May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

‘कर्मचारीले जनताको मन जित्ने गरी काम गर्नुपर्छ’

Advertisement

भैरहवा– लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनालीले सरकारी सेवा नागरिकमैत्री तुल्याएर कर्मचारीले आफूमाथि लागिरहेको घुस्याहाको आरोप चिर्नुपर्ने बताएका छन् । निजामती सेवा दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय, रुपन्देहीको आयोजना तथा कर्मचारी मिलन केन्द्र र आधिकारिक ट्रेड युनियन, रुपन्देहीको संयोजन तथा व्यवस्थापनमा शनिवार भैरहवामा आयोजित परिसम्बाद कार्यक्रममा बोल्दै मैनालीले समाजमा कर्मचारीले राम्रो गरे भनेको नगन्यमात्रै सुनिन गरेको बताए ।

Advertisement

‘निजामती सेवाको साख गिरेको छ,’ पूर्व गृहसचिव समेत रहेका उनले भने, ‘सेवा प्राप्त गर्ने क्रममा भोग्नु परेको हैरानीले नागरिकमा सरकारी कार्यालय जानु नपरोस् भन्ने मान्यता हाबी भएको छ ।’ अहिले कर्मचारी सामु सप्रिने कि सक्किने दुईवटा विकल्प रहेको उनले बताए ।

‘यस्तै अवस्था रहे राजनीतिज्ञले कर्मचारीको विकल्प खोज्ने अवस्था आउँछ,’ उनले भने, ‘त्यसले प्रति कर्मचारीतन्त्रको सुरुवात हुन्छ ।’ राजनीतिकर्मीले आफूले गर्न नसकेको कामको दोष कर्मचारीमाथि थोपर्ने गरेको उनको भनाई थियो । कर्मचारी मेसिन भएकाले राजनीतिज्ञले सुरक्षित तरिकाले चलाउन जान्नु पर्ने उनले बताए । नैतिक शिक्षाको कमीले समाजमा भ्रष्टाचार संस्कृतिका रुपमा बिकास भएकाले नैतिक मूल्यमान्यता भएका सामाजिक पूर्वाधार तयार गर्न जोड दिए ।

नैतिक शिक्षाकै अभावले निजामती सेवामा प्रवेश गरेको नयाँ पुस्ताले पनि भ्रष्टाचार गरिरहेको उनको भनाई थियो । ‘नयाँ पुस्ता घुस्याहा हुन मिल्दैन,’ उनले भने, ‘तर, नैतिकता ह्रास भो ।’ वर्तमान कागजी सेवा प्रणालीलाई प्रविधिमा रुपान्तरण गर्नासाथ भ्रष्टाचार र अनियमितामा कमी आउने उनले बताए । ‘प्रविधियुक्त बनेपछि सेवा प्रभावकारी हुन्छ,’ उनले भने, ‘तर, हामी प्रविधि लागू हुन दिँदैनौं, जडान गर्यो कि बिगारेर राख्छौं ।’ त्यसैले प्रविधिको उच्चतम प्रयोग गरेर आफ्नो व्यवहार सुधार गर्न उनले जोड दिए ।

राजनीति अलोकप्रिय भएकाले कर्मचारीमाथि धेरै प्रश्न नउठेको उनको भनाई थियो । राजनीति लयमा आएका दिन नागरिकका सबै असन्तुष्टी कर्मचारीमाथि खनिने भएकाले सावधानी अपनाएर काम गर्न उनले अनुरोध गरे । उनले भ्रष्टाचार नियन्त्रण गर्न सकिने तर त्यसका लागि व्यवहार परिवर्तन जरुरी रहेको उल्लेख गरे ।

‘कर्मचारीले २००७ सालदेखि अहिलेसम्म ठूलाठूला अप्ठ्याराहरु सेफल्याण्डिङ गरेका छन्’, उनले भने, ‘त्यसैले अब राजीतिकरुपमा रुमलिएर होइन्, जनताको मन जित्ने गरी काम गर्नुपर्छ ।’ उनले कर्मचारीले गरेका धेरै राम्रा काम रहेको तर अधिकांश नसुध्रिदा समस्या भइरहेको सुनाए । ‘कर्मचारीले सेवाको धर्म छाड्दा सबै विग्रिन्छ’, उनले भने, ‘सेवामा कुनै गन्ध हुनुहुँदैन । न्युटल भएर नागरिक र कानूनअनुसार सहज सेवा दिनुपर्छ ।’

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निजामती क्षेत्रमा गर्वका साथ राष्ट्र सेवक कर्मचारी हुँ भन्ने वातावरण तयार नभएको बताए । आफूलाई समाजमा परिचित गराउँदा प्रतिरक्षा गरिदिने मानिस भेटिन छाडेको उनले बताए । ‘मुलुकका संरचना त परिवर्तन गरिए,’ उनले भने, ‘तर, कर्मचारीले आफ्नो भूमिका रुपान्तरण गर्न सकेनन ।’ जताततै भ्रमले स्थान बनाइरहेका बेला कर्मचारीमाथिको प्रहार रोक्न कमीकमजोरीका जवाफ खोज्नुपर्ने उनले बताए ।

गृहमन्त्रालयले तय गरेको मापदण्ड अनुसार रुपन्देही जिल्ला प्रशासन मुलुकमा पहिलो ठहरिएको उनले जनाए । ‘नागरिकले एक नम्बर मान्छ कि मान्दैन, सवाल त्यो हो,’ उनले भने, ‘नागरिकको मनमा एक नम्बर कायम हुनेगरि काम गर्न जरुरी छ ।’ आफ्नो एक वर्षे कार्यकालमा २१ वटा फरक र नमुना योग्य काम गरेको उनले दाबी गरे । सहायक प्राुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले सेवाभाव पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिए ।

आधिकारिक ट्रेड युनियनका अध्यक्ष रमेशप्रसाद पाण्डे, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष प्रेमप्रसाद खनाल, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष चक्रपाणि पाण्डे र नेपाल राष्ट्रिय कर्मचारी संगठनका रुपन्देही अध्यक्ष उत्सव न्यौपानेले कर्मचारीले नागरिक सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने जनाए । उनीहरुले टे«ड युनियनले राजनीति नभई समस्यामा परेका कर्मचारीलाई सहयोग गर्ने र निकास खोज्ने काम गरिरहेको दावी गरे । उनीहरुले निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्नेमा जोड दिए । आज ‘व्यवसायिक र सिर्जनशील प्रशासन, विकास, समृद्धि र सुशासन’ नारासहित निजामती दिवस–२०८१ मनाइएको छ ।