नगर प्रहरीले जब सडकमा व्यापार गर्नेको कपडा च्याते…


बुटवल– फुटपाथ व्यवस्थापन गरेर बटुवालाई सहज तुल्याउनु उपमहानगरको जिम्मेवारी हो । खुला फुटपाथमा हरियाली र फूल हुर्काएर सहरै उज्यालो र रमणीय तुल्याउन सकिन्छ । त्यसका लागि फुटपाथका अवरोध हटाउनु जायज हो । तर, सडक खाली गर्ने नाउमा सर्वसाधरणमाथि दुव्र्यवहार हुनु दुखद् हो । तीन दिन अघि रुपन्देहीको एकमात्र उपमहानगर बुटवलमा भएको एउटा घटनाले मुलुकभरि चर्चा कमाएको छ । त्यो पनि नकारात्मक चर्चा ।
नगर प्रहरीले बुटवलमा सडक व्यापार गर्ने महिलाको कपडा च्यातेको तस्बीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । उक्त तस्बीर हेर्ने जो कोहीले उपमहानगरका प्रहरीको आलोचना गरेका छन् । बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेय जनसाधरणमाझ भिजेका र उनीहरुबाट अत्याधिक मत प्राप्त गरेका चुनिएका प्रमुख हुन् । त्यसैले ‘जनताका प्रतिनिधि’बाट रोजीरोटीको व्यवस्थापन होस् भन्ने सबैको चाहना हुन्छ । तर, बुटवलमा सडक व्यवस्थापनका नाममा एकैपटक भइरहेको हस्तक्षेपको भने धेरै बिरोध गरेका छन् ।
सडक सुन्दर, सफा र खाली हुनुपर्छ भन्ने भन्नेले समेत अहिले नगर प्रहरीको व्यवहारप्रति दुःख व्यक्त गरिरहेका छन् । आइतबार सडक व्यापारी न्याय माग्दैं नगरप्रमुख समक्ष पुगेका थिए । त्यसरी नगर प्रमुख भेट्न पुगेका एक व्यक्तिले पब्लिक कुरासित भने, ‘मेयर सावले कपडा च्यातिएको छ, नयाँ खरिद गर्न ५–५ हजार रुपैयाँ लैजानुस्, तर सडकमा नबस्नुस् भन्नुभयो ।’ उक्त छलफलमा सडक ब्यापारीलाई बैकल्पिक स्थानको खोजी गरेर व्यवस्थापन गर्नेबारे बहस भएन ।
अब लागौं, तीन दिन अगाडिको घटनातर्फ । नगर प्रहरीको ज्यादतीमा पर्ने महिला हुन बुटवल –९, कि टीका श्रीसमगर । गत शनिवार उनी स्थानीय अस्पताल लाइन अगाडि डोकोमा फलफूल बिक्री गरिरहेकी थिइन् । त्यहीबेला फुटपाथ खाली गराउँदैं आएका बुटवल उपमहानगरबाट खटिएका नगर प्रहरीको टोली आइपुग्यो । त्यो देखेर टीका दौडिन थालिन् । प्रहरीको टोलीले उनलाई त्यहाँबाट झण्डै दुई सय मिटर टाढा नेपालगंज रोडसम्म लखेटेर नियन्त्रणमा लियो ।
नगर प्रहरीले डोको तान्न सुरु गरे । टीका बचाउन लागिन । ६ जनाभन्दा बढी प्रहरीले एकहोरो डोको तान्दा घांटीमा नाम्लो अडकिएको स्थानीय भेटेनरीमा मल किन्न पुगेका प्रत्यक्षदर्शी योगेन्द्र गौतमले बताए । उनले नगर प्रहरीसित बल प्रयोग नगर्न आग्रह गरे । प्रहरीलाई केही पर धकेलिदिएर टीकाको घांटीबाट नाम्लो फुत्काइदिए । गौतमले नगर प्रहरीलाई किन यसरी ज्यादती गरेको भनेर प्रश्न गर्दा उल्टै तं को होस् भन्ने जवाफ पाए ।
नागरिकको हिसाबले टीकामाथिको ज्यादती भएको हेर्न नसकेर आफूले बचाएको उनले बताए । ‘एकजनाले पछाडीबाट आएर ती दिदीको लुगा पनि च्यातिदिए,’ योगेन्द्रले भने, महिलालाई हेपेको प्रत्यक्ष दृश्य देखें, व्यवस्थापनको नाममा नागरिकमाथि भएको यस्तो अपराध असह्य छ ।’ गौतमले उपमहानगरपालिकाले सडक ब्यापारीका लागि स्थान व्यवस्थापन नगरिकन प्रत्येक दिन लखेट्ने, सामान फ्याँकिदिने गरेको गुनासो सुन्ने गरेकोमा शनिवार आफैले देखेको बताए ।
कोरोना महामारीमा लकडाउन भएदेखि टीकाले बुटवलमा सिजनअनुसारका फलफूल डोकोमा राखेर बेच्ने काम गरिरहेकी छन् । श्रीमानसुस्त मनस्थितीका छन । श्रीमानको रेखदेख र २ सन्तान पढाउन गुल्मीबाट बुटवल झरेको टीकाले बताइन । सडक ब्यापार गरेरै गुजारा गरिरहेको उनले बताइन् । ‘हामी दिनदिनै डोकोमा बोकेर हिंड्छौं, दिनदिनै लखेट्छन्,’ उनले भनिन्, ‘प्रहरीको जागिर हो भनेर सम्मान गरेर पाखा लाग्थ्यौं, अहिले त अति नै गरे ।’
अहिलेसम्म प्रहरीले ७ वटा छाता, १० पटक भन्दा बढी आफ्नो डोको र फलफूल लगेको उनले बताइन् । शनिवार अस्पताल लाईनमा डुल्दै गर्दा प्रहरी आएको थाहा पाएर दौडेको तर लखेटेरै नियन्त्रणमा लिएको उनले सुनाइन । दैनिक ३ हजार रुपैयाँ लगानीमा फलफुल खरिद गरेर विक्रि गर्दै हिंड्ने उनलाई प्रहरीले आफुमाथि गरेको ज्यादतीले ठुलो पिंडा दिएको बताइन् ।
उपमहानगरका प्रवक्ता शिव रानाले व्यस्ता स्थानमा सडक व्यापार गरिनुले दुर्घटना निम्त्याउने गरेको बताए । स्वास्थ्य हब रहेको बुटवलको अस्पताल लाईन क्षेत्रमा सडक व्यापारीका कारण बटुवालाई हिंड्न, अन्य काम परेर हिंड्ने साधन, मानिसलाई समस्या परेको गुनासो धेरैपटक उपमहानगरमा आइसकेकाले पनि व्यवस्थापन गर्नुपर्छ भनेर कार्य गरिएको उनले बताए ।








प्रतिकृया दिनुहोस्