June 17, 2026, Wednesday
२०८३ असार ३ बुधबार

प्रकृति देवो भवः

Advertisement

रजत वर्ष पहिले
अतृप्त मन लिएर
सुस्ताउँदै सुस्ताउँदै फर्केका
जोनले भनेका थिए
हिमालले हातेमालो गरेको देशमा
चराचुरूङ्गीहरू गाउँछन्
छहरा पहराले सङ्गीत भर्छन्
बोटबिरूवाहरूले नृत्य गर्छन्

Advertisement

प्राकृतिक छटाले भरिपूर्ण देश
साँच्चै भूस्वर्ग रहेछ
प्राकृतिक सुन्दरताले
अन्तर्मनको दिल छोएको छ
अतृप्त प्यास लिएर जानु पर्दा
मन भारी भएर रोएको छ

आउँछु, फेरि आउँछु
यहाँको अनुपम सुन्दरतालाई
पेटभरि पिउँछु

जोन फेरि आउँदा
समय जवानी भएछ
जोनको बुढ्यौलीले भ-याङ चढेछ
उसले टल्केको हिमाल देखेन
झरनाको सङ्गीत बुझेन
चराचुरूङ्गीको गीत सुनेन
ताल तलाउमा माछा, सर्प, भ्यागुताको
रोदी जमेको देखेन
पाहुना आँउदा
को हो ? को हो ? भन्ने
कोइलीको आवाज सुनेन

उसले गुनासो ग-यो‑
चारकोशे झाडी फँडानी गरेछन्
जङ्गली जनावरले बसाईँ सरेछन्
डाँफे,मयुरको नाच देख्नै रहर भएछ
न्याउलीले आफ्नै विरहको गीत गाउन थालेछ
पहाडमा लालीगुराँस फुल्न छाडेछन्
चिसो पानीका कुवा, धारा सुक्न थालेछन्
मानिसले स्वार्थीपन बढाए छन्
प्रकृतिक सुन्दरतालाई
आफ्नै स्वार्थमा चढाएछन्
प्रकृति देवो भवःलाई
शब्दकोशबाटै हटाए छन् ।-sahityapost