माटो प्रयोगशाला स्थापनापछि प्रतापपुर क्षेत्रका किसान खुशी


भैरहवा– खेतीका लागि आफ्नो जमिनको माटोको अवस्थाका वारेमा जानकारी लिन जिल्ला सदरमुकाम परासी वा अन्य जिल्लामा पुग्नु पर्ने बाध्यता पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका र त्यस क्षेत्र आसपासका कृषकलाई हटेको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–९ मा माटो परीक्षण प्रयोगशाला स्थापना भएपछि यस खालको बाध्यताबाट त्यस क्षेत्रका किसान मुक्त भएका हुन् । घर आसपासमैं माटो प्रयोगशाला स्थापना भएपछि त्यस क्षेत्रका कृषक खुशी छन् ।
माटोको अवस्थाका वारेमा जानकारी भएपछि त्यही किसिमबाट खेती गर्न सकिने र माटोमा कुनै समस्या देखिएमा समाधान गर्न सकिने भएकाले कृषि उत्पादन बढ्ने विश्वास कृषकहरुको छ ।
यसअघि माटो परीक्षणको लागि सदरमुकाम परासी वा रुपन्देही पुग्नुपर्ने बाध्यतामा रहेका यस क्षेत्रका किसानलाई लक्षित गर्दै प्रतापपुर गाउँपालिकाले माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताए । प्रयोगशाला स्थापना भएपछि अब माटोको अवस्थाका आधारमा खेतीपाती गर्न सजिलो हुने भनाई उनको छ ।
‘किसानहरूमा माटो परीक्षण गर्नुपर्छ भन्ने जनचेतनाकै कमी रहेको अवस्थामा प्रयोगशाला टाढा हुँदा सेवा लिन पाउने अवस्था थिएन,’ अध्यक्ष यादवले भने, ‘माटोको परीक्षणबिना नै खेती गर्नू र परीक्षण गरेर खेती गर्नुले किसानलाई धेरै फरक पार्ने छ ।’
प्रयोगशालाले माटोमा भएको पोटास, नाइट्रोजन, फस्फोरस लगायतका ५ वटा तत्वहरुको परीक्षण गरेर किसानलाई आवश्यक सुझाव दिने छ । यो प्रयोगशाला संचालन भएपछि पश्चिम नवलपरासी जिल्लाको दक्षिणी भेगका किसानले माटो परीक्षणको लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता हटेको छ ।








प्रतिकृया दिनुहोस्