ को सेमलार र वडा नंं १९ मोतीपुरको मनोहरापुरमा २२ औं रोपाई महोत्सव मनाइएको छ । बुटवल उपमहानगरपालिकाको आयोजना तथा वडा कार्यालयहरुको संयोजनमा मनाईएको महोत्सवमा डेढ विगाह बढि खेतमा धान रोपाई गरिएको हो ।

विभिन्न आमासमूह तथा थारु संस्कृति झल्किने झाँकी र बाजागाजासहित नाचगान गर्दै रोपाई गरेर दिवस मनाइएको हो । महोत्सवको अवसरमा वडा नं. १६ मा स्थानीय साहबाबा कृषि सहकारी संस्थाको करिब डेढ विगाह खेत र वडा नं. १९ मा स्थानीय तिरथ थारुको करिब ५ कट्ठा खेतमा धान रोपिएको थियो । सो अवसरमा उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रवक्ता एवं वडा नं. १५ का अध्यक्ष शिव राना, वडा नं. १६ का अध्यक्ष कृष्ण प्रसाद पौडेल, १९ का वडा अध्यक्ष चन्द्रसिंह थापा उपमहानगरपालिकाका विभिन्न महाशाखा र शाखा प्रमुख, महिला समूहहरु लगायतको उल्लेख्य सहभागिता थियो ।

नगर प्रमुख पाण्डेय र उपप्रमुख अर्यालले खेतमा धानको बिउलाई पुजा गरेर सुरु गरेको रोपाई महोत्सवमा पुगेका पाहुनाहरुलाई स्थानीयले धानको बिउ दिएर स्वागत गरेका थिए । रोपाई महोत्सवमा बोल्दै नगर प्रमुख पाण्डेयले बुटवलको तिनाउ नदिदेखी पश्चिमका १२ देखि १९ सम्मका वडाहरुलाई कृषि पकेट क्षेत्रका रुपमा अगाडी बढाउन हरेक वर्ष बजेट विनियोजन गर्दै आएको बताए ।

उनले वडा नं. १२ देखि १९ सम्मको खेतीयोग्य जमिनलाई बाँझो नछोडी आधुनिक प्रविधिबाट खेती गर्न किसानहरुलाई प्रविधिमा सघाउँदै आएको बताए । उनले कृषकहरुलाई सम्मानपूर्वक व्यवहार नगर्दा सम्म कृषितर्फ युवाहरुको आकर्षण नबढ्ने भन्दै मानिसलाई बाच्नको लागि कृषि उत्पादन नै चाहिने भएकोले बुटवलका लागी चाहिने कृषि उत्पादन बुटवलमै तयार गर्न कृषकलाई प्र्रोत्साहन गर्नुपर्ने जनाए ।

उपमहानगरपालिकाका उपप्रमुख अर्यालले मुलुकको समृद्धिको मुख्य आधार नै कृषि भएकोले उपमहानगरपालिकाले पनि कृषिलाई विशेष चासो दिंदै आएको बताइन् । उपमहानगरपालिकाले विगतका वर्षदेखि नै रोपाई महोत्सव गर्दै आएको छ । यसैबीच नेपाल किसान महासंघ, लुम्बिनी प्रदेश, जिल्ला कार्यसमिति रुपन्देहीले २२ औं राष्ट्रिय धान दिवसको अवसरमा आइतबार बुटवल उप–महानगरपालिका–१९ मा धान रोपाइं गरेर दिवस मनाएको छ ।

किसान राजेन्द्र क्षेत्रीको खेतमा रोपाइ गरिएको हो । सो अववसरमा बोल्दै नेपाली कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले देशलाई कृषिमा आत्मनिर्भर बनाउन खेतीयोग्य जमिनको खण्डीकरण रोक्नुपर्नेमा जोड दिए । नेता पुनले मलखाद उपलब्ध नहुँदा किसान सबै समस्या रहेको बताउंदै सरकारले प्रयाप्त मात्रामा समयमा उपलब्ध गराउन आग्रह समेत गरे ।

महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष रीता केसी नेपालमा कृषि पेशामा संलग्न रहेका किसानहरुले संगठित गर्दै अघि बढेको बताइन् । नेपाललाई कृषिमा आत्मनिर्भर बनाउँदै परम्परागत रैनाथे बालीको पनि संरक्षण गर्ने योजना सरकारले ल्याउन आवश्यक रहेकोमा उनको जोड थियो । धान उत्पादन वृद्धिको लागि बीउ उत्पादन, प्रविधि प्रदर्शन, सिंचाइ, सघनता वृद्धि, चैते धान प्रवद्र्धन, रैथाने जात संरक्षण लगायतका विविध कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनले जोड दिइन् । सो अवसरमा रोपारेहरुले असारे गीत गाउँदै पञ्चेबाजामा नाचेर रोपाइ उत्सव समेत मनाएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला र प्रदेश तहका नेताहरुको सहभागिता थियो ।

दिवसका अवसरमा सिद्धार्थनगर, देवदह, रोहिणी, ओमसतिया, तिलोत्तमा, कपिलवस्तु, पश्चिम नवलपरासी, दाङ लगायतका पालिका र स्थानहरुमा कही कृषक समूह, कही सहकारी र कही पालिकाहरुले धान दिवस उत्सवका रुपमा मनाएका थिए ।