सिद्धार्थनगरको हिउँदे अधिवेशनबाट दुई विधेयक पारित


भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले हिउँदे अधिवेशनबाट दुईवटा विधेयक पारित भएका छन् । सोबार बसेको हिउँदे सभाको १७ औं अधिवेशनबाट नगरपालिकाले प्राविधिक कर्मचारी व्यवस्थापन गर्न बनेको विधेयक र नगरको शिक्षा ऐन, २०७४ लाई प्रथम संशोधन गर्न बनेको विधेयकलाई पारित गरिएको हो ।
भैरहवास्थित महेन्द्र सभागृहमा भएको सभामा सभाअध्यक्ष एवं सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले नगरको प्रगति विवरणसहित यी दुइवटा विधेयक सभामा प्रस्तुत गरेका थिए । सभाले छलफल पछि विधेयकलाई पारित गरेको हो । विधेयक पारित भएसँगै सिद्धार्थनगरलाई प्राविधिक कर्मचारी करारमा राख्न वाटो खुलेको छ ।
विधेयकमा करारतर्फ इन्जिनियरिङ्ग, कृषि, पशु, स्वास्थ्य तथा प्राविधिकतर्फ अन्य कर्मचारी करारमा राख्न पाउने व्यवस्था गरिएको छ । त्यस्तै, शिक्षा विधेयक संशोधन पछि नगर शिक्षा समितिमा उपप्रमुख समेत सदस्य रहने व्यवस्था गरिएको छ । विधेयकमा नगर प्रमुख अध्यक्ष भन्ने वाक्यको पछाडी नगर उपप्रमुख उपाध्यक्ष भन्ने थप गरिएको छ । नगर सभामा नगरको चालु आर्थिक वर्षको प्रगती सार्वजनिक गर्दै नगर प्रमुख खाँले ५७ औँ स्थापना दिवस २०८१ भब्य रुपमा सम्पन्न भएको, नगर सरसफाई, सडक बत्ति व्यवस्थापन तथा नगरका विभिन्न स्थानमा गत बर्ष स्मार्ट लाइट जडान गरी सो कार्यको यस वर्ष फछ्र्यौट कार्य सम्पन्न भएको बताए ।
उनले छाडा चौपाया व्यवस्थापन, फोहोरमैला दिगो, मितव्ययी एवं गुणस्तरीय व्यवस्थापनका लागि सार्वजनिक सूचना मार्फत् प्रस्ताव आह्वान, नगरको सौन्दर्यकरणको लागि तीनपांग्रे रिक्सा व्यवस्थापनका साथै ठेलाको व्यवस्थापन, पार्किङ व्यवस्थापन तथा अनधिकृत सडक तथा फुटपाथ अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु हटाउने कार्यका साथै नगरपालिकाको नीतिगत निर्णयलाई कार्यान्वयन गर्न १५ जना नयाँ नगर प्रहरी समेत नियुक्ति गरिनुलाई पनि चालु आर्थिक बर्षका महत्वपूर्ण उपलब्धी रहेको उल्लेख गरे ।
त्यस्तै, उनले सिद्धार्थनगर नगरपालिकामा नेपाल सरकार, प्रदेश सरकार तथा आन्तरिक स्रोतबाट भएको भौतिक पूर्वाधार तर्फका योजनाहरु कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढाइसकिएको र पुस मसान्तसम्म पूर्वाधार निर्माणतर्फ ५९ वटा योजनाहरु बोलपत्र तथा दरभाउपत्रका माध्यमबाट सूचना प्रकाशन भएकोमा ४६ योजना सम्झौता भइ बाँकी १३ वटा योजनाहरु सम्झौताको प्रक्रियामा रहेको उल्लेख गरे ।
ठेक्का खोलिएका योजनाहरुको काम सम्पन्न भए पश्चात् ग्राभेल सडकतर्फ ५.७ किमि, नाली निर्माणतर्फ ६.५ किमि, आरसिसी सडकतर्फ ३५२ मिटर तथा आरसिसी भवन निर्माणतर्फ १२ वटा रहेका छन् । सार्वजनिक जग्गा तथा नगरपालिकाका विभिन्न भवनहरुमा पर्खाल निर्माणतर्फ १३९.७५ मिटर रहेको छ । यसै आर्थिक बर्षमा कार्यालय संचालनका लागि निर्माणमा रहेको प्रशासनीक भवन निर्माण कार्य सम्पन्न गरी सोही भवनबाट सेवा प्रवाहको शुभारम्भ हुने उनले बताए ।
नगर उपप्रमुख उमा अधिकारीले एशियाली विकास बैंक, नेपाल सरकार र सिद्धार्थनगर नगरपालिकाको संयुक्त लगानीमा संचालित हुन गइरहेको युआरएलआईपी योजनाको सम्झौता भएको र यसको छिट्टै कार्य प्रारम्भ हुने बताइन् । प्रमुख प्रशासीकय अधिकृत जनक थापाले डण्डा करिडोर निर्माणका लागि बिस्तृत सम्भाव्यता अध्ययन शहरी विकास मन्त्रालय मार्फत् भइरहेकाले यो समेत छिट्टै कार्यान्वयनमा आउने बताए ।








प्रतिकृया दिनुहोस्