May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

लुम्बिनीमा कर्मचारी सरुवा गर्दा आस्थाको आधारमा भेदभाव गरिएको आरोप

Advertisement

भैरहवा– तीन दिन अघि लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयबाट गरिएको निजामती कर्मचारीको सरुवा राजनीतिक आस्थाको आधारमा भेदभावपूर्ण तरिकाबाट गरिएको आरोप नेकपा माओवादी केन्द्र समर्थित कर्मचारी संगठनले लगाएका छन् ।

Advertisement

नेकपा माओवादी केन्द्र समर्थित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, रुपन्देही र नेपाल राष्ट्रिय कर्मचारी महासंघ, रुपन्देहीले यस खालको आरोप लगाएका हुन् । ती संगठनले नेकपा एमाले र नेपाली कांग्रेस समर्थित निजामती कर्मचारीलाई मागेको ठाउँमा सरुवा गरिएको तर नेकपा माओवादी केन्द्र समर्थित कर्मचारीलाई भने आस्थाको आधारमा सरुवा गरिएको दावी छ ।

‘कर्मचारी सरुवा गरिँदा राजनीतिक आस्थाको आधारमा हाम्रो संगठनका साथीहरुलाई पेलानमा पार्ने गरि भेदभावपूर्ण व्यवहार गरिएको छ’, नेपाल राष्ट्रिय कर्मचारी महासंघ, रुपन्देहीका अध्यक्ष राजेन्द्र पौडेलले भने, ‘नेकपा एमाले समर्थित कर्मचारी एशोसिएसन र कांग्रेस समर्थित कर्मचारी युनियन आवद्ध कर्मचारीलाई रोजेको ठाउँमा गरिएको छ ।’
प्रदेश तहमा समायोजन भएका ५, ६, ७ र ८ औं तहका करिव १ सयको हाराहारीको संख्यामा प्रशासन समूहका कर्मचारीलाई लुम्बिनीको मुख्यमन्त्रीको कार्यालयबाट २१ गते राती सरुवा गरिएको थियो । सामान्यतया २ बर्षको अवधिमा कर्मचारीको सरुवा गर्ने प्राबधान छ ।

कर्मचारी एशोसिएसन र युनियनमा आवद्ध कतिपय कर्मचारीको दुई बर्ष भन्दा धेरै समय बितिसक्दा पनि सरुवा नगरिएको दावी पौडेलले गरे । उनका अनुसार, सामान्यतया विभिन्न कर्मचारी संघ–संगठनमा आवद्ध जिल्ला कार्यसमितिका पदाधिकारीलाई सरुवा गर्दा जिल्ला बाहिर नगर्ने प्रचलन छ । यसको कारण भनेको जिल्ला कार्यसमिति संचालन गर्नु पर्ने भएकाले हो । तर, अहिले नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती रुपन्देहीका सचिवलाई नै रुपन्देही जिल्ला बाहिर सरुवा गरिएको छ ।

भेदभावपूर्ण तरिकाबाट सरुवा गरिएको वारेमा रुपन्देहीका विभिन्न कर्मचारी संघ–संगठनका पदाधिकारीहरुसँग कुराकानी गरिएको र यसबारेमा तत्कालै बिज्ञप्ती जारी गरि मुख्यमन्त्री समक्ष डेलिगेशन जानेबारेमा तयारी गरिएको पौडेलले बताए । ‘हामी आन्तरिक छलफलमा जुटेका छौं’, पौडेलले भने ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती रुपन्देहीका एक पदाधिकारी तथा कर्मचारीले यसबारेमा मुख्यमन्त्रीका नीजि सचिव प्रेम गौतमलाई पनि जानकारी गराइएको बताए । यो कर्मचारी सरुवा प्रक्रियामा एमाले समर्थित कर्मचारी भित्रै पनि गुटको आधारमा भेदभाव भएको दावी उनले गरे ।

उनका अनुसार एमाले उपाध्यक्ष एवं अर्थमन्त्री बिष्णु पौडेल र महासचिव शंकर पोखरेल गुटको असर एमाले समर्थित कर्मचारीमैं परेको हो । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, रुपन्देहीका अध्यक्ष उत्सव न्यौपानेले यसबारेमा आन्तरिक छलफल भैरहेको र अव कसरी जाने ? भन्ने वारेमा साँझसम्म टुंगो लाग्ने बताए ।