May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

दुई देशका पर्यटक आवागमन हुँदा बुटवललाई बिश्रामस्थल बनाउने योजना

Advertisement

भैरहवा- लुम्बिनी हुँदै दुई छिमेकी मुलुक भारत र चिनका पर्यटक आवागमन गर्दा बुटवललाई बिश्रामस्थल बनाउने गरि पर्यटक भित्र्याउन बुटवल उपमहानगरपालिकाले पहलकदमी सुरु गरेको छ ।

Advertisement

बुद्ध जन्मस्थल लुम्बिनीलाई आधार बनाउँदै दक्षिणी नाका सुनौलीबाट भारतीय र कोरला नाका हुँदै चिनियाँ पर्यटक भित्र्याइ बुटवल क्षेत्रलाई बिश्राामस्थल बनाउने पर्यटकीय नयाँ योजना बुटवल उपमहानगरपालिकाले अघि सारेको हो ।

यसका लागि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको नेतृत्वमा पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, म्याग्दी र मुस्ताङका विभिन्न स्थानीय तहसंग भेटघाट, आपसी सहकार्य र पर्यटक भित्र्याउन साझा पहल थाल्ने गरी छलफल अघि बढाइएको छ ।

कोरला नाका हुँदै बुद्ध जन्मस्थल लुम्बिनी आउने चिनियाँ पर्यटक र सुनौली नाका हुँदै मुक्तिनाथ आउने भारतीय पर्यटकलाई यस योजनाले केन्द्रित गरेको छ । भारतबाट मुक्तिनाथ भ्रमणका लागि आउने हिन्दु र चीनबाट लुम्बिनी आउने बुद्धिस्ट पर्यटक ल्याउने र उनीहरुलाई बुटवलमा विश्राम गराएर पर्यटकलाई रोक्ने सोंच बुटवल उपमहानगरपालिकाको हो ।

स्याङ्जाको कालीगण्डकी, पाल्पाको तानसेन, गुल्मीको कालीगण्डकी, बागलुङको जैमिनी, मुस्ताङको ल्होमन्थाङ, घरपझोङ, लो घेकर दामोदर कुण्ड, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका लगायतका स्थानीय तहसँग भेटघाट गरी पर्यटन प्रवर्धनमा सहकार्य गर्ने र छिट्टै पालिकाबिच सम्मेलन आयोजना गर्ने निर्णय भएको नगरप्रमुख खेलराज पाण्डेयले बताएका छन् ।

पाण्डेका अनुसार, स्याङ्जाको कालीगण्डकी गाउँपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकासँग बुटवल उपमहानगरपालिकाले भगिनी सम्बन्ध कायम गर्ने सहमतिसमेत भएको छ ।

‘यसका लागि बुटवलमा सबैका लागि उपयोगी हुने पर्यटक सूचना केन्द्र निर्माण गर्ने र पर्यटन व्यवसायीसँगको सहकार्यमा टुर प्याकेज तयार गरेर भारत र चीनका पर्यटक आकर्षित गर्ने गरी कार्यक्रम सञ्चालन गरिने छ’फ नगरप्रमुख पाण्डेयले भने, ‘क्रममा बुटवल उपमहानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबिच धार्मिक पर्यटन प्रवर्धनमा सहकार्य गर्ने सहमति भएको छ ।’

सहमती अनुरुप कालीगण्डकी कोरिडोरलाई धार्मिक पर्यटकीय मार्गका रूपमा विकास गर्ने गरी दुई पालिका अघि बढ्ने भएका हुन् । त्यस्तै बुटवल मुक्तिनाथ पदमार्ग क्षेत्रमा अवस्थित सबै स्थानीय सरकारको भेला आयोजनामा धार्मिक पर्यटन प्रवर्धनका लागि बृहत् अन्तक्र्रियाका लागि दुई स्थानीय सरकारले पहल गर्ने पाण्डेयले जनाए ।

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बुटवल मुक्तिनाथ पर्यटकीय प्रवर्धनले समग्र देशको अर्थतन्त्रलाई चलायमान गराउने बताएका छन् । मुस्ताङमा उत्पादित स्थानीय उत्पादनको प्रवर्धन तथा बजार व्यवस्थापनमा बुटवल उपमहानगरपालिकाले पहल गर्ने र बुटवल उपमहानगरपालिकाको उत्पादन प्रवर्धनमा घरपझोङ गाउँपालिकाले पहल गर्ने सहमति भएको बुटवल उप महानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले जनाएकी छन् ।

बागलुङको जैमिनी नगरपालिका, स्याङ्जाको कालीगण्डकी, गुल्मीको कालीगण्डकी, मुस्ताङको ल्होमन्थाङ, घरपझोङ, लो घेकर दामोदर कुण्ड, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकालगायतका जनप्रतिनिधिले पनि बुटवलको अभियानमा सँगै अगाडि बढ्ने र पर्यटन प्रवर्धनमा सहकार्य गर्ने जनाएका छन् ।