June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

आमाको दैनिकी

Advertisement

असह्य व्यथापश्चात
सुँडेनीले
छातीमा टाँसिदिएको
अबोध मुहार
हेरेर
चन्द्रमा झैं
मुस्कुराउँछिन्

Advertisement

आलो,
सुत्केरी छाउलाई
मातृवत्सल्यले जित्दै
खै,
कसरी खट्थिन्
दिन रात ?

जीवनका
अधिकांश समय
अरूलाई खर्चिंदा
किन साँचिदिएन
समयले,
उनको उमेर ?

घामको गति

दिशा हेरेर
समय ठम्याउने
आमाले
किन ठम्याउन
चाहिनन्
आफ्नो जीवनका गतिहरू ?

घरमा भित्ताहरू
रातो माटो र कमेरोले
रङ्गाउँदा
थोरै
आफ्नो जीवन
रङ्गाएको भए !

किन
घरको दलिनले
सधैं समाइरह्यो
आमाको पछ्यौरी ?
कि,
बाँधिदिइन् आमाले
सालनाल जोडिएकाहरूसँग
आफ्ना सन्तुष्टि !

नीलो आकाशमुन्तिर
रहेको
घना शून्यता जस्तो
के थियो
आमाको जीवनमा,
सधैं उस्तै रहने
आमाको दैनिकी
पट्यार लाग्दैनथ्यो कि
अहै !

-sahityapost