May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

पर्यटकलाई घरमै बास, आँगनको जंगलमा सफारी

Advertisement

भैरहवा– बर्दियाको मधुवन–१, का ३० वर्षीय गोविन्द थारुलाई साँझ बिहान छाक जुटाउन समस्या छैन । उनी अहिले स्वनिर्भर बनेका छन् । ढुक्कसाथ पर्यटन प्रवद्र्धन र वन संरक्षणबारे चेतना फैलाउँदै छन् । त्यसको कारण हो, होमस्टे र पर्यटक पथ प्रदर्शन । उनी निकुञ्जको मध्यवर्ती क्षेत्रमा चिनिएका गाइड हुन् । अहिले घरमै पर्यटकलाई बास बसाएर, आँगनमै रहेको जंगलमा डुलाएर महिनाको २५ देखि ३० हजार कमाई रहेकाछन् ।

Advertisement

‘हाम्रो बस्तीसित जोडिएको बर्दिया निकुञ्ज प्राकृतिक सौन्दर्य, जैविक विविधता र दुर्लभ वन्यजन्तुका कारण विश्वमा चिनिएको छ,’ उनले भने, ‘निकुञ्जमा रहेका पाटे बाघ, एक सिंङ्गे गैंडा, चितुवा, जरायो, चित्तल बाह्रसिङ्गे, जंगली हात्ती यही खेतबारीमा चर्न आउँछन् । घर नजिकै कर्णालीको भंगालोमा घडियाल, मगर गोही देखिन्छन् । ती वन्यजन्तु र यहाँको प्रकृति अवलोकन गर्न धेरै बिदेशी र स्वदेशी पर्यटक आउँछन् ।’

त्यही आकर्षण देखेर आफूले नेचर गाइडसँगै होमस्टे व्यवसाय संचालन गरिरहेको उनले बताए । उनका अनुसार डल्ला गाउँ होमस्टेका लागि देश–बिदेशमा चर्चित छ । सन् २०१२ मा एकजना विदेशी पाहुना हात्तीमा पीएचडी गर्ने क्रममा अध्ययनका लागि आएका थिए । त्यहि बेला ती बिदेशीकोे सहयोगी भएर काम गर्ने अवसर जुरेको उनले बताए । ‘उहाँलाई डुलाउँदैं थिएँ, राष्ट्रिय प्रकृति संरक्षण कोषमा कार्यरत दाईले मलाई जीपीएस चलाउन सिकाएँ,’ उनले भने, ‘सोही अनुभवले सन् २०१३ मा बाघ गणना सम्बन्धि बाँकेमा तालिम लिने अवसर मिल्यो । त्यसपछि क्यामरा ट्रयाप गर्ने कामको सिलसिलामा बाँके, कैलाली, सुर्खेत, सल्यान, चितवनलगायत विभिन्न जिल्लामा गएर काम गर्ने मौका पाएँ ।’

वन्यजन्तुको अध्ययनका लागि आउने पाहुँनाको सहयोगीको रुपमा काम गर्दा गर्दै र उनीहरुलाई खाजा खुवाउने उद्देश्यले ५ वर्ष अघि होमस्टे थारु खाजा घर संचालन गरेको उनले बताए । त्यतिबेला खाजा घर संचालन गर्न बर्दिया राष्ट्रिय निकुञ्जले ५० हजार रुपैयाँ सहयोग गरेको थियो । उनका अनुसार एक वर्षपछि डल्लामा २४ नम्बर होमस्टे सुरु गरे जुन कार्यको लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले ५० हजार दिएको थियो । होमस्टे सुरु गरेको पनि ४ वर्ष भयो । आठ जनाको परिवार छ । परिवारका अन्य सदस्यले सघाउँदा होमस्टे चलाउन सहज भएको छ । अलि अलि आफ्नै खेत छ ।

‘आफ्नै खेतबारीको उत्पादनले वर्षभरि खाद्यान्न पुग्छ । होमस्टेमा आउने आन्तरिक तथा बाह्य पाहुनाहरुलाई आफ्नै खेतमा उब्जनी भएको आर्गानिक उत्पादनबाट तयार हुने स्थानीय थारु खानाका सम्पूर्ण परिकार पस्केर खुसी पार्छु,’ उनले भने, ‘आनन्दी चामलको भात रोटी, डिकरी लगायतका परिकार पस्किँदा पाहुना लोभिँदै अर्को पटक पुनःमेरो होमस्टेमा आईपुग्छन् । आफै नेचर गाईड भएकोले जंगल वाक गराएर जंगलको राजा बाघ, गैंडा, हात्तीलगायत जंगली जनावर देखाउँदा पाहुनाहरु खुसी भएर फर्किन्छन् ।’

होमस्टे व्यवसायबाट महिनामा २० हजार र नेचर गाइडबाट १० हजार गरि ३० हजार आम्दानी गरिरहेको उनले बताए । घरमै बसेर गरेको व्यवसायबाट अरु केही गर्न नसके पनि साढे ३ कट्ठा जग्गा जोड्न सफल भएको उनले बताए । कर्ममा विश्वास गरि आफ्नै ठाउँमा बसेर यतिको गर्नु पनि आफ्ना लागि ठूलो सफलता भएको उनले जनाए ।