June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

रुपन्देहीमा प्रथम मगर सहात्यि महोत्सव सुरु, भाषा–सँस्कृति संरक्षणमा उपसभामुखको जोड

Advertisement

बुटवल– नेपाल मगर महिला संघ, रुपन्देहीको आयोजनामा शुक्रबारदेखि प्रथम मगर साहित्य महोत्सव सुरु भएको छ । महोत्सवको पहिलो दिन विविध कार्यक्रम सम्पन्न भएका छन् । महोत्सव अन्तर्गत पुस्तक प्रदर्शनी, चित्रकला प्रदर्शन, मातृ भाषामा कविता बाचन प्रतियोगिता, पुस्तक विमोचन लगायतका कार्यक्रम सम्पन्न गरिएको महोत्सव आयोजक समितिका प्रवक्ता शंकर गाहाले जानकारी दिए ।

Advertisement

महोत्सवको पहिलो दिन ‘एक पत्रकारको वकपत्र’ पुस्तक बारे लेखक वरिष्ठ पत्रकार खिध्वज थापासँग साहित्यकार गिरी श्रीसले सहजीकरण गरेका थिए । यसैगरी कविता प्रतियोगितामा १० जनाको सहभागिता रहेको थियो भने ३ वटा पुस्तक विमोचन गरिएको प्रवक्ता गाहाले जानकारी दिए । महोत्सवमा मानवशास्त्री डा. सुरेश ढकालले ‘भेजा प्रथा ः मगर जातिको संगठन र अर्थ सशक्तिकरणको अनुपम दर्शन’ विषयमा प्रस्तुती दिएका थिए । यस्तै ‘मगर जाति र मातृ भाषाको प्रश्न’ विषयमा डा. विष्णु सिंजाली, भाषविद कर्ण बहादुर बुढा, माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदी र सुनछहारी गाउँपालिका अध्यक्ष धनबहादुर पुनसँग सहजकर्ता पत्रकार स्याम रानाले प्यानल डिस्कशन गरेका थिए ।

मगर जातिमा झाँक्री प्रथाका विषयमा गोपाल आचार्यले तयार पारेको ‘आखत’ भन्ने वृत्तचित्र प्रस्तुत गर्नुका साथै यस विषयमा छलफल गरिएको महोत्सव प्रचार समितिका संयोजक यम रानाले जानकारी दिए । शनिबारसम्म सञ्चालन हुने मेहोत्सवमा थप प्यानल डिस्कशन तथा साँस्कृतिक कार्यक्रमरु समेत आयोजना हुने महोत्सव व्यवस्थापन समिति संयोजक केशरी तरामुले जानकारी दिइन् । उपसभामुख इन्दिरा रानाले उद्घाटन गरेको महोत्सवलाई पूर्व सभामुख ओनसरी घर्तीमगरले समापन गर्ने कार्यतालिका रहेको उनले जानकारी दिइन् ।

मगर समुदायको भाषा, साहित्य, इतिहास र परम्परको संक्षणमा टेवा पुग्नेगरी ‘आफ्नो कथा आफै लेखौं’ भन्ने मूल नाराकासाथ महोत्सव आयोजना गरिएको नेपाल मगर महिला संघ रुपन्देही अध्यक्ष तथा मूलक आयोजक समिति संयोजक निर्मला थापाले जानकारी दिइन् । महोत्सवमा गोरेबहादुर खपाङ्गी मगर सामाजिक योगदान पुरस्कार तथा आदिकवि जितबहादुर सिंजाली र रेखबहादुर सारु मगर साहित्य पुरस्कार स्थापना गरिने समेत उनले जानकारी दिइन् । बुटवलको जितगढी किल्लामा आयोजित महोत्सवमा विभिन्न ७ वटा प्यानल डिस्कशनका कार्यक्रम छन् ।

भाषा सँस्कृतिको संरक्षणमा उपसभामुखको जोड
महोत्सवको उद्घाटन गर्दै उपसभामुख इन्दिरा रानाले मातृ भाषा र सँस्कृतिको संरक्षणमा जातीय एकता आवश्यक रहेको बताइन् । मुलुकको परिवर्तनहरुमा मगर समुदायले खेलेको भूमिका बारे चर्चा गर्दै रानाले अब आफ्नो पहिचान खोज्नुपर्ने बेला आएको उल्लेख गरिन् । आफ्नो धरातललाई भुल्न नहुने उल्लेख गर्दै उनले सबै जातजाति, धर्म–सँस्कृति, परम्परा तथा राजनीतिक बिचारलाई सम्मानले मात्र एकता र समृद्धि सम्भव भएकोमा जोड दिइन् ।

कार्यक्रममा बोल्दै नेपाल मगर महिला संघकी केन्द्रीय अध्यक्ष हिरुसरा राना मगर, नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगर, प्राज्ञ डा बुँद राना, बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेय लगायतले मातृ भाषा सँस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।